शीलाको बाह्र कक्षाको अन्तिम परीक्षाको परिणाम आउने दिन। परीक्षा सकेपछि नै हो उसलाई परिणाम के-कस्तो हुन्छ भनी औधी डर लागेको। परिणाम आउने दिन उसले आफ्नो डरलाई काबु गर्न सकेको हुँदिन। परीक्षा उत्तीर्ण गर्ने उसलाई पूर्ण विश्वास हुन्छ तर बाबाले दिएको लक्ष्य, ९५ भन्दा बढी प्रतिशत ल्याउने त्यसमा हुँदैन।
राज्यको सबैभन्दा नाम चलेको प्रख्यात विश्वविद्यालयमा दाखिला गराउने शीलाको बाबा शंकर ओझाको रहर थियो। ९५ भन्दा बढी प्रतिशत आवश्यक थियो त्यो विश्वविद्यालयमा दाखिला लिन। धेरै पढाएर शीलालाई ठूलो अहोदामा राख्ने शंकर ओझाको ठूलै सपना थियो।
शीलाले यसरी परीक्षा उत्तीर्ण गर्ने लक्ष्य पाएको पहिलो चोटि थिएन। कक्षा पाँचदेखि उभो लागेपछि उसले सधैं कक्षामा प्रथम आउने लक्ष्य पाउँदै गई। शंकर ओझा कडा व्यवहारका थिए। सन्तानको नाममा एकमात्र छोरी शीला भएकाले धेरै माया गर्थे। एउटै सन्तान भएर पनि होला ठूलो मान्छे बनाउने आन्तरिक इच्छा। हृदयमा छोरीका लागि प्रगाढ माया राखे पनि कहिले छोरीलाई देखाएनन्।
छोरीप्रति सधैं कठोरतासँग पेसिए ताकि ऊ अनुशासनमा रहोस्, बाबाको डरले पढाइमा ध्यान दयोस्। उनको यो योजना सफल हुँदै गयो। शीलाले पढाइलाई पेवा बनाई। जति बेला पनि पढाइमा घोट्टी राख्थी। बिहान दुई घण्टा पढ्ने, दिनमा स्कुल, बेलुका कोचिङ क्लास, रातिको भोजन उपरान्त फेरि पढाइ। एकदिन पनि यो दिनचर्या पालना नहुँदा शीलाले बाबाको रिसबाट बाच्दिन थिई।
शंकर ओझाको इच्छानुसार शीला परीक्षामा उत्तीर्ण हुँदै गई। उत्तीर्ण मात्र होइन, प्रथम आउने गर्थी हमेसा। कक्षा छमा पुगेपछि आँखाको समस्या भयो। दुवै आँखामा माइनस दुइको मोटो चस्मा चढ्यो। कक्षाका सहपाठीले चस्मिस भनेर जिस्क्याइरहे। सुरूमा उसलाई सहन गाह्रो पर्यो तर बानी पर्दै गयो। साथीले चस्मिस भनेर गिज्याउँदा मुसुक्क नहाँसी विरोध गर्ने अरु ऊसँग विकल्प थिएन। उसको दैनिक दिनचर्या अनि बाबाको कठोर अनुशासनले उसको मन संकुचित एवं कमजोर भइसकेको थियो। कसैमाथि हाबी हुने आत्मविश्वास ऊमा विकसित नै हुँदैन।
