पहिलो उर्जाशील किरण
आशाको न्यानो घाम
रंगिन सपनाका थुङ्गाजस्तै
यस्तै त थियो जीवनको लय
समय उडान भर्दै थियो
हरेक पल
कहिले पनि रोकेन
न हिउँमा, न वर्षामा
कहिले हिलो
कहिले पानी
कहीँ उकालो
ओरालो अनि भिरपाखा
कति चट्टानमा ठोकिए
कति नाचिए
कति त जोड-जोडले चिच्याए
एउटा समयकर्म न हो
घर छोडिए
देश छोडिए
आफ्नाका साथ छुटिए
हिँडिरहेको बाटो पछ्याउँदै
फूलहरु छन्
काँडा नि छन्
यी सबमा तिमीले
उसले अनि
उनीहरुले दिएका
सबथोक छन्
र नि,
त्यहाँ पूर्णताको कमी थियो
म सोच्छु अनि
कुन साथ कहाँ हराएछ?
सपना फुल्दै जान्छ
मिठो सुवास छर्दै
साथीहरु थपिँदै त
कोही कता, कोही कता
अनि म सोच्छु
खै त त्यो जुगसम्मको मित्रता?
जब आउँछ समय
केही छुटेका साथ
भुलेका आँखा
सँगै हिँडेका पाइला
फेरि समेट्नलाई
अनि सोच्छु
कस्तो जीवन रैछ बाई!
जहाँ कति थोकको भण्डार छ
संगालोझैँ अनेक छन्
कुराहरु, पाटाहरु
रुपहरु रङहरु
लाग्छ,
लेखेर सकिन्न
सिकेर भ्याइन्न
पढेर सकिन्न
जीवनका पानाहरु
हरेक धर्तीका हरेक रङ
विकासका उचाइहरु
परिवर्तनका रुपहरु
दिनले रात अनि
जूनको झिलमिलजस्तै
एकनास चलिरहन्छ युग
अनि म सोच्छु
कस्तोविधि अनुराग
जीवन जगत अनि समयको!
सौन्दर्य भावको सङ्गीत
हृदयको अनुग्रह
सृजनाको सुन्दर फूल
यी सबबाट अभ्यस्त बनेका
एक जोर आँखा
साँच्चै!
एउटा नयाँ यात्रामा छ
सोच्छु
पहिलो पाइला
पहिलो हेराइ
कुन पंखबाट सुरु गरूँ?