कसले पो खेलेको हुँदैन र आफ्नो बाल्यकालमा पूरै जीउ नै रङ्गिने गरी धुलो-माटो, लगाइदिएका ती साना घाँगर निथ्रुक्कै हुनेगरी पानी?
हो, त्यसैगरी कसले पो गरेको हुँदैन र एक बार आफ्नो जिन्दगीमा कोही कसैलाई एकतर्फी नै भए पनि प्रेम?
विद्यालयको प्राङगणमा आफ्नै कपडा सम्हालेर हिँड्न नसक्ने त्यो कलिलो उमेरदेखि कलेजका ती स्वर्णिम दिनहरुसम्म आइपुग्दा कयौं बार कयौँसँग माया-पिरतीको खेलमा परेकै हुन्छन् आजका युवायुवती। त्यसैले त भनिन्छ नि, हिँड्दै गर्दा यात्रामा नलडेको बटुवा र युवा अवस्थामा मायापिरतीको खेलमा नपरेका यवायुवती त के युवायुवती? के युवा अवस्था?
भर्खर-भर्खर एसएलसी पास गरेर कलेजका लोभलाग्दा दिनमा हराइरहेको समिर। कक्षा ११ को अन्तिम फिल्ड प्राक्टिकलका लागि पुसको जाडो खाँदै गोदावरी रिसोर्ट पुगेको थियो।
पुसको त्यो चिसो सिरेटोलाई सर्टमाथि लगाइएको युनिफर्मको कोटले धान्न हम्मे-हम्मे परिरहेको बेला लाग्थ्यो मौसम यही भनिरहेछ, 'आज खुब केही सिक्नभन्दा पनि घुम्न र फाइभ स्टारको स्वाद चाख्न आएका यी केटाकेटीलाई यहाँको जाडोको पनि स्वाद नचखाई हुँदै हुँदैन।'
काठमाडौंको कोलाहलबाट केही किलोमिटर टाढै रहेको यो शान्त रिसोर्ट यतिखेर भने जेएमसीका विद्यार्थीको कर्कश हो-हल्लाले एकैछिनमा रत्नपार्क झैँ कोलाहल बन्न थालिसकेको थियो।
कलेजबाट हिँड्नुपूर्व सरहरुले गरेका ती अनुशासनको कडा ब्रिफिङको सक्दो मजाक उडाइरहेका थिए हरेक विद्यार्थी, त्यहाँ। लाग्थ्यो, यी विद्यार्थी यहाँ कोभन्दा को बढी होहल्ला गर्न सक्छ भन्ने प्रतिस्पर्धा गर्न आएका हुन् र गरी पनि रहेका छन्।
त्यही कोलाहल भिडको एउटा कुनामा ठूलो-ठूलो स्वरमा हाँसोको फोहोरा छुटाउँदै 'म पनि छु है!' भन्दै हो-हल्ला गर्न व्यस्त थिई एउटी केटी। जो जेएमसी कलेजकै भए पनि समिरको नजरमा भने आज पहिलो पटक परिरहेकी थिई।
ठूला-ठूला आँखा, हल्का थेप्चिएको नाक, बाटुलो मुहार, गहुँ गोरो वर्ण, अन्दाजी ५.३ फीट जति अग्लि। जे होस् बिछट्ट राम्री त हैन, तर उसको त्यो हाउभाउ र रुप खुब मिलेको देखिन्थो।
केही बेरको कर्कश होहल्लापछि सरहरुले पूरा कलेजका विद्यार्थीलाई काक्रो बाडे झैँ चिरा-चिरामा बाड्दिनु भयो र हरेक चिराका लागि एक-एक जना टिम लिडर बनाइदिनु भयो। संयोग पनि कस्तो, सायद यसैलाई भनिन्छ होला सर्प्राइज। त्यो अघिसम्म खुब मच्ची-मच्ची हल्ला गर्ने केटी यतिखेर भने समिरकै टिममा परेकी थिई।
एउटै टिममा भएपछि प्राक्टिकलका क्रममा उनीहरुबीच बारम्बार बोलचाल भइरह्यो। करिब दुई घण्टाको होटल, गेस्ट, बार, क्यासिनो अनि उही परम धर्म हस्पिटालिटीको प्राक्टिकलपछि केही बेरको सानो भलाकुसारी उनीहरुबीच परिचय आदान प्रदान भयो।त्यसरी भेटिएका हुन् दुई मनुवा।
त्यस दिनपछि हरेक दिन कलेजमा एकअर्कालाई भेट्नु, क्यान्टिनमा पनि सँग-सँगै खाजा खानु र बेलुकी अनलाइनमा घण्टौँसम्म गफिनु उनीहरुको दैनिकी बन्नपुग्यो।
उनीहरुको मित्रता र पढाइ आफ्नै गतिका साथ अघि बढिरहेको थियो। यता समिर भन्ने मनको कुनै भित्री कुनामा स्मृतिलाई साथीभन्दा अझ माथि भनौँ, जीवनसाथी नै सोच्न थालिसकेको थियो।
तर स्मृति र समिर दुवै यो विचार बारेमा खुल्न भने पटक्कै सकेका थिएनन्। यसरी नै बिते करिब डेढ वर्ष उनीहरूको। एकअर्काको असल साथी भएर नै।
समयको अनन्त यात्रासँगै आए परीक्षा, प्राक्टिकल र भाइबा दिए, सक्दो राम्रो गरेर। आयो रिजल्ट पनि १२ को। दुवै फस्ट डिभिजनमा पास भए। त्यसको केही दिनपछि भेटिए बानेश्वरको एउटा क्याफेमा। दिए बधाई एकअर्कालाई आफ्नो रिजल्टको श्रेय सहित।
आमनेसामने भएर कफी पिउँदै गर्दा एक्कासी स्मृति बोलिन्, 'के छ त समिर तिम्रो नेक्स्ट मुभ?'