शीलाका कक्षामा उसका जम्मा एकजना मात्र साथी थिई। पढाइमा अब्बल भए पनि सबैसँग कामको कुरा मात्र थोरै गर्ने। मधुरो स्वर। मधुरो बोल्न भएर कक्षाका केटा सहपाठीले मुसी भनेर जिस्काउँथे। मधुरो स्वर त ठिकै थियो तर उसको ज्यान पनि खाइलाग्दो कहाँ थियो र? बाबाले फलफूल, सप्लिमेन्ट घरमा टम्म राखिदिए तर ज्यानमा रत्तिभर लागेन।
उसले कहिले मन खोलेर हाँस्ने कारण पाइन। साथीसँग इतरिन मनमा साहस आएन। स्कुलमा हुने खेलमा रुचाइन। लागे पनि कमजोर ज्यानले मुटुमा साहस भरिदिएन। खेलिहाले भने पनि मजाले खेल्न नजानेको देखेर सबैले बिल्ला गर्छन् भन्ने बेग्लै पिर। स्कुल एक्स्कर्शन, पिकनिक जान कहिले साथीले उसलाई सूचिवद्ध गरेनन्। गर्दा पनि बाबाले एक्स्ट्रा क्लासमा जाने प्राथमिकता दिए। अनुशासित जीवनले उसलाई यी सबै कुराबाट टाढा बनाइदियो। उसलाई मोज-मस्ती, हँसी-ठट्टा, केटा घुम्ने, सिनेमा हेर्न जाने, केटीकेटी भई लुकेर उद्दण्डता गर्नेजस्ता कुराहरूको सुइको पनि पाइन। पढाइ बाहेक उसले गर्ने कार्य केही थिएनन्।
उसको मन नभएको होइन। डरले उसलाई कहिले छाडेन। साथीले उसलाई आफ्नो टोलीमा नराख्न प्रयास गरेका पनि होइनन्। उसको अनुशासित जीवनबाट सबै डराउँथे। कक्षा दस उता उसका सबै साथीले एनरोयड फोन चलाउँथे। फेसबुक, इन्स्टाग्राम, ह्वाट्स्एप जस्ता एप चलाएर स्कुलमा दिनभरि चर्चा गर्थे। गलल हाँस्थे।
शीलाले पनि एकदिन बाबालाई कक्षा दसको अन्तमा मोबाइलको डिमान्ड गरेकी थिई। तर शंकर ओझाले यही जवाफ दिए छोरीलाई- 'फोनले पढाइमा असर गर्छ। बाँधा दिन्छ। पढाइ सकेपछि फोन दिलाई दिन्छु।'
यति भनेपछि शीलाले तर्क गर्ने कुरा नै आएन। 'हुन्छ बा' भनेर इच्छामाथि डरको अर्को ढुङ्गा राखिदिन्छे।
कक्षा दसमा हुँदा शीलाको एक मात्र प्रिय साथीले उसको जन्मदिन समारोह घरमा राखेकी हुन्छे। उसले सबै साथीलाई समारोहमा निम्त्याउँछे। शीलालाई विशेषगरी उपस्थिति हुने आग्रह गरेकी थिई। अघिल्लो दिन शीलाले जन्मदिन समारोहमा जान बाबासँग अनुमति लिन कुरा राख्छे।
'बाबा, भोलि मेरो साथीको जन्मदिन छ। उसको परिवारले घरमा जन्मदिन समारोह आयोजित गर्नु भएको छ। मलाई आउन साथीले ढिपी गर्दैछे। म जाऊँ बाबा?'
