तिमीले देखेको म र मैले देखेको ममा फरक छ
तिमी मेरा झुत्रे कपडा देख्लाउ
लामो र मैलो कपाल देख्लाउ
मोटो भद्दा शरीर देख्लाउ
कयौँ दिनदेखि नकाटेको लामो दारी देख्लाउ
तर ती हरेक देखेका देखावटी वस्तु
पछाडिको मलाई कहिलै देख्न सक्दैनौ
देख्न चाहेर पनि देख्न सक्दैनौ
चाहँदै नचाहनु त्यो फरक प्रसंग हो
यी मैला इज्जत ढाक्ने कपडाले छोपिएका दागहरु
न म देखाउन सक्छु, न तिमी हेर्न चाहान्छौ
त्यसैले भन्दैछु, मैले देखेको म र तिमीले देखेको म धेरै फरक छन्
जसरी तिमीले हेर्दा देख्ने छाया र मैले हेर्दा देखिने छाया फरक छ
फरक नहोस् पनि कसरी?
हामीले टेक्ने धर्ती र ओढ्ने आकाश एउटै भएता पनि
हामी जात र धर्मले विभाजित छौ
हामीले देख्ने रङ एउटै भयता पनि, हामीले ओढ्ने रङ फरक छ
हरेक फरक कोट्याउन थाल्यो भने सायद हामी
मानव हौँ भन्ने कुरामा मात्र एकमत हुन्छौँ होला
सायद तिमीभित्र पनि एउटा किरा छ
जुन किराले मलाई रात-दिन सताइरहन्छ 'अहम'
न तिमी मलाई आफूभन्दा राम्रो भनेर स्विकार्न सक्छौ, न म तिमीलाई
त्यसैले म भन्दैछु, तिमीले सोचेको म र मैले चिनेको म फरक-फरक छौँ।