आज एक्कासी फेसबुकमा मेरो साथी 'माया'को फोटो आयो। ऊ अमेरिका गएकी दुई वर्ष भैसकेको थियो। तैपनि गएदेखि या भनुँ उसको विवाहदेखि बोलचाल बन्द गरेकी थिएँ। खै किन हो थाहा छैन, विदेशको भ्याइनभ्याईले हो या जिन्दगीमा सिन्दुरको धर्कोले। मेरो स्वभाव पनि अरुलाई कोट्याइरहने थिएन। दुई/चार चोटि 'हेल्लो/हाई' भन्दै मेसेज गरेँ, अनि छोडिदिएँ बोलाउन।
विदेशमा धेरै गाह्रो हुन्छ भन्ने सुनेको छु, त्सैले पनि मसँग बोल्ने फुर्सद उसलाई भएन होला। मैले देखेको छु कति साथीहरु जो विदेश जानेबित्तिकै फोटो हाल्न थालिहाल्छन् तर मायाको तस्बिर बल्ल आज ६ महिनापछि देखेँ। उसको मुहार मलिन देखिन्थ्यो फोटोले। त्यसकारण पनि ध्यान तानिरहेको थियो।
अलि डाहा गर्ने स्वभाव भएकाले कहिलेकाहीँ म प्रथम हुँदा उसको अनुहारमा त्यो डाहा प्रस्ट हुन्थ्यो। हुन त मनको कुरा अनुहारमा नदेखाउने कलाकार मात्र होलान्। तर माया बिल्कुल यसमा काबिल थिइन्। उसको अनुहारमा जे झाल्किरहेको थियो, के त्यो पनि यथार्थ थियो? डर लागिरहेको थियो। खासमा मायासँग मेसेन्जरमा कुरा भएको करिब दुई वर्ष अगाडि होला। त्यसैले खासै उसको जिन्दगीमा के भइरहेको छ थाहा थिएन।
माया साँच्चीकै कलेजपछि परिवर्तन भएको पाएँ। एकदिन अचानक ग्रुप-च्याटमा मेसेज आएको थियो, 'मेरो यो हप्ताको शुक्रबार बिहे छ, आओ है।'
हामी सबै चकित थियौँ। बिहेअघि मंगलबार भेटौँ भन्ने प्रस्ताव सार्यौं। 'हुन्छ एकछिन आउँछु मिलाएर' भनी। एक्कासी! १८ वर्षको उमेरमा बिहे? धेरै प्रश्न मनमा थियो। तर प्रमुख कारण उसको बुबाको कडा स्वभाव हो जस्तो लाग्यो। वा ऊभन्दा एक वर्ष कान्छी बहिनीको ठूलो खानदानमा बिहे भएकाले देखासेखी गरेको जस्तो पनि लाग्यो। कारण जेसुकै होस् मनलाई उपयुक्त जवाफ मिलिरहेको थिएन। धेरै गर्न सक्ने खुबी र साहस थियो मायासँग। मलाई एक्कासी ठूलो भएको महसुस भयो। मायापछि अब मेरो पनि क्रम सुरुभएको जस्तो महसुस भयो।
मंगलबारको दिन आयो। 'कसरी भेट भयो तिमीहरुको' देखि 'जीवनका' यावत कुरा भयो। मलाई फरक महसुस भयो, आफू कति ठूलो भएको जस्तो महसुस भयो। अर्को परिवारको जिम्मेवारी निर्वाह गर्न सक्ने उमेर पुगेको जस्तो। आफ्नो जिन्दगी, आफ्नै हकमा, आफ्नै शैलीमा जीवन निर्वाह गर्ने पढ्ने, धेरै सपना थियो। श्रीमानको थर र नाम राख्नुभन्दा अगाडि पहिला आफ्नो नाम राख्न मन थियो तर सायद अब हाम्रो पनि रोल आउन थाले। कता-कता खुसी, कता-कता उमंग र कता-कता आफ्ना सपनाहरु विस्तारै छोड्दै जानुपर्ने बाध्यताको भान भयो।
