रौतहटदेखि म काठमाडौँ पढ्नका लागि आएको थिएँ। यदि यहाँ आएर मेरो मृत्यु हुन्छ भन्ने थाहा पाएको भए, म यहाँ आउने नै थिइनँ। घरै नजिकैको कलेजमा पढ्ने अवसरलाई च्याट्टै छाडेर आएको सराप लाग्यो।
'ए सुशील के बाबु! तोहर बेटा पढे में तेज बा। यी निम्न कर सकीं ना होई त पेठा ना द काठमाडौं' भनेर आमाले मलाई काठमाडौँ पठाउन बुवासँग भनेको कुरा अझै मेरो मानसपटलमा स्मरण भएर बसेको छ।
जवाफमा बुवाले, 'महंगा जगह बा, लेकिन बेटा के खातिर हम कौनो भि काम करेम। हम त ना पढे सक्नी, लेकिन हम अपना बेटा के पढाएम। अब त एकरे आश में जीवन बितावे के बा' भन्नु भएको थियो।
ऋण खोजेर भए पनि म मेरो छोरालाई पढाउँछु भन्ने अठोट थियो मेरो बाबुमा। त्यही प्रेरणा र हौसालाले भौतिक र शैक्षिक स्थर अब्बल भएको संस्थामा पढ्ने मेरो रहर पूरा गरिदिनु भयो।
तर एक्कासी कलेजबाट 'तिम्रो छोरा अब यो संसारमा नै रहेन' भन्ने खबर गएपछि मेरी आमाको मनमा के बित्यो होला? म कल्पना पनि गर्न सक्दिनँ। मेरै पढाइको लागि भनेर दिनरात मेहनत गर्नुभएको मेरो बुवाले म मरेको खबर पाएपछि के गर्नु भयो होला? प्राणभन्दा पनि प्रिय छोराको शोकमा कति आँसु बगे होलान्? म सोच्न पनि सक्दिनँ। उहाँहरु दुवैको सपनामा कालो बादल मडारियो। आशाहरु सबै मरे। उत्साहहरु सबै सेलाए।
बुवाआमाका सबै पिर र व्यथाहरु मेरो काँधमा बिसाउन चाहन्थेँ। तर आज मेरै कालको पिर उहाँहरुले काँधमा लिनुपर्ने अवस्था आयो। मेरा भगवानरुपी आमाबुवालाई समस्याले जीवनमा अँध्यारो ल्याउँदा उज्यालोको प्रकाश छर्ने चाहना थियो। तर यो चाहनामा मात्र सीमित भयो। हकिकतले जो परिणाम देखायो। अफसोस बिहान आँखा खोल्दा उहाँहरुले मलाई पाउनुहुन्न। भित्तामा फूलमाला पहिरिएर टाँगिएको फोटो पाउनुहुन्छ। त्यो फोटो देख्दा मेरी आमाका बलिन्धरा आँसुले मलाई हरपल सम्झिने छन्।
कक्षामा सरले 'कार्बन मोनोवक्साइडले सास फेर्न गाह्रो बनाउँछ र मृत्युकै मुखमा ढकेल्छ। त्यसैले ग्यास गिजरलाई अक्सिजन पाइने प्रयाप्त ठाउँमा राख्नु पर्ने' कुरा भन्दा खुब चाख लिएर सुनेको थिएँ। तर नभन्दै त्यही ग्यास गिजरले मेरो काल भयो। किताबमा भएको ज्ञान मेरा कलेजका प्रशासन तथा व्यवस्थापकको दिमागमा रहेनछ भन्ने त यसै थाहा पाउन सकिन्छ।
एक महिना अगाडि अभय मेहतालाई पनि यस्तै भएको थियो। तर उनी धन्नले बाचेका थिए। हामीलाई पुनः यस्तो नहोस् भनेर प्रशासनमा पत्र बुझाएको, नबुझाएको झैँ गरिदिए ठूलाबडाले। हुन त ठूलाबडाले चलाएको देशमा यो हुनु त सामान्य हो। बेलैमा उत्पन्न भएको समस्यलाई हल गर्न लागेको भए आज म जीवित हुने थिएँ।
आज 'उनी विद्यार्थी विज्ञानको तर त्यही विज्ञानले उनको काल लियो' भनेर समाचारहरु छापिँदै होलान्। लापरबाहीकै कारण मैले ज्यान गुमाएको हो भनेर साथीहरु आन्दोलनमा होमिँदै होलान्। मेरो न्याय र क्षतिपूर्तिको माग गर्दै अभियान्ता सडकमा उत्रिँदै होलान्। एउटा कुरा निश्चित छ, म फर्केर आउने छैन। मुस्किलले मानव जीवन पाएको थिएँ, त्यो पनि गुमाएँ।
मर्नुभन्दा अगाडि अल्बर्ट आइन्सटाइन, थोमस अल्भा एडिसन आदि ठूला-ठूला वैज्ञानिकले जस्तै खोज र अनुसन्धान गर्न चहान्थेँ। मान्छे अमर हुने औषधि बनाउने लक्ष्य बोकेको थिएँ, आज अकालमै मरेँ। मेरो यात्रा यहीसम्म मात्र रहेछ।