तिम्रै कारण त हो ताराहरु चम्केको
चन्द्रमाको आकार घट्ने र बढ्ने भएको
सूर्यले ताप अनि प्रकाश छरेको
पृथ्वी सूर्यको अनि चन्द्रमा पृथ्वीको वरिपरि घुमेको
यसर्थमा तिमी महान् छौ, अत्ति महान्।
स्पर्श, स्वाद, बास्ना, दृष्टि, श्रवण
रक्तनलीमा रगतको बहन
हृदयको लयवद्ध संकुचन र विश्राम
श्वास-प्रश्वास प्रणाली
तिमीले गर्दा त हो सम्भव भएको
यसैले त म भन्छु फिजिक्स् तिमी महान् छौ, अत्ति महान्।
तिमी भएर त ढुक्क छन्
आर्थिक आभावले छोरालाई खाडी पठाउने पल्लाघरे काकी
अनि अध्ययनलाई अमेरिका, अस्ट्रेलिया पठाउने अभिभावक
यसर्थ त कत्ति खेद छैन भन्नलाई
फिजिक्स् तिमी महान् छौ, अत्ति महान्।
निलो आकाश, इन्द्रेणीको रंग
अण्ड, पिण्ड, सम्पूर्ण ब्रह्माण्ड अनि यावत् तरङ्ग
करोडौंका नयन लाखौँका कान
अनि कत्तिको हृदयको धड्कन भएर
क्रियाशील तिमी, महान् छौ, अत्ति महान्।
स्पुतनिक, चंद्रयान यावत् उपग्रहहरु
अन्तरिक्षमा पुर्याउने अन्तरिक्ष यान
म चढेर हिँड्ने थोत्रो मोटरसाइकल
त्यसका दायाँ र बायाँपट्टिका लुकिङ ग्लास
डिस्क ब्रेक, गियर, इन्जिन, स्पिडोमिटर सब तिमी नै त हौ
यसैले भौतिक शास्त्र, तिमी महान् छौ, अत्ति महान्।
म स्वयम् आफूलाई हेर्न, तिमी चाहिन्छौ
हजुरहरुले मलाई देख्न पनि, तिमी नै चाहिन्छौ
तिमीबिना न म तपाईंलाई देख्छु
न त तपाईंहरु मलाई नै देख्नुहुन्छ
यसर्थ त भौतिक शास्त्र तिमी महान् छौ, अत्ति महान्।
म बोलिरहेको माइक्रोफोन
यससँग जडित वायर
अनि वायर गएर जोडिएको एम्पिफ्लायर
एम्पिफ्लायरसँगै जडान गरिएको स्पिकर
यो पनि त तिम्रै योगदान त हो
यसैले त भन्ने गर्छु फिजिक्स् तिमी महान् छौ, अत्ति महान्।
चुट्किमै करोडौंको हिसाब गर्ने क्याल्कुलेटर
क्वान्टम कम्प्युटर, एआई, सुपर कम्प्युटर
अन्जान ठाउँको यात्राको सहयात्री जिपिएस
छिनभर पनि तपाईंले छोड्न नसक्ने सेलफोन
सबै भौतिक शास्त्र नै त हुन्, भौतिक शास्त्र
यसर्थ त भौतिक शास्त्र तिमी महान् छौ, अत्ति महान्।
कहाँबाट सुरु हुन्थ्यो सूक्ष्म विज्ञान
कसले गर्दथ्यो काला छिद्रहरुको अनुसन्धान
कसले वर्णन गर्ने थियो खगोल
कसरी बुझ्न सकिने भूगोल
यसैले त म भन्छु, फिजिक्स् तिमी महान् छौ,अत्ति महान्।
हलोदेखि हाइड्रोसम्म तिमी नै त हौ
सर्वशक्तिमान्, यत्रतत्र सर्वत्र तिमी नभएको ठाउँ कहाँ नै छ र?
सुई र सियोदेखि सम्पूर्ण उपकरणको आत्मा तिमी
तिम्रै कारण त यी सब अस्तित्वमा छन्
सायद तिमी हुँदैन्थ्यौ त यी सब निरर्थक हुन्थे
यसर्थ त फिजिक्स् तिमी महान् छौ, अत्ति महान्।
डाक्टरको घाँटीमा झुन्डिएको देख्दा
सिस्टरले स्फेगमोम्यानोमिटरको पम्प प्रेस गर्दैगर्दा
ल्याब टेक्निसियनले मेडिकल रिपोर्ट तयार गर्दै गर्दा
इन्जिनियरको वरिपरि यत्रतत्र सर्वत्र तिमीलाई देख्दा
लाग्छ भौतिक शास्त्र तिमी महान् छौ, अत्ति महान्।
परमाणुको गतिज उर्जाको योगफल
कार्यक्षमता, परमाणुको कम्पन
गति, बल, तापक्रम, कार्य, शक्ति
प्रकाश, विद्युत, चुम्बक अनि सम्पूर्ण मापन
सबै भौतिक शास्त्र नै त हुन्
यसर्थ किमार्थ खेद छैन भन्नलाई
भौतिक शास्त्र तिमी महान् छौ, अत्ति महान्।
अनि विभिन्नको प्रश्न हुन्छ, भाइ यसले के गर्छ?
यसले के गर्दैनको खोजीमा तल्लीन ममा प्रश्न ठडिन्छ
अनि मलाई के भनुम्, कहाँबाट सुरु गरुम् हुन्छ
मेरा सीमित शब्दले तिम्रो व्याख्या नै नहुने भएपछि
म बोलिरहन्छु प्रश्नकर्ता स्तब्ध भई निरन्तर सुनिरहनुहुन्छ
अनि केही समयपछि एउटा आवाज गुन्जन्छ
भौतिक शास्त्र तिमी महान् छौ,अत्ति महान्।
हामीले तिमीलाई जानेनौं, चिनेनौं
निशब्द हुन्छन् प्रश्नकर्ताहरु
थाहा नै नभएको विषयमा सोच्दै, टोलाउँदै
कोर्दै अनि त्यसैमा रमाउँदै, अघि बढ्दै
केही थाहा नभएपछि यत्ति थाहा भो कि
भौतिक शास्त्र तिमी महान् थियौ, छौ र रहनेछौ।