'पर्सीबाट तिम्रो अर्ध-वार्षिक परीक्षा हैन?' परीक्षाको बेला कसरी समारोहमा जाने छोरी? तिमीलाई थाहा नै छ त यो वर्ष नब्बेभन्दा बढी प्रतिशत अर्जित गर्नु पर्नेछ!।'
बाबाको उत्तरमा प्रतिउत्तर फर्काउन सक्दिन। साथीको जन्मदिन समारोहमा जाने भनेर दुई दिन अगाडि सबै तयारी गरेकी हुन्छे तर अनुमति पाउँदिन। रातभरि रुन्छे। मन कटकट खान्छ प्रिय साथीको बारम्बार गरिएको अनुरोधमा पनि जान नपाउँदा। भोलिपल्ट स्कुलमा भेट हुँदा साथीलाई कति चोटि बोलाउँदा पनि बोल्दिन। क्षमा माग्दा पनि यादै गर्दिन।
यसरी एकजना साथी जोसँग मनका कुरा बिसाउने गर्थी त्यो पनि टाढिन्छे। आखिर उसको पनि मन हो, पिर लाग्छ, दुःख लाग्छ, साथी चाहिन्छ, संगत चाहिन्छ, मन दुखेको बेला दुई कुरा मिठो बोल्ने प्रियजन चाहिन्छ, आँसु आएका बेला पुछेर कसिलो अङ्गालो हाल्ने साथी चाहिन्छ। तर यी सबैको सट्टामा उसले अनुशासनको छहारी मात्र पाई। मन पिरोलिन्छ, गाँठो पर्छ तर फुकाइदिने कोही हुँदैन।
पढाइका लागि दिनरात बस्छे तर ध्यान लगाउन गाह्रो पर्छ। न मन लाग्छ न इच्छा। कहिलेकाहीँ उसको मनमा अनायसै कुरा आउने गर्छ- 'पढेलेखेर कसका लागि ठूलो मान्छे बन्नु? जब मेरो छेउछाउ ताली बजाउने, हाँसी दिने नै छैनन्।' मन पोलेर आउँछ। आँसु थाम्न गर्दा पनि अविरल झरिरहन्छन् यस्तै कुराले उकुसमुकुस पारेको बखत। आफ्नो बाबालाई यी सबै कुरा दिल खोलेर भनिदिऊ लाग्छ तर सबै कुरा भन्न कहाँ सजिलो हुँदोरहेछ र? मनमा पोको पारेर राख्ने बाहेक अरू उसँग केही उपाय नै हुँदैन।
कक्षा दसको फाइनल परीक्षामा शीला साधारण अङ्कमा उत्तीर्ण हुन्छे। शंकर ओझा नतिजा सुनेर द्रवित हुन्छन्। रिसले आगो बाल्छन्। उनले छोरीबाट ठूलो आशा राखेका थिए तर साधारण नतिजा हात लाग्दा उनको सपना सिसा समान टुटिदिन्छ। परीक्षाको नतिजा आएको दिन छोरीलाई पेटभरि गाली गरेर अगाडिको पढाइका लागि कठोर अनुशासन एवं अझ एउटा कोचिङ क्लास बढाइदिन्छन्।
शीलाले सबै कुरा स्विकार्नै पर्छ। आखिर यो सबै बाबाले उसैका लागि गरेका थिए। उसले नबुझेको पनि हैन। बुझ्ने बानीले नै उसलाई पिरोलिराखेको छ। कहिले कुन रूपमा बिस्फोट हुने हो उसले अन्दाजा पनि लगाउन सकेकी छैन।
बाह्र कक्षाको सुरूआती दिनमा एउटा अप्रिय घटना घट्छ जसले शीलालाई टुटाइदिन्छ। मर्माहत पारिदिन्छ। बाह्र कक्षामा पढ्दा स्वयम शंकर ओझाले पनि शीलाको पढाइको निगरानी गर्छन्। एक साँझ शीलाको पुस्तकमा कुनै केटाले पठाएको प्रेमपत्र शंकरको हातमा फेला पर्छ। पत्र शीलाकै नाममा हुन्छ। रगतले लेखिएको प्रेमपत्र। शंकर ओझा रिसले तीन भाहुन्न हुन्छन्। जुन छोरीलाई पढाइबाट ध्यान विकेन्द्रित नहोस् भनी फोनसम्म राख्न दिएका थिएनन् उसको प्रेमप्रसंगको प्रमाण हात पर्दा मर्माहत हुन्छन्।
'छोरी मैले तिमीलाई पढ्न पठाए हो कि प्रेम गर्न? मैले कमाएको पैसा सबै तिम्रो पढाइमा लगाउँदैछु। तिमीले यति पनि सोच्न सक्दिनौ? यो सब मैले गरेको तिम्रो लागि हो। तिमीले ठूलो मान्छे बनिनु छ। ठूलो मान्छे बनिन राम्रो पढ्नु पर्छ अनि पढ्नलाई यसरी प्रेम-श्रेमम गरेर हुन्छ?'
