विवश र सानुका लागि अफिसको त्यो संयोगको भेट, कीर्तिपुरस्थित डीमलाइट रेस्टुरेन्टको एक घण्टाको बसाइ र कुराकानी रमाइलो तथा अविस्मरणीय थियो। झिसमिसे साँझमा उनीहरु त्यहाँबाट छुट्टिएर आ-आफ्नो बासस्थानतिर लागेका थिए। विवश पाँगा दोबाटोस्थित कोठामा पुग्दा सब सुनसान थियो। भर्खर लिएका ती कोठाहरुमा खाली-खाली थिए। एउटा कोठामा एउटा बेड थियो, बेडसँग छेउमा स्टडी टेबल अनि उतापट्टि छेउमा सानो दराज थियो।
दराजभरि लोकसेवा तयारीका पुस्तक, नोट र कापीहरु थिए। दराजको एउटा र्याकमा नेपालको संविधान, मुलुकी अपराध संहिता, मुलुकी देवानी संहिता, केही नियमावली, स्थानीय स्वायत्त शासन ऐन, स्थानीय निकाय सम्बन्धी केही नियमावलीहरु र अन्य केही संकलित ऐन संगालोहरु थिए। पुस्तकहरु असरल्ल थिए। लोकसेवा तयारी गर्नेको कोठा प्रायः त्यस्तै हुन्छ।
अर्को कोठामा किचन थियो। केही थाल, भाडाहरु, डाइनिङ टेबल र कुर्सीहरु थिए। उसले पानी तताएर ग्लासमा राख्यो। पानी सेलाउन निकै समय लाग्यो। मनतातो पानी पियो। साँझ सानुसँग रेस्टुरेन्टमा खाजा खाएकोले भोक थिएन। खाना खाने मुड पनि थिएन। उसले केही पकाएन पनि। सुनसान कोठामा बसिरहेको ऊ आज ज्यादै प्रफुल्ल थियो।
वर्षौंपछि सानुसँग भेट भएको मनैदेखि हर्षित थियो। करिब नौ वर्षअघि भएको भेटले उसको जीवनमा तुषारापात ल्याएको थियो। त्यो भेटमा उसले सानुलाई न केही सोध्न पायो न त आफूलाई छोड्नुको कारण नै बुझ्ने मौका पाएको थियो। तर आज उसले सबै कुरा खुलस्त सोध्न र बुझ्न पायो।
अरु कसैकी भइसकेकी एक छोराकी आमा सानुलाई आफ्नो प्रेमिकाका रुपमा नभए पनि एक सुपरिचित साथीका रुपमा भेटेको थियो। मनभरि अनेकौं खुसीका भावनाहरु तछाडमछाड गर्दै उर्लिएका थिए। बेडमा पल्टेर कोठाको सिलिङतिर हेरेर कल्पना गरिरहेको थियो। सिनेमाका सिनजस्तै विगतका सबै घटनाहरु सररर आए। कल्पनामै खुसी भयो। आनन्द महसुस भयो।
अझै कल्पना गर्यो, सपना देख्यो, सपना बुन्यो। जतिबेला उनीहरु गहिरो प्रेम सम्बन्धमा थिए, उनीहरु एकअर्काको खुबै ख्याल गर्दथे। लवाई, खुवाई, स्वास्थ्य अनि भविष्यको सधैँ चिन्ता र चासो हुन्थ्यो। आज ती केही पनि चासो भएनन् तर छुटेका, हराएका र छुटाइएका प्रेमि-प्रेमिकाहरु भेट भएका थिए। विवश साह्रै हर्षित थियो। खुसीको सीमा थिएन।
विवशले विगतको सम्झना र कल्पना गर्दागर्दै निदाएछ। सपना देख्यो-
'विवश, सानु र सानुको छोरा घुम्न गएका रहेछन् टाढा-टाढा। वातावरण मनमोहक र आनन्दित थियो। उनीहरु पपकर्न खाँदै कुरा गरिरहेका थिए। सानुको छोराले पपकर्न नखाने भनेर झगडा गर्यो। उसका लागि सानुले लेज ल्याइदिइन्। ऊ यताउती कुद्दै रमाइलो गर्दै लेज खाँदै थियो। सानु र विवश फलैंचामा बसेर कुरा गरिरहेका थिए।