समिरले झट्टै बुझ्न सकेन उनको त्यो अप्रत्याशिलो प्रश्न र भन्यो, 'ह्वाट?'
उनले थपिन, 'आई मिन, के गर्छौँ अब? १२ त सकियो।'
समिरले आफ्नो हातमा भएको कपलाई टेबलमा राख्दै टाउको हल्का उठाउँदै गर्यो, उल्टो प्रतिप्रश्न, तिमी ... नि...?'
उसले मुसुक्क मुस्कुराउँदै भनि, 'अष्ट्रेलिया जान्छु पढ्न, सबै फिक्स नै छ, अब मात्रै कन्सल्टेन्सीको प्रोसेस गर्नुछ। त्यसपछि बाई-बाई काठमाडौँ अनि विशेषगरी बाई-बाई तिमीलाई।'
यति भनेर एक झमट मन खोलेर हाँसी ऊ। समिर भन्ने एक्कासी नसोचेको यी कुराले अचम्मित भैरह्यो। उसको मस्तिष्क वैशाख १२ गतेको भूकम्प पछिको सन्नाटा झैँ भैरह्यो।
त्यस दिन जसोतसो उसको प्रश्नबाट बच्न अब बिएचएम गर्छु भन्दियो र छुट्टियो त्यहाँबाट। त्यसै दिन मात्रै थाहा भयो, ऊ त आफ्नो भविष्यको योजना नै नबनाई हावामा उडेको पतिङ्गर झैँ बेमतलब उडिरहेको रहेछ।
यता भविष्यमा अब के गर्ने भन्ने दबाब। उता आफ्नै पोल्टामा रहेकी स्मृति, जो उसैलाई र उसको मायालाई बेमतलब गरी यो विशाल आकाशगंगामा आफ्नो सपनाको उडान भर्दै थिई। एक्कासी उसलाई यो जिन्दगीले एउटा ठूलो धक्का महसुस गरायो। स्मृतिको त्यो एउटा सानो 'ह्वाट द नेक्स्ट मुभ' भन्ने पुच्छरे प्रश्नले।
त्यस रात मनमा अनेकौं विचारको हुरी बतास चलिरह्यो। एक हुल विचारधारा आउँथे, एकैछिन मस्तिष्कमा रुमलिन्थे र लापत्ता हुन्थे। फेरि अर्को एक हुल विचार ठेलमठेल गर्दै फेरि प्रवेश गर्थे। त्यस दिन आधा रातसम्म जति नै बल गर्दा पनि आँखामा निद्रा पटक्कै आउँदै आएनन्।
गोदावरी रिसोर्टमा भएको स्मृतिसँगको त्यो पहिलो भेटदेखि आजसम्मको तमाम घटना परिघटनाहरु जो उसका लागि मात्रै भए पनि प्रेमिल थिए। सम्झिरह्यो रातैभर- यति नजिकै यत्रो समयसम्म सँग-सँगै हुँदा त आफ्नो मायाको हाउभाउसम्म देखाउन नसकेको मैले अब कोसौँ-कोस टाढाको दूरीमा रहने स्मृतिलाई कसरी आफ्नो माया देखाउन सकुँला र?
त्यसमाथि उसको मनमा मेरा बारेमा त्यस्तो केही विशेष नरहेको बुझ्दा-बुझ्दै। किन देखाउँ उसलाई आफ्नै मनमा लुकाएर राखेको उसै प्रतिको एकतर्फी प्रेम। जो केही दिनमै बेमतलब मलाई नै छाडेर उड्दै थिई।
अन्तत, आज ७ वर्ष भैसकेछ स्मृति विदेशीएको अनि समिरले आफ्नै पहिलो प्रेमको गर्भमै हत्या गरेको।
आज शनिबार। बिदाको दिन। बिहान अलि अबेर उठेर श्रीमतीले टि-टेबलमा राख्दिएको कफी पिउँदै फेसबुकको भित्तामा सरसर्ती आँखा डुलाउँदै गर्दा एक्कासी रोकिन्छन् उसका आँखा र औँलाहरु। उनै स्मृतिको विदेशी भूमिमा नेपाली दुलहीको पहिरनमा सजिएर पोस्ट गरेको विवाहको तस्बिर देखेर।
अचानक देखा परेको यो तस्बिरले समिरलाई पुर्याइदिन्छ एकझमट गोदावरी रिसोर्टदेखि बानेश्वरको अन्तिम कफी गफसम्म। भलै, यी सात वर्षमा दुवैको जिन्दगीले धेरै बाटो हिँडिसक्यो। सुनकोसी र इन्द्रावतीमा कयौं क्युबेक लिटर पानी बगिसक्यो तर पनि समिर उनै स्मृतिसँग बिताएका तिनै दिनहरु सम्झिरहेछ विगतका तिनै चोक र गल्लीहरुमा कहिल्यैकाहीँ पुग्दा।
यी तमाम अतीतका सम्झनाका झ-झल्काहरुबाट एकैछिन आफूलाई हटाएर कमेन्टमा यति लेख्छ समिर, 'ह्याप्पी म्यारिड लाइफ स्मृति, गड ब्लेस यू।'