अभावको करौंतीले रेटी-रेटी अचेत भएको एउटा जिन्दगी नौ मुरी सपनाहरु सजाएर भौंतारिँदै टाढाको गाउँबाट सहर छिर्नु उसको बाध्यता बन्छ। थोरै आशा धेरै निराशाको कुम्लो बोकी छिरेको त्यो टाढाको बिरानो सहर उसको लागि साँच्चीकै बिरानो बनिदिन्छ।
सहरको चिल्लो सडकले पाउपोस बिनाको पटपट फुटेको उसको पैतालालाई गिज्याउँदै भन्दै गरेको हुन्छ, 'हैट् पाखे!' सहरको अग्ला-अग्ला भवन, महंगा गाडीहरुको ताँती भौतिक सुबिधाले सम्पन्न सहर एकातिर छ, अर्कोतिर उसको गरिबी, खुसीको खडेरी परेको दुखी परिवारको साथ खाली पेटले कटाएको रातहरु। कारुणिक हृदयविदारक काल्पनिक कथाको पात्र मात्रै नभएर ऊ साँच्चीकै तितो यथार्थ बोकेको एउटा सग्लो जिन्दगी हो। गाउँदेखि सहरसम्म आउनु उसको रहर होइन, रहरको पुलमुनि बगेको बाध्यताको नदी थियो।
बिरानो सहरको बिरानो रातहरुसँगै पलाउँदै गरेको उसले देखेको सम्पन्नताको सपनाहरू छिटो पूर्ति हुने छोटो बाटोको रुपमा वैदेशिक रोजगारी ठोक्किन आइपुग्छ उसको जीवनमा। जसतसो घिंस्रिदै जीवन यात्रामा आइपर्ने अनेक खालको बाधा र अड्चनसँग डटेर बडिरहन्छ अविरल। आफूमा भन्दा आफ्नोको लागि अनेक थरीका सकस झेलेर अभावको पहाडलाई गच्छेअनुसार मेहनतको छिनाले छिमोलिरहन्छ निरन्तर।
सहरको संघर्षमय दिनहरु कटाउँदै गर्दा एउटा त्यो जिन्दगीले मिठा चिप्ला कुरा गर्नमा उच्च शिक्षा हासिल गरेको महान् दलाल भेटिन्छ। दलालको चिप्लो कुराको दल-दलमा फसेर ऊ परदेश जाने निधो गर्छ। खुसीले सीमा नाघ्छ। सम्पन्नताको सपनाहरू छिटो पूर्ति हुने छोटो बाटोको छेउमै ठ्याक्कै आफू पुग्दा।
सहरसम्म आउनलाई त ऋण खोज्नु पर्ने उसलाई विदेश जान खर्च कति लाग्ने हो अत्तोपत्तो छैन। र पनि गाउँ फर्किनुको विकल्प हुन्न ऊसँग, पैसाको चाजोपाँजो मिलाउन। फर्किन्छ गाउँ, थोरै भएको घरबार धितो राखेको तमसुकमा दस्ताखत गर्छ। परदेशसम्म पुग्ने दलालको मन भर्ने पैसा लिएर फर्कन्छ सहर। दलालको फूर्तिसाथको कामले भनेकै तिथिमितिमा ऊ उड्छ परदेश। चीलगाडी चडेर। धेरै सपनाहरु सजाएर।
हिजो आफ्नै देशको सहरको शरणमा त अत्तालिएको ऊ आज टाढा, धेरै टाढाको देशमा पुग्दा नआत्तिने कुरै भएन। त्यहाँ त झन् हरेक कुरा बिरानो थियो। त्यहाँ बोल्ने भाषा, त्यहाँको हरेक कुरा बिल्कुल नयाँ थियो। जस्तोसुकै भए पनि अघि बढ्नुको विकल्प थिएन ऊसँग। आउने अनेक पलहरुसँग सम्झौता नगरी धर थिएन उसलाई।