कुरा गर्ने क्रममा विगतका मायालु दिनहरु सम्झिँदै घरीघरी लजाउथे। मायालु वातावरण थियो। उनीहरु भावनात्मक रुपमा फेरि नजिक भएको महसुस गरिरहेका थिए। विवशले भावनामा बगेर आफूले अझै पनि उत्तिकै माया गर्ने प्रस्ताव राख्न खोजिरहेको थियो। कसरी व्यक्त गर्ने होला? सानुले के भन्ने हो? विवाद पो हुने होकि? असल साथी मात्र हुँदा कम्तीमा भेट र सम्पर्क त हुन्छ, मायाको अभिव्यक्तिले यही सम्बन्ध पनि गुमाउनु पर्ने पो हो कि! कल्पना गदागर्दै निराश, निराश महसुस गरेर परपर पहाडतिर आँखा डुलाइरहेको थियो।
अचानक एक अपरिचित व्यक्ति देखापर्यो। उक्त अपरिचित व्यक्ति रिसले राता-राता आँखा पारेर खाँउलाजस्तै गरेर विवश र सानुलाई पालैपालो हेरिरहेको थियो। विवश छक्क परेर आँखै नझिम्काई त्यो मान्छेलाई हेरिरहेको थियो भने सानु ज्यादै भयभित भएकी थिइन्। विवशले त्यो मान्छेबारे सोध्यो, सानुले आफ्नो श्रीमान् भएको बताइन्। त्यो अपरिचित व्यक्तिले दुवैजनालाई तथानाम गाली गर्यो र सानु र उसको छोरालाई लछार्दै जंगलतिरको बाटो लग्यो।
ऊसँग आएका व्यक्तिले विवशलाई आक्रमण गर्न खोजे। विवश ज्यादै डरायो। अत्तालियो। सानु र उसको छोरालाई लगेको निरीह भई हेरिरह्यो। तर केही गर्न सकेन। 'अर्काकी श्रीमतीलाई मायाजालमा पारेर डेटिङ ल्याउँछस्? अब पनि यसै गरिस् भने हातखुट्टा भाँचिदिन्छौं' भनि धम्काएर ती केटाहरु पनि उतै लागे।'
विवश सपनाबाट झसंग भएर ब्युँझियो। कस्तो डरलाग्दो सपना! सानुको श्रीमान् आएछ! सानुलाई अपहरण शैलीमा लिएर गयो! विवश असिनपसिन भएको रहेछ। सपना सम्झेर विवश झन डरायो। तताएर राखेको बोतलको पानी घटघटी पियो। यसो घडी हेर्यो, भर्खर १२ बजेको रहेछ।
विवश फेरि सुत्न खोज्यो। निद्रा नै परेन। अघि देखेको सपना सम्झिरह्यो। झन् छटपटी बढ्यो। सानुलाई कोठा फर्कने क्रममा केही पो भयो कि! अनियन्त्रित महसुस गर्यो। अनि फोन गर्यो रातको १२:१५ मा। सानुले दुई घण्टीमै फोन उठाइन्। ऊ त सुतेकै रहेनछिन्। छोरालाई सुताएर अमर न्यौपानेको 'सेतो धर्ती' उपन्यासको श्रव्य भर्सन सुन्दै ढल्केकी पो रहेछिन्। सबै सामान्य भएको जस्तो गरी कुरा गरेर विवशले फोन राख्यो।
फेरि सुत्ने कोसिस गर्यो तर अहँ! निद्रा नै परेन। सानु र उसको छोरालाई सपनामा कथित् श्रीमानले अपहरणको शैलीमा लग्यो। कहाँ लग्यो? किन लग्यो? त्यो सपनाको अर्थ लगाउने अनेकौं कोसिस गरिरह्यो। हुन त सानु कसैकी श्रीमती हुन्। कसैको जीवनको नासो हुन्। सानुलाई दाबी गर्ने विवशको अधिकार पनि थिएन्। छैन। मात्र उसले निःस्वार्थ माया गर्छ, प्रेम गर्छ। विगत १७/१८ वर्षदेखि अनवरत रुपमा माया गरिरहेको छ।
