तिमी टाढा हुँदा तिमीले मलाई मिस गरेको
तिमीले भनेपछि थाहा पाएँ
पार्टीहरुमा साथीहरुको युगल जोडी देखेर
तिमीले मलाई मिस गरेको थाहा पाएँ
मन्दिरमा एक्लै पूजा गर्न जाँदा
तिमीले मलाई मिस गरेको थाहा पाएँ
हिजोको तिम्रो फेसबुक स्टाटसमा
आई मिस यू अ लट लेखेको देखेर थाहा पाएँ
तिमी मात्र एकल जोडी भएकोले फोटो खिच्न मन नलागेपछि
तिमीले मलाई मिस गरेको थाहा पाएँ
चाडबाड, भोजभतेर, पर्वमेला, आफन्त साथीसंगी भेटघाट हुँदा
तिमीले मलाई मिस गरेको थाहा पाएँ।
म पनि कति बुद्धु छु तिमीले मिस गरेँ भनेर
सुनाउँदा मात्रै मेरो मनले थाहा पाउँदो रहेछ
हुन त मिस गरेको थाहा पाउन मिस नगरेको बेलाको
सम्बन्ध सृजित प्रेम आधार हुँदो रहेछ
व्यवहारमा करुणा, माया, दया, ममता र वात्सल्यता
घुलाएको छ भने प्रेम अमृत हुँदो रहेछ
त्यस्तो प्रेमीहरुले सधैँ नै आई मिस यू अ लट भन्दै
ओल्टो-कोल्टो फेर्दै सुस्केरा हाल्नै नपर्ने रहेछ।
मैले पनि तिमीलाई मिस गरेको कुरा अनुभूत हुन्छ कि भन्छु
लाग्छ बुझाउन पो सकिनँ
सायद मेरो मिसिङका बखतहरु तिम्रोभन्दा
अलिक फरक छन् सुझाउन पो सकिनँ
शब्दहरुमा प्रयास केही गर्दै छु कि
तिमीलाई प्रेम रुपी मिसिङ सुनाउन सक्छु कि भनेर
प्रेम र मिसिङको अन्तर घुलन बारे मेरो विचार पोखी
मिसिङ दर्शाउन सक्छु कि भनेर।
तिमी घटनामा मलाई मिस गर्छौं
म घटनाभन्दा अगावै तिमीलाई मिस गर्छु
तिमी साथ छुटेपछि मलाई मिस गर्छौ
म साथसँगै हुँदा नै तिमीलाई मिस गर्छु
तिमी टाढा हुँदा मलाई मिस गर्छौ
म तिमीसँगै हुँदा नै तिमीलाई मिस गर्छु
तिमी काम पर्दा, दु:ख पर्दा, एक्लै हुँदा मिस गर्छौ
म केही नपरी नै तिमीलाई मिस गर्छु।
तुलोमा तौली-तौली गरेको प्रेमले तत्काल आनन्द
आएजस्तो भए पनि अन्तमा आफैलाई पिर्दो रहेछ
अरुहरुले देखून् मात्र भनेर देखाउन गरिएको प्रेम मन्चनले
मिसिङको तारलाई ओझेलमा पार्दो रहेछ
मिसिङको तार नै ओझेलमा परेपछि मिसिङको संचारमा
गडबडीसहित खटपटी आउँदो रहेछ
खबर पठाउनेले त मिसिङ भएको खबर पठाए पनि
खबर पाउनेले पूर्ण अनुभूत गर्न नपाउँदो रहेछ।
सँच्चा प्रेममा सँच्चा मिसिङ हुँदो रहेछ
सच्चा प्रेमको ऐना व्यवहार
नाफा नसोचेको लगानीको नाफामै रहेछ
परम आनन्दको संसार
प्रेम लगानी हो, प्रेम नाफा हो, प्रेम खुद मौजात हो
निस्वार्थ प्रेम गर्नेलाई
प्रेम नै विष हो रहेछ नाफा र घाटाको
हिसाब राखी-राखी प्रेम गर्नेलाई।
मिसिङ एउटा अनुभूति हो रहेछ
जो खास वातावरणले सिर्जना गर्दो रहेछ
भिन्न व्यक्तिमा भिन्न व्यक्तिको लागि
भिन्न क्षणमा भिन्न तबरले हुँदो रहेछ
टाढा हुँदाको मिसिङको अनुभूत मिसिङ गरुन्जेल
क्षणमाभरको हुँदो रहेछ
साथसाथै हुँदाको मिसिङको अनुभूत
अगाध गाढा आनन्द र स्वर्गीय हुँदो रहेछ
साथ हुँदा मिसिङको अनुभूत गर्न सक्नेले
साथ नहुँदाको मिसिङलाई अनुभूत गर्न नपर्ने रहेछ
साथ हुँदाको मिसिङको अनुभूत गर्न सक्नेले
आलौकिक प्रेमको साक्षातकार गर्न पाउँदो रहेछ।
तिमीलाई सम्झी-सम्झी गरेको मिसिङभन्दा
नसम्झी-नसम्झी गरेको मिसिङको बेला आई मिस यू अ लट
स्वार्थलाई स्थान नै नदिई निस्वार्थ भावमा बेसर्त गरिएको
प्रेमिल सम्बन्धको बेला आई मिस यू अ लट
छुट्टिएर बसेको बिछोडको पीडामा तड्पिँदाको भन्दा
नछुटिएको बेला प्रेम भावमा आई मिस यू अ लट
प्रेम, दया, माया नै जीवन हो भन्ने सम्झी सावाँ-ब्याजको
बेहिसाब प्रेम गरेको बेला आई मिस यू अ लट।
त्यसैले त…
टाढा हुँदाको मिसिङमा भन्दा
साथ हुँदाको मिसिङमा आई मिस यू अ लट
आई मिस यू अ लट।