'मामु, खाजा राखिदिनु भयो? छिटो गर्नुस् न, ढिला भइसक्यो,' परिवेशले आफ्नो स्कुलको झोलामा कापी-किताब मिलाउँदै भन्यो।
'खाजाको कुरा नगर, खाजा त जे खाए पनि हुन्छ, कहिलेकाहीँ नखाए पनि हुन्छ। तर यी, यो चाहिँ छुटाउनु हुन्न। नाक-मुख राम्ररी छोपिने गरी लगाउनुपर्छ,' गायत्रीले परिवेशलाई एउटा सेतो मास्क लगाइदिँदै भनिन्।
'ऐया! दुख्यो के, घरैदेखि त लगाउन नपर्ला नि। कानै तनिसक्यो। यी हुर्नुस् त मेरो कान,' उसले आमालाई देखाउँदै भन्यो।
'केही हुँदैन बाबु, अलिअलि दुखे पनि लगाउनु पर्छ। खेलाँची हो र! सबैले लगाउँछन्,' गायत्रीले कान सुम्सुम्याउँदै भनिन्, 'लु यो झोलामा राख, कतै त्यो चुँडियो, हरायो भने काम लाग्छ। जतनले लगाऊ अनि सफा राख। एकदिनमै दुई/तीन वटा सकेर आउँछौ। मैलो, हेर्न नहुने पार्छौ।' गायत्रीले सम्झाइन्।
'बरु कालो ल्याइदिनुस्, मैलो पनि देखिँदैन,' उसले भन्यो।
'भयो भयो, धेरै कुरा नगर। यी, यो सेनिटाइजर पनि राख, सेन्ट लगाएजस्तो छर्केर हिँड्ने होइन। कति सम्झाउनु, सात दिनमा आठ वटा हराइसक्यौ। यसरी पनि साध्ये लाग्छ त? सबैकुराको जतन गर्न सिक्नुपर्छ। ऊ स्कुलको बस आयो हिँड,' उनले परिवेशलाई अघि लगाउँदै भनिन्।
गायत्रीले छोरालाई बस चढाएर हात हल्लाइन्। उनलाई छोरो स्कुल पठाउँदा पनि आफ्नो सिपाही छोरालाई रणभूमिमा पठाएजस्तो लाग्छ हरेक दिन। जीवनमा सोचेका कुरा कहिल्यै पूरा भएनन्। पूरा भएका नसोचेका कुरा उनको हृदयबाट कहिल्यै गएनन्। सायद जाँदैनन् पनि। सहज जीवनका लागि र सन्तानको सुखद् भविष्यको लागि उनले गरेको संघर्षको कथा सुन्नेलाई समेत आङ जिरिङ्ग पार्छ।
गाउँदेखि सहरसम्मको सपनाको खोजीको यात्रा, सङ्घर्ष ती सबै कुरा त ठिकै थिए। सुखमय जीवनको लागि आफ्नो वर्तमानको खुसी समेत पोको पारेर सानो आँखीझ्यालबाट संसार चियाउँदै एक्लै काखको छोरा स्याहारेर श्रीमानलाई जापान पठाइन्। झण्डै १० वर्ष उनका श्रीमान् उतै बसे। चाहना भनौं कि बाध्यता, यतिका वर्ष उनीहरूको इन्टरनेटबाट मात्र देखादेख र बोलाचाल भयो। भेट कहिल्यै भएन, आकाशको घाम-जूनजस्तै वारिपारि।
तर उनलाई आशा र खुसी थियो, अब काठमाडौंमा एउटा घर बनाउँला। छोरालाई राम्रो स्कुलमा पढाउँला र दुवैजना यतै केही गरेर बसौँला। सहयात्राको दोभान नजिकिँदै थियो, कोभिडको महामारीले सबैतिर नराम्ररी प्रभाव पार्यो। अलि कमजस्तो देखिएपछि उनका श्रीमान् नेपाल फर्किए।
केही समय ठिकै चल्दै थियो। काखको बालक परिवेश कक्षा ५ मा पढ्ने भइसकेको थियो। नयाँ आशाको उदय हुने क्रममा थियो। अब विदेश नजाने र यतै आफ्नो केही व्यवसाय गरेर सबै सँगै बस्ने योजना गर्दागर्दै उनका श्रीमानलाई कोरोनाले छोयो। हारगुहार गर्ने मौकासमेत नपाउँदै एक हप्ताभित्र उनले संसार छोडे। अन्तिम संस्कारको लागि श्रीमानको लाससमेत गायत्रीले पाइनन्। निशब्द आँखा लिएर अस्पतालबाट फर्किन बाध्य भइन् उनी।
गायत्रीले छोरालाई हल्लाएको हात अझै तल झरेको थिएन। झस्किँदै चिसा भएका आँखा पुछिन्। वेदना देखाएर के नै हुने हो र आखिर! उनी घरभित्र छिरिन्।
