सपना बोकेका मेरा झोला र किताबमा
मेरा हरेक पढाइका रटान रटिएका छन्
अगाडि ग्याँसको चुलोले खिल्ली उडाउँदामा
म मौन भई किताबका पानामा मन डुलाउँदै छु
मेरा तीन दिनदेखिका भाडा जुठानमा
मेरी आमा र बाबा खेती गर्दैछन् गाउँघरमा
म सहरको एक ठूलो घरमा एक सानो कोठामा
मेरो कोठा भित्री रचिएका छन् भविष्यको मिठा आशामा
हजार बार घोक्दा पनि याद नभएका मेरा मस्तिष्कका पानामा
फेरि सम्झिन्छु बाबा-आमाले पठाएको चामल भित्रको पैसाको बिटोमा
मेरा कपडा गनाएका छन् धुने फुसर्द नहुँदामा सरकारी जागिरको चक्करमा
भैँसी बेची पठायौ नि बाबा मलाई पढाउन भनी
आधा पेट खाएका छौ छोरा ठूलो भई भविष्य बनाउला भनी
म पनि त्यस्तै भाछु, मकैको पानीको भरमा
कसैले पकाउँदा अल्छी लाग्छ कहिले आधा पेटमा
कहिले बासी भात र अचारको साथमा
बाटोमा हिँड्दा ठोकिन्छु, कसैले बोलाउँदा झस्किन्छु
माया बसे झैँ छ किताबको पाना-पानामा सधैँ म त्यही गएर रोकिन्छु।
साथीभाइको रवाफ हेर्दां मलाई पनि रहर लाग्दो हो नि
आज मेरा दिन छैन भोलि पक्कै आउँदो हो नि?
सहरका गल्ली-गल्ली देख्छु केही विद्यार्थी पढेको छु भनी
बाबा-आमाको आँखामा छारो हाली जीवन बिन्दाश पारी
रुवाउने नगर है साथीभाइ बाबाआमालाई अब यसरी।
सन्देश तिमीलाई छ उमेरसँगै उज्वल भविष्य बनाउनु छ
आज कोठीको बास होला तर भोलि महल बनाउनु छ
मेरा पुराना मोजाहरु फेर्नुछ, बाबाका लागि सानो संसार बनाउनु छ
दिनरात नभनी काटेका पलहरुलाई सन्तुष्टसँग सुत्नु छ
तर नाम निस्किए धेरै पटक परीक्षामा अन्तर्वार्तामा हार्नु छ
घुसपेठले आज मेरा भविष्य कार्ने कलमहरु रोकिँदैछ
अब सपनालाई बिट मार्दै नेपालबाट बाहिरिनु छ।
सक्छौ भने सरकार एउटा गुट बनाइदेऊ
सानो जागीर खानलाई नेपालभित्रै मिलाइदेऊ
सबैलाई घातक मानसिक पीडा नबनाइदेऊ
एउटा स्वतः रुपमा भ्याकेन्सी खुलाइदेऊ
ती बौद्धिक रुपमा सक्षमहरुका लागि अब बाटो बनाइदेऊ
अनि बन्छ नेपाल र नेपालीका सान
अनि मिल्छ सरकारप्रति नेपालीको ध्यान।