सयौं घामको ताप
एक थाप्लोमा बोकेर
ऊ अहिले पनि बरफ झैं ठण्डा छ।
त्यस्तै ताप उसका पुर्खांले पनि
वर्षौंसम्म थाप्लोमा बोकेरै हिँडे।
त्यै भएर होला
उसको र मेरो हेराइमा दृश्य एक
दृष्टिकोण फरक-फरक छन्।
म भेरीमा सग्लो पानी बगेको देख्छु
ऊ रगतको आहाल देख्छ।
म पानी मुनि स्वतन्त्र खेलिरहेका माछा देख्छु
ऊ निर्दोष मारिएका (अ)स्वतन्त्र नागरिकको लास देख्छ।
म ढुंगे धारामा पानीको स्रोत भेट्छु
ऊ एक अतृप्त तिर्खा देख्छ।
म मन्दिर भित्र ढुंगामा देवता देख्छु
ऊ मन्दिरको ढोकैमा उभिएका ढुंगा झैं कठोर मान्छे देख्छ।
म किताबमा ज्ञान भेट्छु
ऊ विभेदको इतिहास भेट्छ।
म मेरो भूगोल भित्र देश देख्छु
ऊ त्यै भूगोलमा आफ्नो देश खोज्छ।
इतिहासमा आफ्नाहरूको वीरताको गाथा पढेर म दंग हुँदा
ऊ गायब पारिएका आफ्ना वीरहरू सम्झेर खिन्न छ।
ऊ सोच्दो हो
शासकको मिथ्या लोरी लेख्ने कलमले
किन उसको कर्मको गीत लेख्दैन?
शासकको झूटमा पैरवी गर्नेहरू
उसको सत्यसँग किन थर-थरी काँप्दछन् हँ ?
उसलाई किन लाग्छ
कालो कोट लगाउनेहरूको मन सफा छैन?
हातमा डण्डा हुनेहरू उसैलाई लखेटी रहेछन्?
के रातो मसीले सही गर्नेहरूले
उस्कै रगत सापटी लगेका हुन् ?
यो सोच्दा उसले टेकेको जमिन फन् फनी घुमिरहेछ।
तै पनि ऊ बरफजस्तै ठण्डा छ।
उसलाई थाहा छ
आगोले आगो निभाउन सक्दैन
तुँवालोले तुँवालो हटाउन सक्दैन।
तर,
जब सयौं घामको तापले
वरफ बाफ बन्ने छ
राप दिनेहरू खरानी होलान्-नहोलान्
कुरूप अवश्य हुनेछन्।