उसैगरी
उही प्रकृया
उही बाटो भएर
जन्मिएका थियौं भाइ र म
फरक यति हो
भाइ छोरो भएकै कारण
बा-आमाको प्यारो बन्यो
र मलाई
छोरी भएकै कारण उपेक्षित गरियो।
म जन्मिएको दिन मलिन थियो बाको अनुहार
मलाई राम्रोसँग याद छ
म छोरी भएको खबर कानसम्म नपुग्दै
बाको पूरै मुस्कान हराइसकेको थियो
उसो त
खुसी थिएन आमाको अनुहार पनि
तर केही खुसी देखिन्थ्यो
बाको तुलनामा।
भाइ जन्मिएको दिन
मैले बा-आमाको अनुहारका हरेक पेज
ओल्टाई-पल्टाई पढेकी थिएँ
प्रत्येक पेजहरु खुसीले टम्म देखिन्थे
पढ्न त आफू जन्मिएको दिन पनि पढेकी थिएँ
तर
त्यो दिन बाको अनुहारमा
एक धर्सो खुसी पनि भेटाइनँ मैले
भाइ जन्मेको दिन घरभरि उल्लास थियो
सबैजना खुसी देखिन्थे
भाइ जन्मेको दिनदेखि दस दिनसम्म
भोज भतेरसँगै पन्चेबाजा बजाएर
भाइको स्वागत गरिएको थियो
तर, म जन्मेको दिन
चुल्होमा राम्ररी आगो पनि बलेन।
हरेक दिन भोको डोको लिएर
म जङ्गलतिर जान्थेँ
भाइ आफूभन्दा गह्रौ झोला बोकेर
स्कुलतिर जान्थ्यो
रहर त मलाई पनि लाग्थ्यो
झोला बोकेर भाइसँगै स्कुल जाने
दुर्भाग्य! छोरी भएकै कारण
मेरो लागि जङ्गल स्कुल
र डोको झोला भइदियो
घाँस काट्न जुन जङ्गलमा जान्थेँ
त्यही जङ्गलको ठूलो सल्लाको रुखको भित्तामा
हातको हँसियालाई कलम बनाएर
कयौं पटक आफ्ना कथाहरु लेखेकी छु
तर मैले लेखेका ती मेरा कथाहरु
आजसम्म कसैले पढेको छैन
चराचुरुङ्गी र जनावर बाहेक।
हरेक दिन भालेको डाकोभन्दा अघि
सधैं म जातो नजिक पुग्नुपर्थ्यो
जातोमा गहुँ पिसिरहँदा
कयौं पटक
गहुँसँगै मेरा आँसुहरु पनि पिसिएका छन्
र कयौं पटक
मन सम्हाल्न जातोलाई कपि बनाएर
जातोमै कयौं कविताहरु लेखेकी छु
तर मैले जातोमा लेखेका
ती मेरा कविताहरु
जातोबाहेक कसैले पढेको छैन।
कयौं पटक
ओखलमा धान, मकै कुट्न जाँदा
आफ्नो मनका भावनाहरु समेटी
ढिकीलाई कलम बनाएर
खुट्टाको सहायताले
ओखलमा एक जीवन्त उपन्यास लेखेकी छु
जुन उपन्यास ओखल र ढिकीबाहेक
कसैले पढेको छैन।
त्यसैले,
ओ
पुरुष प्रधान देशका शिक्षित पुरुषहरु हो
तपाईंहरु मध्ये
समानताको पक्षधर
यदि कोही छ भने आउनुहोस्
मैले सल्लाको रुखको भित्तामा लेखेका मेरा कथाहरु
मैले जातोमा लेखेका मेरा कविताहरु
र ओखलमा लेखेको मेरो उपन्यास
सामूहिक पढौं
ताकि कुनै पनि छोरीले
छोरी भएकै कारण
परिवारमा हेलाको जिन्दगी
जिउन नपरोस्।