यो अवधिमा धेरै उताडचढावहरु आए। अध्ययन सकियो। निजामती सेवाका विभिन्न खुड्किलाहरु पार लागे। सानु कसैको साथमा भएको बेला भेट्यो। बिहे भएको देख्यो। उसका जीवनका घटना परिघटनाहरु उस्तै कहाली लाग्दा थिए। सानुले त बिहे गरी तर विवशले कसैसँग बिहे नगर्ने प्रण गर्नै गरिसकेको हुँदा बिहे गरेन, गरेको थिएन। सानुको ठाँउ लिने कोही केटी उसको जीवनमा आएनन्। पछिल्ला दिनमा एकतर्फी माया भए पनि मायामा कमि आएन।
विवशसँगको भेटपश्चात् सानु आफ्नो भाडाको कोठामा फर्किएर छोराका लागि खाना तयारी गरिदिइन्। बाहिरको हिँडाइका कारण थाकेको बच्चा चाँडै निदायो। सानुले एक कप दूध तताएर खाइन् अनि अध्ययनका लागि बसिन् तर ध्यान एकाग्र हुन सकेन्। निदाउन खोजिन् तर निद्रा पनि परेन।
विवशले जस्तै विगतदेखि सबै कुरा सम्झिन खोजिन्। कल्पनामा हराइन्। विवशको माया, समर्पण र संकल्प सम्झेर आफूले संकल्प पूरा नगरेकोमा पश्चाताप् पनि महसुस गरिन्। जीवन भन्नु नै मिठो मिलन अनि बिछोडको विपरीत संगम रहेछ।
सानुले जीवनलाई गरेको माया गलत थियो भन्ने समयले प्रमाणित गरिदियो। प्रमोदसँगको हतारको बिहे, न त्यो बिहेमा उनको इच्छा थियो न त उपयुक्त समय। गलत समयमा परिवारको दबाब र उनको स्वीकृतिले उनलाई जीवनको नमिठो पीडा दिएर गएको थियो। प्रमोद फर्केर आउला, नआउला कुनै निश्चित थिएन। प्रमोद हराएको चार वर्ष पूरा भइसकेको थियो।
बिछोडको घाउ विस्तारै खाटा बसेको महसुस भइरहेको थियो। निजामती सेवा प्रवेश र व्यस्तताले खासै धेरै सोचेर, सम्झेर अनि कल्पेर बस्ने समय नै थिएन। छोरालाई पनि पर्याप्त समय दिन सकेकी थिइनन्। विगत दुई वर्षदेखि छोरालाई डे बोडस गरिदिएकी थिइन्। बेलुका अफिसबाट फर्किँदा छोरालाई बोडसबाट लिएर फर्किन्थिन्।
आमाछोरा एकअर्काका बाच्ने सहारा बनेका थिए। छोराको मुहार हेरेर प्रमोदको पीडा विस्तारै भुल्दै गएकी थिइन्। सबै ठिकठाक नै जीवन चलेकै थियो। अचानक विवशसँगको भेटले मथिंगल हल्लिएको थियो। जीवन र प्रमोदसँगको वियोगमा विवशको भेटले भोकनिन्द्रा हराएको महसुस गरिरहेकी थिइन्।
सानुले विवशलाई १४ वर्षअघि जस्तो अवस्थामा छोडेकी थिइन्, उसलाई त्यही अवस्थामा पाइन्। माया उस्तै, व्यवहार उस्तै, बोलीचाली उस्तै, ख्याल गर्ने बानी उस्तै। उसमा कत्ति पनि परिवर्तन आएको रहेनछ। बिहे पनि गरेको रहेनछ। उसलाई यो सब कुरा देखेर नमिठो पीडा भयो। माया र संकल्पको भूमिका सही तरिकाले निर्वाह नगरेकोमा थप ग्लानी भयो।
