म जन्मँदा धर्ती प्रायः सुनसान थियो
न वनस्पति, न कुनै प्राणी, न कलकारखाना
एक्लो महसुस हुन्थ्यो
हेर्दाहेर्दै, वरपरि बुट्यानहरु आए
उराठ प्रकृति हरियाली देखिन थाल्यो
मेरै काखमा स-साना जीवहरु जन्मँदै हुर्कन थाले
विस्तारै बाहिर अन्य जीवहरु पनि देखिए
म कहाँ आउथेँ, प्यास मेटाउथेँ, जान्थेँ
हेर्दाहेर्दै मानवरुपी प्राणी देखिन थाले
हेर्दा अलिक फरक, अलिक बुद्धिमानी, अलिक चतुर
विस्तारै तिनीहरुले चमत्कार नै गर्न थाले
घर, उद्योग, कलकारखाना, विद्यालय, कलेज
मोटरगाडी, जहाज, बिजुली, मोबाइल... के-के हो के-के?
तर ती मानिसहरुको बीचमा मेरो सदैव चर्चा हुन्थ्यो
घरमा, विद्यालयमा, विश्व विद्यालयमा
मेरो जताततै उपस्थिति, सर्वत्र प्रयोग
बिहानदेखी बेलुकीसम्म, जन्मदेखि मृत्युसम्म
घर, मन्दिर, कार्यालय, उद्योग, यातायात, सरसफाई, मनोरञ्जन
जताततै म, अरे वा म!
कसैले बोकेर लान्थे, कसैले डोर्याएर लान्थे
हुन त म फगत पानी न हुँ
काडाँमाथि परे पनि, डाँडाबाट झरे पनि
मलाई कहिल्यै दुखेको महसुस भएन
र कसैसँग केही गुनासो पनि रहेन
तर आज, मानिसले मेरो सहनशीलतामाथि यसरी खेले
मलाई कुरुप मात्र होइन, रोगको घर बनाइदिए
मिसाउन हुने, नहुने सबैथोक मिसाइदिए
विद्यालयमा, विश्व विद्यालयमा मेरै विषयमा पढाइ हुन्छ
मेरै नाममा गोष्ठी सेमिनार हुन्छ
म केमिकल राखिएको बोतलभित्र छट्पटिएर
मेरै बारेमा भइरहेका प्रस्तुतीहरु सुन्छु
राष्ट्रिय, अन्तराष्ट्रिय सम्मेलन, र्याली, अवलोकन भ्रमण
वर्षौंदेखि नियालिरहेछु, मेरो हितमा गरिएका प्रयासहरु
मेरो स्वतन्त्रता, मेरो स्वाधनीता कसले लुट्यो?
मेरो न्याय पाउने अधिकार कसले कुण्ठित गर्यो?
मेरै बहानामा, धेरैले आफ्नो स्तर माथि लगे
म भने झन्-झन् निम्न स्तरको भएँ, दुषित, कलंकित
शिक्षाको खेती मलिलो भो, तर संस्कार धमिलो भयो
आर्थिक चरण उकास्दै लगे, तर आचरण खस्कँदै गयो
यहाँ पात्रहरु मात्र फेरिरहे, प्रवृत्ति कहिल्यै फेरिएन
म सदैव अरुकै लागि भएँ, मेरो लागि किन कोही भएन?