बलिरहेको आगोको ज्वालाको छेउमा
निभेको दियोको महत्त्व
बल्नै नपरेको आगो अनि
निभ्नै नहुने दियो
दियो आफै निभेर लगाएको आगो थियो त्यो
बाबा,
तपाईंको चिताको आगो
जसले पोलिरहेको थियो तपाईंको शरीरमा
अनि बाँच्नेहरुको मनमा
धेरै आँसु धेरैको बगेको थियो
भेल बनेर
तर त्यो भेलले निभाउन सकेन कसैको मनको आगो
महसुस हुँदैछ
सँगै नहुनु र हुँदै नहुनुको फरक
नसम्झिनु र सम्झिएर रुनुको फरक
सँगै नहुँदा पनि आश थियो
कहीँ त हुनुहुन्छ भन्ने एउटा विश्वास थियो
घरीघरी त लाग्छ
अझै पनि हुनुहुन्छ यही दुनियाँमा
कहीँ कतै पिछडिएको बस्तीमा
सृजनशील उद्देश्यको झोला बोकेर
पर्यटनको सम्भावना भेट्न
हराउनु भएको होला
छिट्टै उज्यालो बनाउने सपना बुन्दै
त्यहाँको अन्धकार मेट्न हराउनु भएको होला
तर बाबा
झसङ्ग हुन्छु र थाहा हुन्छ
उज्याला मेरा सपनाहरुमा
बज्रिन्छ एकाएक अध्यारो मृत्युको खबर
कहाँ बिर्सन सकुँला र म
आफ्नै आँखा अगाडि दन्किरहेको चिताको आगो
जसले जलाइरहेको थियो
हजुरसँगै जोडिएका कयौं रहर
अनि कृषि पर्यटन क्षेत्रको एउटा धरोहर हजुर
कसले सोचेको थियो र बाबा
जीवनमा कहिल्यै नथाक्ने मान्छे पनि
एकदिन जीवनबाटै थाक्छ भनेर
त्यो पनि यति चाँडै
बाच्न चाहने मन अनि साथ नदिने मुटु
मन र मुटुकै द्वन्दको चपेटामा निर्जीव बनेको शरीर
तपाईंले विश्वास गर्ने विज्ञान र प्रविधि
अनि तपाईंको जिउने कला र
प्रकृतिले पनि निभाउन नसकेको आगो
हुन त आगो नै हो नि
तर पनि धेरै फरक रहेछ
बल्नु अनि जल्नुमा
बलेको थिएन, जलेको थियो त्यो
दन्किरहेको आगोको ज्वाला
जसले खरानी बनाउँदै थियो
तपाईंको सपना मात्र होइन
हाम्रो जीवनको प्रेरणाको पात्र पनि
साँच्चीकै धेरै फरक हुँदो रहेछ
बाबा, जीवनमा हुनु र मात्र मनमा हुनुमा
बाहिर निस्किनुछ आफ्नो सपनाबाट
तपाईं हुनुहुन्छ कि भन्ने सपनाबाट
अनि पूरा गर्नु छ तपाईंले देखेका सपना
जुन हाम्रा लागि थिए
उद्यमशील समाज निर्माणका लागि थिए
ग्रामीण विकासका लागि थिए
कृषि र पर्यटन क्षेत्रका लागि थिए
देशका लागि थिए
अब ती हाम्रा सपना भएका छन्
तपाईंका लागि देखेका सपना
जसले जलाउने होइन, बलाउने छन् बाबा
तपाईंले देखेको सपनाजस्तै
तेल हुँदा-हुँदै बल्न बिर्सिएका सम्भावनाका प्यालाहरु
कृषि र पर्यटनको क्षेत्रमा आशाका उज्यालाहरु।