उनलाई सोधुँ झै लाग्थ्यो कि- के अझै मेरो पर्खाईमा नै छौ? अझै माया मारेका छैनौ? कति माया गछौं म अभागिनीलाई? किन यति बिध्न माया गछौं? म विवाहित नारीलाई अब माया नगर। कि अझै पर्खिरहेका छौं? के अझै मलाई स्वीकार्छौं त? हिम्मत छ? परिवार र समाजलाई के जवाफ दिन्छौं? यावत प्रश्नहरु मनमनै सोध्न मन लाग्थ्यो तर कसरी सोध्ने, केही उपाय थिएन।
आजको भेटपछि सानुमा बेचैनी सुरु भयो। धेरै सपना बुनिन्, धेरै कल्पना गरिन्, धेरै योजना बनाइन् तर ती सबै काल्पनिक र अपूरा थिए। आफ्नो माया व्यक्त गर्ने हिम्मत थिएन। छोराको भविष्यप्रति जिम्मेवार बन्नु पर्ने बाध्यता छँदै थियो। अब जे भए पनि छोरालाई राम्रो शिक्षा, दिक्षा, स्वास्थ्य उपचार र सुविधा दिएर एक सुयोग्य नागरिक बनाउनु आमाको न्यूनतम कर्तव्य पनि महसुस भयो। अनि उपन्यायको श्रव्य भर्सन सुन्दै सुत्ने असफल कोसिस गरिरहिन्। त्यहीबेला विवशको फोन आएको थियो।
विवश र सानुका आ-आफ्नो तरिकाले जिन्दगीको गति चलिरहेकै थियो। विवशको दैनिकी बिहान ५ बजे उठेपछि सुरु हुँदै उपसचिवको तयारी कक्षा, दिनभरि काठमाडौंका वडा कार्यालयको कामको चाप, बेलुकाको थकान, अध्ययन र आराम गर्ने यस्तै-यस्तैमा व्यस्त दैनिकी व्यतित भइरहेकै थियो। उनीहरुबीच बेलाबेलामा फोनमा कुराकानी हुन्थ्यो। भेटघाट गर्न सजिलो अवस्था थिएन।
दुवैको कार्यव्यस्तता र बसाइको दूरता र सानुको सानो बच्चाका कारण सहज भेट सम्भव पनि थिएन। २०७६ सालको वैशाखको भेटपश्चात् असोजमा दोस्रो भेट भयो। जावलाखेलको चिडियाखानामा सानुको छोरालाई घुमाउँदै त्यही भेटघाट र घुमघाम भयो। ३/४ घण्टाको त्यो भेट रमाइलो र झन अविस्मरणीय रह्यो। धेरै खुलेर कुरा गर्न नसके पनि हेराई र व्यवहारको भावले प्रशस्त माया अभिव्यक्त गरे।
विवशले सानुको छोरालाई ज्यादै माया देखायो। परिचय पनि भयो। नाउँ सोध्यो। उसले आफ्नो नाम विवश भएको बतायो। विवशले सानुको छोराको नाउँ पनि विवश नै भएको थाहा पाएपछि स्तब्ध भयो। अनि साइनो सुरु भयो- मितज्यु, मितज्युको। सानुले छोराको नाम विवश राख्नुको पछाडि आफूलाई भुल्न नसकेको कुरा प्रमाणित भयो। विवशले सानुको गहिरो मायाको महसुस गर्यो तर अभिव्यक्त भएन। गर्न चाहेन वा अभिव्यक्त गर्न आँट नै आएन। दिनभरिको रमाइलोसँगै उनीहरु बिदा भए।
