बवंन्डरमा उडेका
बवंन्डरमा बगेका
ती हरिया, सुकेका
च्यातेका, झुत्रेका
पूरा, आधा पातहरुमा
आफूलाई पाए
कहिले शान्त जमिनैभरि फैलिएको
चुपचाप जिउँदो लास
बवंन्डरको साथ पाउँदा
देवताझैँ ठानि आकाशमा उड्दछ
त्यो निलो विशाल गगनलई चुम्न खोज्दछ
हेर समयको खेल, ईश्वरको लिला
बवंन्डरले केही क्षण, दूर केही पलमै
टुहुरो बनाई छोड्दछ
ईच्छा आकांक्षा गगन चुम्ने
तित्तर-बित्तर हुन्छ धर्तीमा पछारिँदा
जो कमजोर छन् उसको अस्तित्व मेटिन्छ
ऊ पूराबाट आधा
आधाबाट टाक्रा-टुक्रा हुन्छ
टुक्रा-टुक्रा भई माटोमै बिलाउँछ
बलिया आफ्नो अहमको आडमा
गगनचुम्बी उद्देश्यमा अडिक रहन्छ
कयौँ दिन र रात कट्छ
बवंन्डरको प्रतिक्षामा
हे दैव तेरो लिला अपरम्पार
तर
बुझिनँ मैले, मेरो बुद्धिले बुझेन
तेरो लिलाको यो खेल बुझिनँ
सुन्दर वनस्पति, सुन्दर जनावर, चराचुरिङ्गी
किरा फटेङ्ग्रा, सुन्दर मनुष्य, सुन्दर संसार
सुन्दर ब्रह्माण्ड
तर,
किन रचेको यस्तो लिला
सुन्दर हृदयमा किन रिस, राग, घृणा, लोभ, अहङ्कार
तेरो लागि यो जीवन यो जिन्दगी लिला
एउटा खेल होला
तर मेरो लागि बरदान हो
मेरो बरदानमा किन सराप मिसाइस्
भन् तलाई मेरो प्रश्न छ 'ईश्वर'
मेरो आत्मालाई जन्मने अनुमति किन दिइस्
कि ख्याल-ठट्टा, मनोरञ्जन र हाँसी मजाकमै
धर्तीमा पठाइस् मलाई
उत्तर दे विस्तृत रुपमा
मेरो प्रश्नको उत्तरको व्याख्य गर्
सङ्केत दे, इसारा गर्
बाटो देखा केही गर्
नत्र तेरो खेल, तेरो लिला अब आजै यही पलमै समाप्त गरिदिन्छु
म मेरो
देह, मस्तिष्क, हृदय र आत्मालाई मारिदिन्छु
कान खोलेर सुन्
यो हार मेरो हैन
तेरो सिर्जनाको हुनेछ।