प्रेम र बलिदानको भाषा बोल्नेहरू
बीच बाटोमै हराएको देखेँ
मरिमेटी माया गर्छु भन्नेहरूले
केतुकेका पात अनि ढुंगा-माटाहरूमा लेखे
सच्चा प्रेम गर्छु भन्ने जोडीहरू नै
कोही बने कवि अनि केही गायक
लैला और मज्नुको सिको गर्नेहरू समेत
उदाहरण बने इतिहासमा नालायक
प्रेम रोमान्स स्नेह भावना समेटिएको
व्यक्तिगत लगाव अनि हो प्रगाढ माया
अनमोल आनन्द अनि गहन छ अर्थ
प्रतिबिम्ब भनौं या यसैको प्रतिछाया
आफैंमा अर्थपूर्ण छ यो शब्द
बुझ्न खोजे संसार भेटिन सक्छ यसमा
बुझ्नु पर्छ, जुझ्नु पर्छ यसलाई पाउन
आध्यात्मिकतामा अंगाली परीकै भेषमा
खुसीकै रूपमा सोची मनन गर्न सके
आनन्दको उज्यालो बल्ने गर्दछ
जीवनलाई सहज रूपमा बुझ्न खोजे
मन-मस्तिष्कमा कोपिला फल्नै पर्दछ
चिन्ता र चिता एउटै हुन् भनेर बुझ्नेहरू
हिँडे आध्यात्मकै पथमा
ज्ञान ध्यान र योगाकर्म गर्न जान्नेहरू
रमाउँछन् यसकै लतमा
खुसी हुन् किन चाहियो र धेरै
मन-मस्तिष्क स्थिर भए मात्रै हुनेछ
मनोविकार हटाई रिस, राग अनि क्रोध
मनबाटै मिल्काए भित्रैबाट छुनेछ
जीवन बुझेकाहरू खुसी हुन्छन् यहाँ
हुँदैन कुनै ठूलो चाहाना
चिन्तालाई चिता सम्झिनेहरूका लागि
अनेक जन्मिन्छन् बहाना।