विद्यालयमा शिक्षक-विद्यार्थी सबैले मास्क अनिवार्य लगाउनुपर्यो। लामो समय विद्यालय बन्द भएर खुलेकाले अनि सबैको अनुहार मास्कले छोपिएकाले विद्यार्थी चिनिहाल्न गाह्रो थियो। बच्चाहरू न हुन्, बोलिरहने, चकचक गर्ने, खेल्ने, दौडिन खोज्ने गर्दा सहजै अनुमान गर्न सकिन्थ्यो कि मास्क उनीहरूका लागि सकस बन्दै छ। कक्षाकोठा, खेल मैदान, शौचालय यताउता मास्क छरिएका हुन्थे।
कसैको तन्किएर ठूलो भएको, कसैको मैलो, कसैको थुकले भिजेको, कसैको भुवा निस्किएको, कसैले कसिलो बनाएर दुई वटा लगाएका, कसैको एकातिर चुँडिएको, कसैले गाँठो पारेर लगाएको, कसैले छिनछिनमै घरी चिउँडोमा घरी टाउको माथि, अड्काएर हिँड्ने गरेको देखिन्थ्यो। कोही मुखबाट झिकेर डल्लो पारी गोजीमा राख्थे। कतिपय विद्यार्थीहरू त एकअर्कामा साटासाट गरी लगाउने समेत गर्दथे।
लाग्थ्यो, सबैजना मास्कसँग मौन सङ्घर्ष गरिरहेका थिए। विद्यालयका प्रधानाध्यापकले विद्यालयभरि सुनिने माइकमा विद्यार्थीहरूलाई मास्क लगाउन बारम्बार भनिरहन्थे। कक्षामा शिक्षकले गएपिच्छे सबैले मास्क राम्ररी लगाउनुपर्छ भनेर मास्क लगाएर भन्थे। विद्यार्थीहरू एकै स्वर केही बुझिएन सर भनेर हाँस्थे। शिक्षक मास्क खोलेर बोल्थे। एक प्रकारको सकस थियो सबैमा।
परिवेशलाई बोलिरहनु पर्ने, छेउमा बस्ने साथीसँग गफ गरिरहने, साथीले सुनेन भने मास्क चिउँडोमा सारेर भए पनि बोल्थ्यो ऊ। त्यसैले शिक्षकको गाली पनि खाइरहन्थ्यो। गाली सुनेपछि गोरो अनुहार रातो पारेर मास्क मिलाएझैँ गर्थ्यो।
'सर, तपाईंले जस्तै बोल्ने बेलामा म पनि मास्क खोलेर बोलूँ?,' ऊ सोध्थ्यो बेलाबेलामा।
'मैले बोलेको सबैले सुन्नुपर्छ त्यसैले खोलेको, तिमीले खोल्नुहुन्न।'
ऊ चुप लाग्थ्यो। परिवेशको कुनै पनि विषयमा ध्यान गएन। मास्कमा मात्रै हात लाने, कहिले चिउँडोमा सार्ने, कहिले आँखामा सार्ने, शिक्षकले नदेख्दा बेन्चमा राख्ने उसको दैनिकी नै बन्यो। मास्कको डोरीले प्रायः उसको नाक र कान रातो भइरहन्थ्यो। यी सबै घटनाहरू भइरहे पनि कसैले मास्कको हानीबारे बोलेनन्। परिवेश भित्रको सकस बुझ्न खोजेनन्। धेरैलाई यस्तो समस्या देखिन्थ्यो तर सबैजना मास्क लगाएझैँ गरिरहन्थे।
खेल समय, खाजा समय आदि अवस्थामा खोल्न पाइने हुँदा त्यो समय सबै रमाउँथे। तर खेलेर आएपछि धेरैको मास्क हुँदैन थ्यो। कोही अर्को लगाउँथे, कोहीलाई विद्यालयले नै दिन्थ्यो। लगभग एक महिना बित्दासम्म प्रायः सबैलाई मास्कदेखि दिक्क लागिसकेको स्पष्ट बुझिन्थ्यो।
परिवेशको साथी विशेषको आवाज सानो थियो। शिक्षकले सोधेको उसले जवाफ दिँदा कसैले सुन्दैनथे। केही सुनिएन भन्दै सबै कराउँथे फेरि। शिक्षक रिसाएर ठूलो स्वरमा भन भन्दा परिवेशले एकपटक उसको आवाज सानो छ, बरु म भनूँ भन्दै मास्क खोल्यो, र 'यो मास्क कहिलेसम्म लगाउनु पर्छ हामीले सर?' भन्दै उल्टो प्रतिप्रश्न गर्यो।
कक्षामा यस्तो समस्या दिनहुँजस्तै भइरह्यो। मास्कमात्र हैन, सेनिटाइजर हातमा घसिरहने, साथीलाई छर्किने, भुइँमा पोख्ने आदि गतिविधिले विद्यार्थीहरू यसमै अलमलिरहे। परिवेश मास्कको झन्झटबाट बढी नै आजित थियो। विद्यालयबाट घर फर्किँदा बसबाट ओर्लेपछि ऊ बाटैमा मास्क फालेर रिसाउँदै घर पुग्थ्यो, कान रातो-रातो पारेर। यस्तो लाग्थ्यो कि मानौँ ऊ युद्ध मैदानमा आज पराजित भएको छ। उसकी आमा सम्झाउँथिन्।