हामीले 'भेट कसरी भयो तेरो हुनेवाला श्रीमानसँग' भन्ने कुरा बारे आफ्नो कौतुहूलता व्यक्त गर्यौं। जवाफमा उसले भनी कि उसले अमेरिका जानको लागी 'स्याट' परीक्षा दिएकी थिई अरे। तर बुवाले तेत्रो पैसा हाल्न सक्दिनँ छोरीलाई, छोरा भए पो एउटा कुरा। बरु बिहे गरेर जा, त्यसैले पैसा हाल्छ भन्नुभएछ। बुवाको कुरा सुनेर त झन् विदेश जान मन लागेछ। कमसेकम आफ्नो स्वतन्त्रता त पाइन्छ जस्तो लागेछ।
कन्सल्ट्यान्सीमा फोन नम्बर छोडिछे। कोही विदेश जान इच्छुक केटा छ, आदि पैसा हाल्ने भने नक्कली विवाह गरेर जाने भए मलाई सम्पर्क गर्नु है भनेर फोन नम्बर छोडेर गैछे। एकदिन फोन आएछ एउटा केटासँग भेट्नुस पैसा हाल्छ अरे भनेर। उसले केटा हेर्दाखेरी नै राम्रो लागेछ अनि नक्कली हैन सक्कली नै बिहे गर्न लागेको रहिछे।
वाह! कसैकसैको प्रेमकाहानी कति मिठो हुन्छ है। छोराछोरीलाई सुनाउन पनि कति रमाइलो काहानी छ, गज्जब्। धेरै नर्ससँग नक्कली विवाह गरेर अष्ट्रेलिया गएको मैले पनि देखेको थिएँ। तर मायाको साँच्चीकै बिहे जुरेको रहेछ। यसरी गफ गरिरहेको बेलामा बाराम्बार फोन आएको आई थियो। को हो, भनेर सोध्दा, 'त्यही अस्ती बिहे गरेको बहिनी हो। बुवाले फोन गरेको गरै हुनुहुन्छ अरे, बिहेको दिन आइसक्यो लगन जुरेको केटी घर बहिर जान हुँदैन भनेर। म अब गएँ ल। मार्छन् फेरि मलाई। तिमीहरु अलि पछि निस्क बरु, म जान्छु है।'
यति भनेर ऊ निस्की। बिहे गर्नु अगाडि नै अबको स्वतन्त्रतमा कत्तिको हत्कडी लाग्नेवाला छ, त्यसको झल्को देखियो। जुन कुरा कापीका पाना भरेर, महिला अधिकार यताउता सबकुरा लेखेको झल्झली याद आएर हाँस उठ्यो। दुई वटा कापीको पानामा लेख्न र सुन्नलाई मात्र मिठो हुने रहेछ तर त्यसको वास्तविकतासँग धेरै टाढासम्म पनि नाता रहेनछ।
एक महिलालाई आफ्नो घर छाडेर अर्काको घरको परिबन्धमा बसेर उसकै हेरफेरमा जीवन बिताउने जस्ता कुराहरु हिन्दी सिरियलमा मात्र देखेको थिएँ तर यो त मायाको जीवनमा, मेरो जीवनमा हुने नै रहेछ। बाटोभरि सोच्दै आएँ अनेकन कुराहरू।
शुक्रबार विवाहको दिन रमाइलो भयो। मायाको विवाहको बेलामा विदेशी संस्कृतिको अनुयायी भएर गालामा च्वाप्पै म्वाइँ खाएको कुरा मलाई पचेन। मैले यसको बारेमा घोर आपत्ती जनाएको थिएँ। सायद ममा पनि संकुचित मूल्यमान्यतले जरो कतै गाडेको थियो या यो हर्कत अस्वाभाविक नै थियो। यसको लेखाजोखा कि मायाले नै गरोस् या पाठकले, मेरो सोचाइमा मैले नै टिप्पणी दिनु जायज छैन अब।
