मैले त्यहीँ पञ्जाले
धेरै पुस माघ काटेँ
दाङबाट काठमाडौं
सिराहा, सप्तरी
मोटरसाइकलमा कुदेँ
थुप्रै साइकल राइडहरू गरेँ।
त्यो पञ्जाले
अदम्मे साहस मिल्थ्यो
म कहिले मध्य रातमा
आर्मी बनेँ
डोरीमा सुर्किदै
शिखरहरु उक्लिएँ
उनका बेश क्याम्पहरुमा
चिफ्लेटी खेलेँ।
एक्लै औंशीका रातहरुमा
भूताहा फूलबारीहरु पुगेँ
पञ्जा लगाउँदा
कसैको प्रवाह हुन्थेन ।।
एकदिन ‘मेरो पञ्जा’ मा
कोही धावा बोल्यो
उनी मौन बसिन्
मैले पञ्जा खोलेर हेरेँ
हस्त रेखामा थुप्रै खतहरु थिए
काँडाहरुले घोचेका
सित लहरले फाटेका ।
तै ‘ऊनी’ को पञ्जा बोल्यो
हाम्रो जात मिल्दैन
ऊ अमेरिका बस्छ
ऊ सँग मलाई गुडाउने कार छ
मलाई भूलिदेऊ
मैले तिम्रो दिलसँग होइन
तिम्रा हातहरूसँग मात्रै प्रेम गरेकी थिएँ।
म सपनाबाट ब्यूझिएँ
जतिखेर म आकाशमा यात्रारत थिएँ
अनि मैले त्यो पञ्जा
जहाजबाट हुत्याइदिएँ
त्यो ‘ऊनी’ को पञ्जा
हावामा कावा खाँदै बत्तियो
सायद त्यो घनघोर जंगलमा खस्यो ।
अनि मैले कामना गरेँ
फेरि त्यो पञ्जा
कुनै युवकको हातमा नपरोस्
र उसका भाग्य रेखाहरुमा
कुनै खतहरु नलागुन्।।