हिँडेको हुँ
सफलताको भोकले
पुग्नुको अभिलाषाले
प्राप्तिको कामनाले
पूर्णताको मनोरथले
काम र सुस्केराहरु
भारी श्वासहरु
प्रार्थना र त्यागहरु
अङ्गालेर
बहिष्कार गरेको हुँ खुसीहरु
आफ्नै जीवनको पानाबाट
मेटाएको हुँ भाग्यरेखा
कर्मको कठिनताले
जीवनको सुगन्ध खोज्दै
हिँडेको हुँ दूर-दूरसम्म
स्वाद चाखेको हुँ पसिनाको
चहारेको हुँ निर्जन बगैंचा
तर
प्राप्तिमा घुलियो निरसता कसरी?
के थाहा बाटोमै छुटेछन्
सयौँ पारिजात अरु
बाटोमा भेटेको हुँ मन्दिर
रक्षार्थ उभिएका आदिन मूर्तिहरु
तर
यन्त्रवत खोजिरहेको हुँ
मेरो ईश्वर
ईश्वर पनि रहेछ कर्मकै आदिन सन्तुष्टि
म जडवत खोजिरहेँ प्राप्ति
मेरो लक्ष्यको घर
अभिलाषा पुग्नुको
हिजै खसेछ जीवनको पर्दा
ढोका थुनेर
आज सन्तुष्ट छैन मन मनसँग
कुल्चेर कस्तुरी आफ्नै पैतालाले
म खोजिरहेँ जीवनको बासना।