कामको व्यस्तताले धेरै सोच्ने, कल्पना गर्ने फुर्सद त उनीहरु दुवैजनालाई थिएन। फोन सम्पर्क निरन्तर चलिनै रह्यो। २०७६ सालको पुस महिनामा लोकसेवाले लिएको उपसचिवको परीक्षा विवशका लागि सन्तोषजनक भएन। विवश आफै पनि आशावादी हुन सकेन। त्यो उसको लागि पहिलो प्रयास निरर्थक रह्यो। २०७७ सालको लोकसेवा परीक्षा तालिका कोरोना र लकडाउनका कारण प्रभावित भयो। ढिलै भए पनि परीक्षा भयो। परीक्षा सन्तोषजनक भएको थियो, परिणामतः विवशको उपसचिवमा लिखित नाम निकाल्न सफल भयो भने मौखिक र प्राक्टिकल पनि राम्रो भयो।
उपसचिवमा नाम निकाल्न सफल विवशको सामान्य प्रशासन मन्त्रालय अन्तर्गत अतिरिक्त समूहमा राखियो। कामको व्यस्तता अलि कम भएको महसुस भयो। साहित्यिक अध्ययन र लेखनलाई पनि समय व्यवस्थापन गर्न सजिलो भयो। अनि असफल प्रेमीको कथावस्तु र परिवेशलाई आधार मानि जीवन भोगाइ अनि केही काल्पनिकता सहित उपन्यास लेखनको सुरु गर्यो- 'संकल्प'। उपन्यासका पात्रहरु, कथानक र कथा-सेटिङ यही समाजका थिए।
२०७७ सालको माघ महिनामा सानुले अचानक फोन गरिन्। बोली आत्तिएको थियो। लरबरिएको थियो। हतास थियो। भावविह्वल थिइन्। प्रमोदको मृत्यु भइसकेको रहेछ। २०७२ सालमा आएको भूकम्पमा परी प्रमोदको दुःखद् निधन भएछ। मृतकको सनाखतका लागि प्रहरीले निकै खोजी गरेछ तर मृतकका आफन्तहरु सम्पर्कमा आएनछन्। प्रहरीले नै दाहसंस्कारका लागि पहल गरेछ।
प्रहरीले अनुसन्धानका क्रममा मृतकको फोटो खिचेको रहेछ। सानुकी साथी शारदा नेपाल प्रहरीमा सहायक निरीक्षक रहिछ। उनै शारदाले मृतकको फोटो देखी सानुलाई प्रहरी कार्यालयमा बोलाएर देखाउँदा सानुले आफ्नो श्रीमान् नै भएको जानकारी दिइछन्। अघिसम्म प्रमोद फर्केर आउला कि भन्ने झिनो आशा पनि सधैँका लागि मेटियो। सानु वास्तवमा नै एकल महिला भई। पीडाको पहाड खस्यो। जीवन उराठ-उराठ भयो।
जीवनको सम्पूर्ण खुसीको समुल अन्त्य भएको महसुस गरिन्। धेरै रोई-कराई, विलौना गरिन् तर मरेको मान्छे फर्किने हैन। सानुको छोरा आफ्नो बाबुलाई राम्ररी पहिचान गर्न सक्ने नभई नै टुहुरो भयो। अनि सानु विधवा! सानुले यति चाँडै विधुवा भइएला भन्ने कल्पनासम्म गरेकी थिइनन्। जीवन निरश-निरश भयो। उराठलाग्दो भयो, मरुभूमिजस्तै।
२०७८ सालको श्रावण महिनामा मेडिसिटी हस्पिटलको बेड नम्बर ५३ मा एक कोरोना संक्रमित बेवारिसे महिला बेडमा पल्टिरहेकी थिइन्। श्वासप्रश्वासमा समस्या भएर गएकी ती महिलालाई डक्टरहरुले घर फर्कन दिएनन्। उनका सहयोगी पनि कोही रहेनछन्। उनलाई चाहिने औषधि र अन्य सहयोग गर्ने व्यक्ति नभए पनि हस्पिटलले राख्ने रेकर्डमा अत्यावश्यक परेमा सम्पर्क गर्ने व्यक्तिको नाममा विवश क्षेत्रीको नाम र सम्पर्क नम्बर उल्लेख गरिएको रहेछ।