तर मैले उसलाई मेसेजमा लेखिहालेँ, 'हेर त्यो जति नै मिल्ने साथी होस्, आधुनिक होस् तर अझै पनि कतिपय कुरा अलि सुहाउँदैन समाजमा। तेरो बुढाले देखेको भए के हुन्थ्यो।'
उसले फोन गरी, 'अम्, देख्नुभयो अनि गाडीबाट झर्ने बित्तिकै, को हो? त्यो के गरेको त्यसले भन्दै गाली गर्नुभयो। रातभर यही विषयमा विवाद भयो। अहिले मेसेज लेखिहालिस्, अब सेलाएको रिस फेरि आज जाग्ने भयो। म अहिले बाहिर छु तर मैले हेर्नुअघि नै मेसेज 'सिन' भनेर देखाइरहेको छ। पासवर्ड पनि उहाँसँग छ। अबदेखि मेसेज नगर् ल मलाई फेसबुकमा। बरु भेद्टा गफ गरौँला है' भनेर राखी।
मलाई त त्यसपछि गफ गर्नै मन लागेन। मेरो यो उद्देश्य थिएन कि उसलाई विवाहको दोश्रो दिन पनि झगडामा बितोस्। आखिर बुढाबुढी किन पासवर्ड साट्छन्? आखिर यो कामले विश्वास दर्साउँछ कि अविश्वास? मलाई आफ्नो निजी जीवनमाथि नै प्रश्नचिन्ह लाग्ने संकेत पाएजस्तो लाग्यो। जति म मायालाई चिन्थेँ, ऊ यस्तो कामको घोर विरोधी थिई तर सायद कलेज, उमेर र विवाहले उसलाई परिवर्तन गरायो होला।
यसपछि मलाई फसबुकमा ऊसँग कुरा गर्नै मन लागेन किनकि त्यो नचिनेको मान्छेले मेसेज हेर्दो रैछ। त्यसमाथि साथीसँग जसरी खुलेर केही कुरा व्यक्त गर्न नपाइने, अनि त म आफ्नो बाटो लागेँ।
अचानक मलाई मेरो स्कुलको साथीले अडिओ कल गरी। बोल्न खोज्दै गर्दा एकछिन आवाज नै रोकियो। 'कसरी भन्ने मात्र सवाल आइरहेको छ', ऊ आत्तिएको आवाजमा बोल्दै गई।
'मायाले हेर न हामीलाई केही भनिन, के भैरहेको छ जिन्दगीमा। कसरी भन्ने मात्र सवाल आइरहेको छ। मायाले त आत्महत्या गरिछे यार। एक वर्षदेखि मानसिक समस्याले ग्रस्त भएर डिप्रेशनको औषधि खाएकी रहेछ। उसले कन्फेसन अफ अमेरिकन स्टुडेन्ट्समा सबै कुरा लेखेकी रहेछ। खासमा उसको विवाह आमा बुवाले जबरजस्ती गर्दिनु भएको रहेछ।
घरबाट भाग्न खोजेको कारण आफ्नै बुवाले जबरजस्ती गर्ने भएर रहेछ। अनि श्रीमानसँग पनि राम्रो सम्बन्ध रहेनछ। वास्तवमा त्यो केटा लागुपदार्थ खाने एकदम बिग्रेको कारणले गर्दा उसको बुवाआमाले जति खर्च लागे पनि बरु अमेरिकातिर भास्सियोस् अनि बिहे गरेर सुध्रिन्छ कि भनेर बिहे गरिदिएको रहेछ। केटाको परिवारको भट्टीपसल रहेछ र बाँकी पैसा सब ऋण रहेछ।
मायाले यही पैसा तिर्न निन्द्रा नलाग्ने औषधि खाँदै काम गर्दै गरिछे। यसरी मानसिक तनाव र कामको चपेटाले उसलाई डिप्रेशनको लक्षण देखा परेछ। तर विदेशमा उपचार महंगो हुन्छ भनेर उपचार गरिनछे। त्यो तस्बिर हेर्दै बुझ्नु पर्ने थियो हामीले यार।