बाबाको कोध्रित स्वरले शीला डराएर काम्छे। उसलाई यो प्रेमपत्रबारे केही थाहा नै थिएन। अचानक बाबाको हातमा पत्र देख्दा आत्तिएकी हुन्छे। उसले कल्पना पनि गरिकी हुँदिन। बाबाको अनुशासनबाट सानैबाट परिचित थिई ऊ। यो पटक बाबाको गालीमा अर्कै पीडा अर्कै आक्रोश देख्छे। उसले सफाई दिने केही बाटो नै पाउँदिन। कहिले जवाफ फर्काउन हिम्मत नहुने उसले के नै उत्तर दिन्थी होला र? मुन्टो तल पारेर बाबाको गाली सुनी रहन्छे।
छोरीबाट केही उत्तर नपाउँदा झन् रिसले प्रश्न गर्छन्।
'के हो यो केटा? कहिलेबाट यसरी तिमी केटा हेर्न लाग्यौ? यही कारणले होला दस र एघारमा राम्रो रिजल्ट नआएको?' बाबाको रौद्र रूप देखेर डरले कम्कपाउँदै गरेकी शीला तरङ्ग तर्सिन्छे।
'मैले यस्तो केही गरेको छैन बाबा। मलाई यो पत्रको बारेमा केही थाहा छैन,' सुस्काउँदै कम्पन स्वरमा जवाफ दिन्छे।
बाबाले उसको कुरामा कसरी पो विश्वास गर्थे होला र? प्रेमपत्र उनको हातमा थियो।
आजबाट पत्रमा भएको केटासँग टाढा हुने हिदायत दिएर शीलालाई पढाइमा ध्यान दिने कडा चेतावनी राखिदिन्छन्।
बाबा आफ्नो कोठामा गएपछि शीला रूखबाट हाँगो झरे समान खाटमा लड्छे। पीडामा खोसार्नी लगाए झैँ मन पोल्छ। मन चिच्याउँछ। आँसु बररर झर्छन्। उसलाई डरभन्दा बढी पीडा थपिन्छ। उसले आजसम्म कुनै केटासँग हाँसेर बोलको पनि हुन्न तर आज बाबाको हातमा प्रेमपत्र देख्दा अचम्म त लाग्छै लाग्छ तर बाबाको गालीले मर्माहत बनाइदिन्छ। गल्ती गरेर गाली खाएको भए पच्थ्यो होला? तर मन झन् गाँठो पर्छ।
हप्तादिनसम्म स्कुल जाँदिन। बिरामी छु भनेर कोठामा एकान्त बन्द भएर सुस्की रहन्छे। खुसीका कारण खोज्न ऊ गल्ली, गोरेटो, टोल, गाउँ, सहर सबैतिर डुल्छे तर मन भक्कानिनुदेखि बाहेक अरू केही भेट्दिन। बाबाले औषधि ल्याइदिन्छन् तर औषधीले जाती हुने उसको पीडा थिएन।
हप्तादिनसम्म स्कुल नजाँदा जसले शीलालाई पत्र दिएको हुन्छ त्यो केटा कक्षाका साथी लिएर शीलालाई भेट्न आउँछ। शीलासँग माफी माग्छ।
'मलाई माफ गर्दे शीला। तँ स्कुल नै आउन छोड्छेस होला भन्ने लागेको थिएन। हामी साथी मिलेर मजाक गरेका थियौं। प्लिज हामीलाई माफ गर्दे।'
शीला निरुत्तर हुन्छे। उत्तर पनि के दियोस् र? मात्र आँसुका दुई ढिका झार्छे। टुटेको मन अझ छिया-छिया भइदिन्छ।
