'मम्मी, बाबा कति कठोर हुनुहुन्छ नि है?'
छोरीको आशय थियो, यो उनले शब्दमा नै व्यक्त गर्छिन्। सुनेको यो शब्दले एकपटक आमाको मन सोचाइमा पर्नु स्वभाविक नै थियो। तर वास्तविकता के थियो उनको प्रष्टता पनि आउनै थियो।
केही बेरको मौनतापछि छोरीले थपिन्, 'फेरि अरुलाई जति नै पिर, चिन्ता हुँदा नि आँसु नझार्ने कठोर पनि हुनुहुन्छ नि बाबा त है मम्मी?'
आमाले अब मौनता तोडिन् र भनिन्, 'हो नानी, लोग्ने मानिसहरु यस्तै कठोर हुन्छन् अरु पनि।'
'हाम्रा बाबाजस्तै? सबै त होइन होला नि।'
'हो छोरी, लगभग प्रायः लोग्ने मानिसहरुहरुको विशेषता हो यो।'
यसरी भनिन् कि मानौँ उनले संसारको कुनै लोग्ने मानिसहरुको मनोविज्ञान र शास्त्र अध्ययनका लागि बाँकी छैन अब।
'अनि मम्मी, यति थाहा हुँदा-हुँदै पनि यिनीहरुको सामीप्यता जरुरी किन छ फेरि?'
'सृष्टि धान्न।'
आमाको छोटो जवाफको मतलब बुझेकी छोरी किताब बोकेर कोठा तिर लाग्छिन्। आमा आफ्नो काममा।
केही बेरमा 'छोरी चिया खान आऊ,' मधुर र मिठो बोलीले आमाले बोलाइन्, 'छोरा, तिमी पनि आऊ है छिटो। मम्मीलाई काम गर्नुपर्छ फेरि।'
आमा, छोरी र छोरा सँगै बसेर चिया-नास्ता खाँदै गर्दा छोराले सोध्यो, 'मम्मी, बाबा कहाँ जानुभएको हो?'
'थाहा छैन छोरा, तिम्रा बाबाको काम के हो? कहाँ जानुहुन्छ? न समयमा खान आउने हो न घर परिवारको मतलब छ। यस्तै छ।'
छोरा चुप लाग्छ। मनमा अनेकन प्रश्नहरु राख्दै मम्मीको दुःखलाई थप गर्न नचाहेको छोराले बाबाको प्रतिक्षा गर्छ।
आमा घाँस काट्न हिँडिन् छिमेकी अन्टीसित।
'ए बरै! अरुका स्वास्नीहरुलाई जे गरे नि भएकै छ, हामीलाई कति दुःख हो!'
'भाग्यमा पनि लिएर आएकै हो ठूली, हेर न दिन घुम्न न घर बाहिरको खान। हामी त यसै गरेर जीवन बिताउने त होला नि,' थपेर कुरामा कुरा मिलाउँदै घाँस काटेर घरमा आउँदा पनि श्रीमानको कुनै अतोपत्तो छैन।
'नानी, बाबा आउनुभयो? '
'छैन आमा।'
'यति बेलासम्म त काम सकिन पर्ने हो,' आमाले थपिन् फेरि।
केही बेरमा घाम डुबेको थियो होला, बाबा भोकले टाट पर्दै घरमा आए। आशा गरेका थिए घरमा नास्ताको तयारी त छ होला। होटलमा नै खाने कुरा पनि चलेको थियो तर एक सय रुपैयाँको खाजाले त घरका सबैलाई पुग्छ भनेर घरमा आएका उनलाई आउनासाथ छोराले 'यतिखेरसम्म कहाँ जानुभएको बाबा?' भनेर चर्को स्वरमा सोध्यो।
'अफिस बाबु' उनको सालिन उत्तर थियो यो।
'आमाले घरमा कति दुःख पाउनु भाछ एक्लै,' छोराले थप्यो फेरि।