जे सोचेर आएको थियो, त्यो थिएन त्यहाँ। दलालले जे भनेर पठाएको थियो, त्योभन्दा ठिक उल्टो थियो जहाँ ऊ पुगेको थियो। ऊ आउँदा लिएका ऋण भने दिन प्रतिदिन ब्याजको रुपले बढ्दै थियो। उसले मिठो सपना बाँडेर छाडिआएको परिवारमा।
कठोर थियो काम लगाउने अपचित मान्छेहरु। उनीहरुको व्यवहार हेर्दा त लाग्छ यिनीहरुसँग दया र माया भन्ने कुरा छँदै छैन। यसरी नै व्यतित हुँदै जान्छ एउटा जिन्दगी आफ्नो ठाउँदेखि अरुको ठाउँमा। थुप्रै रातहरु त सपनाबिना नै कटिएको थियो उसको। नमिल्दो खानाको कारणले पनि विस्तारै उसको शरीर कमजोर हुँदै थियो। त्यो अरुको ठाउँ जहाँ आफ्नाको माया त केबल स्मृतिमा थियो होला। यसरी सीमाविहीन गरेको कामले एउटा जिन्दगीलाई एकदिनको बिहानीले बिरामी बनाइदियो।
बिरामी नै भए पनि सकिन्जेल त काम गरिरह्यो। आफ्नो खातिर होइन, आफ्नाहरुको खातिर। काम गर्न नसकिने भएपछि अन्तिम अवस्थामा पुर्याए ओखतिमुलो गर्ने ठाउँमा क्रुर मानवता बिर्सेका मान्छेले। हुन त यो दुनियाँ यति स्वार्थी छ। प्रशंसाको फूलबुट्टा भरेर मतलबको छुरा मज्जाले चलाउँछन्, अरु होइनन् आफ्नै भन्नेहरुले।
त्यो एउटा जिन्दगी समय घर्की सकेपछि पुगेकोले गरेको ओखती-मुलो काम लागेन। एक दिन, दुई दिन हुँदै थुप्रै दिन बितायो अस्पतालमा। जति ओखती गरे पनि फाइदा भने बिल्कुल शून्य। आफ्नै देशान्तरमा भाको भए आफ्नोहरुको साथ हुन्थे, माया पाउथे आफ्नै भाषामा बोल्ने डाक्टरले नशा-नशा छामेर रोग पत्ता लगाउथे। तर विडम्बना, हेर्दाहेर्दै त्यो एउटा जिन्दगी अभाव र गरिबीको कारण पराई देशमा अवस्थित अस्पतालको बेडमा मृत्यु कुरिरहन विवश हुन्छ।
आकाशम बादल नाचिरहेको थियो। अचानक ठूलो वर्षा भयो। ठिक त्यहीँ समय एउटा बबुरो जो थुप्रै सपना बोकेर परदेशिएको जिन्दगीले बिदा लियो यो दुनियाँबाट। कोही थिएन उसको छेउमा। न उसको आमा थिए न बाबु। थिए त केबल अपरिचित अन्जनान अनुहारहरु।
उसको मृत्युको खबर ऊ काम गर्ने ठाउँमा पुग्यो, त्यहाँबाट नेपाली दूतावासमा। सरकारी/गैरसरकारी गर्नुपर्ने प्रक्रियाहरु पूरा गरेर लगभग दुई मिटर लामो रातो बाकसमा सुताए, सदाको लागि सुतेको उसलाई। फर्काई पठाए उस्तै पहिला जाँदाको जस्तै चीलगाडीमा। चीलगाडी उस्तै थियो, चीलगाडी चलाउने मान्छे उस्तै थिए। तर जाँदा ऊ जिउँदो थियो, फर्कँदा चिर निन्द्रामा।
देखेका सपनाहरु मुर्जाए। खडेरी परे उसका आफन्तको आँखाहरु। अन्त्य भयो एउटा अधुरो जिन्दगीको अधुरो कथा, दुई मिटर लम्बाई भएको रातो बाकससँगै।