पीडाको खाटमाथि सुतेर बाबाले दिएको लक्ष्य बाह्रमा ९५ बढी प्रतिशत ल्याउन कमर कस्छे। प्रयास गर्छे। मेहनत गर्छे। सबै अवहेलनालाई उपेक्षाको बर्को ओढाएर पढाइमा ध्यान लगाउँछे। बाबाले दिनै लक्ष्य स्मरण गराइरहन्छन्। राम्रो विश्वविद्यालयमा भर्ना हुने र ठूलो मान्छे बनिने लक्ष्य पनि स्मरण नगराएका होइनन् शंकर ओझाले। फाइल परीक्षा हुन्छ। उसले सकेसम्म राम्रो परीक्षा दिन प्रयास गर्छे। बाह्रमा राम्रो अङ्क नआउँदा छोरीलाई पढाउन छोडेर बिहे गर्दिने डर पनि देखाइदिन्छन्।
आज परीक्षाको फल आउने दिन। बाबाले दिएको लक्ष्य सम्झी-सम्झी डर बढेको बढ्यै गर्छ। उत्तीर्ण हुने विश्वास छ तर बाबले दिएको लक्ष्यमा शंका। उसलाई थाहा छ कुन मनस्थितिमा उसले पढेकी हो। विज्ञान पढ्छु भन्दाभन्दै बाबाले एकाउन्ट्स पढेर सिए बनिने लक्ष्य थोपिदिनु भयो। उसले स्वेच्छाको आजसम्म के नै गर्न पाएकी छे र? बाबाको इच्छानुसार रिजल्ट नआउँदा बिहे गर्दिने कुरा सम्झेर थर्थराउँछे।
रुन मन लाग्छ तर आँसु नै झर्दैनन्। डाँका छोडेर कराउन मन लाग्छ तर आवाज भासिएझैँ लाग्छ। उसको हृदय कैयौं सिसाका टुक्रा बिझे सरह चस्किन्छ। घोच्छ। दिमाख फुट्ला झै हुन्छ। बिहानै बाबाले 'रिजल्टमा ९५ आउँछ होला नि छोरी? 'भनेको कुरा याद गर्दा एक्कासी झस्किन्छे।
शंकर ओझाले चिताएको रिजल्ट आउँदैन। साठी प्रतिशत मात्र रिजल्ट थियो। डराएको मनमा रिजल्टले गति दिन्छ। बाबाले के भन्नु हुन्छ? गाली गर्नुहुन्छ, उहाँको सपना पूरा नहुँदा उहाँ पनि दुखी हुनुहुन्छ होला। मनमा धेरै कुरा गुजिल्टिन लाग्छन्। न उसले हावाको स्पर्श थाहा पाउँछे न जमिनको। घरी छाँगोबाट खसेजस्तो उसका चाहना, इच्छा, भविष्य सबै खसेको भान लाग्छ घरी आकाशमा बेपत्ता भएर उडको जस्तो। शनै शनै उसको मन-मस्तिष्क पनि खसिरहन्छ, उडिरहन्छ।
शंकर ओझाले पुलिस चौकीमा रिपोर्ट दर्ता गरेको पनि पाँच दिन भएको थियो, शीला हराएर। पागलजस्तो भएर टोल-टोल, सहर-सहर खोजे तर फेला पारेनन् आफ्नी छोरी। उनी छोरी हराएको वेदनामा तड्पिन्छन्, रुन्छन्। छोरीका प्रत्येक वस्तु निहाल्दै सुम्सुमाउँछन्। छोरीका लुगाफाटा, बचपनका खिलौना, पुस्तक कापीले छोरीको याद दिलाइदिन्छ। एक्कासी पुस्तकमा छोरीले छोडेको सानो पर्ची भेट्छन्।
लेखेको थियो- 'बाबा, मलाई माफ गर्नु। म टाढा जाँदैछु। हजुर सधैं पिता मात्र हुनु भयो। मैले तीन वर्षको हुँदा आमा गुमाएँ। हजुर आमा बन्न सक्नु भएन। मेरो इच्छा, चाहना सायद आमा बाचेको भए बुझ्नु हुन्थ्यो होला! म स्वेच्छाले जीवन जिउन टाढा जाँदैछु। मलाई खोज्ने चेष्टा नगर्नू बाबा।'