'तिमीहरुले सहयोग गर्नुपर्छ नि फुर्सदमा,' बाबाले फेरि भन्नुभयो।
छोरीको मनमा पनि हुँदो हो यस्तै कुरा तर उसले व्यक्त गर्न सकिन। आमा पनि काममा नै व्यस्त भइन्, उनले घरको काममा सघाउन थाले।
'नानी, बाबालाई चिया बनाइदेऊ,' आमाले भनिन्।
बाबाले 'पर्दैन छोरी, पढ भो। मैले चिया-नास्ता सब खाइसकेँ,' जवाफमा बाबाको वाक्य थियो।
'यही भएर त हो नि आफ्नो पेट भरेपछि अरुको के मतलब?,' आमाको जवाफ।
'पल्लो घरमा बिरामी परे अरे अंकल, छिट्टै जानुपर्यो।'
भर्खर भातले छड्को मार्दै थियो। फाटेका चप्पल पेटे-पेटे पार्दै 'म एकछिनमा आएँ है' भन्दै फेरि हिँडे बाबा।
भात पाक्यो, सेलायो तर उनी आएनन्। एकछिनमा फोनको घण्टी बज्यो, फोन उठ्यो- 'म अलि ढिलो हुनेभयो। तिमीहरु खाना खाएर सुत है।'
यति भनेर फोन काटियो। उता बिरामीलाई हस्पिटल लैजाने तयारी हुँदै गर्दा उनको मृत्यु भयो। हतपत्त सल्लाह हुँदै गर्दा मलामीको कुरा आयो। उनलाई पनि जानुपर्ने भयो। हतार-हतार घरमा गएर खाना खाएर आउने भनेर त्यहाँबाट हिँडे उनी।
घरमा जाँदा सबै सुतेको देखे। अँगेनाको डिलमा खाना त थियो तर उनलाई बल्ल सोचेर बस्ने ठाँउ पाएजस्तै लाग्यो। कसैलाई उठाएनन् बरु एकैछिन त्यही बसेर सोचिरहे। उनी फेरि हिँडे, मलामी बनेर।
हिजो बिहानको हतारको गाँसपछि पानी पनि नपाएको उनको शरीरले कति आलश्यता महसुस गर्नुपर्ने हो तर पनि हिँडिरहे। अन्तिम संस्कार सकेर फर्कंदा उनले पाएको बिस्कुट गोजीमा राखेर आए बिहानपख। सुत्नलाई बिस्तारामा गएर पल्टिएका मात्र के थिए, श्रीमतीले बोलाइन्- 'कत्तिको रहेछन् बिरामी?'
'उहाँ त बित्नु भो, राति नै दाहसंस्कार पनि सकेर भर्खरै आएको।'
श्रीमती बसेर रुन थालिन्, 'विचरा, हिजो त सँगै मेलामा काम गरेको आज त…।'
बाबाको अझै खानाको अत्तोपत्तो छैन। फेरि उठेर काममा जाने सुरसार गरे। श्रीमती आएर सोधिन्, 'तपाईंले त खाना खानु नै भएनछ। के गरौँ, खाना तताम् र?'
'भो पर्दैन, हिजोबाट खाना खानै मन लागेको छैन,' उनले जवाफ फर्काए।
तैपनि फेरि खाना तताएर खान बोलाइन् श्रीमतीले। उनी खान बसे। रातको अनिदो, लगभग २४ घण्टाको भोको पेट, बासी खाना भन्ने पनि नसम्झिएर मस्त खाए।
श्रीमतीलाई थाहा भयो कि उनलाई खाना खान मन त थियो तर भन्न सकेनन्।
न मर्दा रुने, न आत्तिने, न घरमा बितेको मतलब राख्ने। यस्ता कठोर आत्मा भएकाहरु नै लोग्ने मानिस हुँदारहेछन् भन्ने लागेकाहरुले अझै सोचिरहेका हुन सक्छन्, बाबाको त्यो बाध्यता होइन पनि।