निलो अम्बरमा
एक्लै बतासको साथमा
बादलहरु चिर्दै
मजस्तै रङ्गिबिरङ्गी पन्छीसँग
पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण उड्दै
झरी शितल हिउँदमा
बिना रोकतोक डुल्दै
मिठोमसिनो खाँदै, बेग मार्दै
बुन्दै जोड्दै म रमाएको थिएँ
सुन्छु धर्तीमा मजस्तै छ रे
उसलाई सधैं अलग राख्छन् रे
उसको सीप, गुण सबै मिल्छ रे
तर ऊ आफूजस्तै अरुसँग चल्दैन रे
त्यो देख्दा सुन्दा म आत्तिएको छु।
उसको आँगनको चारो
दिनहुँ हामी खान्थ्यौँ
उसको सीप वरिपरि झुम्मिएका धेरै देख्थ्यौँ
न हामी मर्यौं न उसको सीप मार्यौं
मर्ने त केवल उसको जात रहेछ
पछिल्लो दुई/चार शब्द रहेछ।
कतै आकाशमा त्यो रोग सर्ने त होइन?
हामी पंक्षीबीच दूरी बढ्ने त होइन?
कस्तो संस्कार, विवेक नभएको
कस्तो परम्परा तोड्ने टुक्राउन पल्केको
म चरा भएर झस्किएको छु
अवस्था सुन्दा भक्कानिएको छु।
ती मान्छेलाई कस्तो हुँदो हो
आफूजस्तै अर्को आफूले नसम्झिँदा
कति बिझ्याउँछ होला, कति पोल्छ होला
आफूजस्तै अरुले भिन्नै देख्दा छुट्याउँदा
एकपटक ऊ भएर महसुस गर कथित उच्च जात
हे मानव तिमीलाई
त्यतिकै मान्छे भनिएको होइन
भनेको मान्ने बुझ्ने भएर मान्छे भनिएको हो
संस्कार सभ्यता होला भनेर मानव भनिएको हो
तर विडम्बना तिम्रो सामाजिक चरित्र देख्दा
कसरी तिमी विवेकशील?
हामी चराचुरुङ्गी तिमीभन्दा
हजारौं गुना विवेकशील
हामी साथ चिन्छौँ, जात चिन्दैनौँ
हामी खुसी चिन्छौँ, बाड्छौँ
स-सानो चारो बाड्छौँ
र त बिना संकोच मज्जाले उडान भर्छौं।
तर मान्छे विचित्रको
जसको रगतको जात हुनेरहेछ
साथको जात हुनेरहेछ
मित्रताको जात हुनेरहेछ
धर्मभित्र मर्म नभएको जात हुनेरहेछ
मान्छेको जातको मान्छे होइन र?
मान्छेको धर्म मानवता होइन र?