मास्कै कारण ऊ स्कुलजानै नमान्ने भयो। गायत्रीले फकाइफुल्याई पठाउँथिन्। झण्डै दुई वर्षदेखि बिग्रिएको पढाइ राम्रो होस् भन्ने उनी चाहन्थिन्।
'यसरी मास्क लगाउँदैमा कोरोना जान्छ र? बाबा पनि त सधैँ मास्क लगाउनु हुन्थ्यो नि हैन र मामु? यी हेर्नुस् त मेरो कानमा घाउ हुन लागिसक्यो,' ऊ रिसाउँदै र रुन्चे अनुहार लगाउँदै आमाको छेउमा जान्थ्यो।
उनी मात्र सुम्सुम्याउँथिन्, किनकि यसको जवाफ थिएन उनीसँग मौनताबाहेक। एकदिन मास्ककै कारण ऊ स्कुल जान मानेन। गायत्रीले सम्झाइन् र घरैमा राखिन्। विद्यालयमा पनि मास्क लगाउने झन्झटले ऊ खेल मैदान गयो भने कक्षामा ढिलो फार्किन्थ्यो, खाना खाँदा धेरैबेर लगाउँथ्यो, शौचालयबाट पनि धेरै बेरपछि फर्किन थाल्यो। कक्षामा आउँदा ऊ रिसाएको जस्तो देखिन्थ्यो। स्कुल खुलेको खुसीमा रमाएर उडेको चराजस्तै भएको परिवेश नाक, मुख थुनेर बस्नुपर्दा हैरान थियो।
उता विशेषलाई उसका अभिभावकले जहिल्यै दुई वटा मास्क लगाएर पठाउँथे। विशेष त्यसबारे खासै प्रतिक्रिया पनि दिँदैनथ्यो। परिवेश उसलाई हेरिरहन्थ्यो र छाम्दै सोध्थ्यो, 'दुई वटा मास्क लगाउँदा तिमीलाई दुख्दैन? तिमी त घरमा पनि लाएरै बस्छौ होला है? अनि कसले भनेर लगाएको? दिनदिनैयाँ लगाउँछौ कि यही मात्र हो?' यस्तै यस्तै।
'मेरो साटो पनि तिमीले लगाउँदा हुने भए तिम्रो लागि म नै मास्क ल्याइदिन्थेँ,' ऊ थप्थ्यो तर विशेष केही बोल्दैनथ्यो।
एकदिन चित्रकला पढाउने सरले कक्षामा आएपछि आफ्नो मनमा आइरहने कुनै एक विषय झल्किने चित्र कोर्न लगाउनु भयो। सबैले आफ्नो सामान ठिक पारेर आफ्नो इच्छा अनुसारका चित्र कोर्न थाले। परिवेशलाई पटक्कै जाँगर चलेन। ऊ यताउति अरूलाई हेर्न थाल्यो, सबै मास्कले नाकमुख थुनेर चित्र कोर्न तल्लीन थिए।
मास्कले अनुहार छोपिएको अप्ठयारोले कोही ख्वाक्क खोक्दै थिए, कोही सिँऽऽ सिँऽऽ गर्दै सिँगान तान्दै थिए, कसैले मास्कभित्र स्वाँ-स्वाँ गरी सास तानेको प्रष्ट सुनिन्थ्यो। कतै नबुझिने आवाज आउँदै थियो।
परिवेशलाई देखेर शिक्षकले 'तिमी के गर्दै छौ? साथीलेजस्तो चित्र बनाऊ न छिटो, पहिले मास्क राम्ररी लगाऊ' भन्दै कराउनुभयो।
त्यसपछि ऊ थोरै सावधान हुँदै चित्र कोर्न थाल्यो। हुन त उसलाई चित्र कोर्न खुब जाँगर लाग्थ्यो। आज अल्छी मानेको देखेर शिक्षक अनौठो मान्दै थिए। कक्षाका सबैले आफ्नो रुचि अनुसारका चित्र बनाएर पालैपालो देखाए, शिक्षकले पनि सबैलाई स्याबासी दिँदै गए।
परिवेश चुप बसिरहेको थियो। शिक्षकले 'खै तिम्रो चित्र हेरुँ त' भनेपछि बल्ल उसले अँध्यारो अनुहार लगाउँदै चित्र दियो।
चित्र हेर्दाहेदै शिक्षकको मुहार एक्कासी गम्भीर, निराश अनि मायाको भावनाले भरिएर आयो। चित्रमा परिवेश आफू मास्क लगाएर कोठामा बसी आँसु झारिरहेको र उसको बाबाले भित्तोको ठूलो फोटोबाट अलिअलि हाँसेर हेरिरहेको बनाएको थियो। अनि चित्रको मुनि लेखिएको थियो, 'बाबा, म मास्क लगाउदिनँ।'