कहिले भिडिओ कल गर्न ढिलो भयो भने, काले कि गोरेसँग सुतेर आइस् भनेर तथानाम मुख छोड्दो रहेछ। हुँदा-हुँदा उसले त परिवार छोडेर अर्को केटीसँग बस्न पो थालेछ। दुई महिना अगाडि नेपाल आएर डिभोर्स लिन खोजिछे। तर आमाबुवाले राम्रो घरानामा यस्तो हुँदैन बरु बच्चा पा अनि बुढो आइहाल्छ नि भन्नुभएछ। फेरि सोचिछे, माइत बसौँ भने बुवाको नजरसँग कसरी बच्ने? यस्तै कुरा सोच्दै गर्दा एक्कासी भुइँमा लडिछे। अस्पताल लाँदा त उसलाई एचआइभी/एड्स देखापरेछ। कसैलाई नभनि अमेरिका गइछे।
यता केटा भने यति पेसा मलाई र मेरो बुढीलाई पठाइनस् भने सबलाई एड्स बारे भन्दिन्छु भनेर धम्की दिन सुरु गरेछ। केटाले सबैतिर तेरो बेइज्जत गर्दिनछु भनेछ। यो मायाले नै सारेको भनेर फैलाउँदै हिँड्न सुरु गरेछ। उसलाई डर थियो कि आफूले ड्रग्स खाँदा र धेरै केटीसँगको सहबास अरुलाई थाहा हुन्छ भनेर। समाजभरि मुख देखाउन सकिनछे।
एड्स त उसकै श्रीमानबाट सरेको थियो तैपनि सब महिलाले नै भार लिनुपर्ने रहेछ। डिप्रेशनको बिरामी थिई, आत्महत्याको निर्णय गर्न समय लागेन यार। हामीले साथी गुमायौँ यार' भनेर रुन थाली।
'मायालेले संसारमा आफूलाई एक्लो पाई। आमाबुवाले त साथ नदिएको हामीले के नै बुझ्थ्यौँ! सायद हामीलाई पनि आफ्नो ठानिनँ। मानिसको मन समुन्द्र हुँदो रहेछ, कति कुरा लुकाउन सक्ने है?' ऊ यस्तै कुरा फोनको अर्को छेऊबाट आइरहेको थियो।
म अचानक बेहोस भएछु। होस आएपछि नराम्रोसँग रोएँ। मेरो कठोरता यतिसम्म थियो कि मैले मेरो साथीको खबर सोध्न एउटा मेसेज गर्न सकिनँ। धिक्कार छ मलाई साथी हुनुमा।
माया मरेर त गई तर बचेका हामी सबलाई प्रश्न छोडेर गई। आखिर हामीले छोरीलाई पराई धन भनेर दिमाग भर्दिँदा रहेछौँ कि मानौँ जेसुकै होस्, घर सम्झेर नआउनू। बरु तिमी मर, कराऊ तर घर, आमा-बुवा सम्झेर नाआऊ। एउटा नारीको शरीर कसले छोयो भने सबैको खाँचोको विषय हो तर उसको मनमा साँच्चै कसैले छोयो कि छोएन हामीलाई मतलब छैन।
गलत त सधैँ नारी हो तर पुरुषको हातले कति शरीर छोयो त्यसको लेखाजोखा गर्न कसलाई फुर्सद? छोरीलाई लगानी गर्न हुन्न किनकि तिनीहरू त अर्काको सम्पत्ति हो। साथीभाइ के वर्षमा एकचोटि जन्मदिनको शुभकामना दिन मात्र हो? के जीवनको गति यति बेगमा चल्छ कि मानौँ मानिसले मानिससँग बोल्न नै भ्याउँदैन?
के रोग मानिसको मायाभन्दा ठूलो हो? एक नारीको मन किन सहनशील हुनुपर्छ? किन त्यो मन कराउन सक्दैन? किन त्यो चटक्क वचन तोड्न सक्दैन? किन त्यो भित्र-भित्र रूनु पर्छ? किन मौनता नारीको श्रृंगार हो? किन यो मन भक्कानिएर रून पाउँदैन जसरी दिल खोलेर ठूलो आवाजमा हाँस्न पाउँदैन?