ती महिलाको स्वास्थ्य समस्या बढेपश्चात् हस्पिटलका कर्मचारीहरुले विवशलाई फोन सम्पर्क गरे र सानु बस्नेत हस्पिटलमा गम्भीर अवस्थामा उपचार गराइरहेकोले तुरुन्त हस्पिटल आउन सल्लाह दिए। अफिसमै काममा रहेको विवश तुरुन्तै हस्पिटल पुग्यो र बेड नम्बर ५३ बारे चासो राख्यो। हस्पिटलका नर्सहरुले सानुलाई निमोनिया भई छातीमा इन्फेक्सन भएको, श्वासप्रश्वासमा समस्या रहेको र कोभिड-१९ रिपोर्ट समेत पोजिटिभ आएको बताए।
विवश अत्तालियो। के भन्नु न के भयो। भेट गर्न अनुमति थिएन। अहिलेको अवस्थाबारे जान्न चाह्यो। नर्सहरुले स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको, अक्सिजनको लेभल ७५ मा झरेको र आपतकालीन उपचार भेन्टिलेटरमा राखी उपचार गरिँदै आएको साथै तत्काल 'रेमडेसिभिर' आपतकालीन उपचारका लागि चाहिने भएकोले तत्काल खोजेर ल्याउन सल्लाह दिए।
उक्त औषधि खोज्न विवश निस्कियो तर कहाँ पाइन्छ केही जानकारी थिएन। औषधि पसल र अस्पताल अस्पताल धाउँदा-धाउँदा टिचिङ हस्पिटलमा भेट्यो र महंगोमा खरिद गरी नर्सहरुको हातमा राखिदियो। उता सानुको छोरा मन्टेश्वरीको डे बोडसमा बेवारिसे थियो। उसलाई रिसिभ गरेर हस्पिटलमै आफूसँगै लिएर आयो।
विवशले एक पत्र लेखी स्वास्थ्य अवस्था के-कस्तो रहेको चासो सहित नर्सलाई सानु समक्ष पुर्याउन अनुरोध गर्यो। सानुले आफू ठिकै रहेको र आफ्नो बच्चाको बारेमा चासो राखेर खबर पठाई। सानुको छोरा विवशको साथैमा थियो। सोही जानकारी पठायो। पत्रचारमार्फत चाहेको बेलामा संवाद भइरहेकै थियो।
हस्पिटलको बसाइ, बाहिर दौडँदा दौडँदै विवश र सानुको छोरालाई समेत रुघाखोकी र ज्वरो आउन थाल्यो। सामान्य औषधिले काम गरेन। ज्वरोको मात्रा बढेर गयो। हप्ता दिनसम्म पनि कम नभएपश्चात् कोभिड-१९ परिक्षण गर्दा उनीहरु पनि संक्रमित भइसकेको पुष्टी भयो। त्यही भर्ना हुनुपर्यो। तीनै जना एउटै हस्पिटलमा।
सानुको छोराको स्वास्थ्य अवस्था सामान्य नै थियो। विवशलाई पनि निमोनिया भइसकेछ। डक्टर नर्सहरुले एन्टिबायोटिक्स औषधि चलाए। सानुलाई केही सञ्चो भएको रहेछ। सबैलाई आइसियू बेडमा राखियो। आइसियूमा सानुको बेड नम्बर २६, सानुको छोराको २५ र विवशको २७। धेरै कुराकानी गर्न मिल्दैनथ्यो। सानुको छोरा बेला बखत आमासँग जान खोज्थ्यो तर नर्सहरुले उसलाई फकाई फुल्याई हिँड्न दिँदैनथे।
सानुलाई कागजमा लेखेरै आफूले जीवनभरि नै माया गरेको र अहिले झन् बढी माया गरेको बताई। विवशले सानुकै लागि जीवनभरि कुरेर बसेको जवाफ लेख्यो। हामी चाँडै बिहे गरौं अनि छोराको भविष्य पनि सुरक्षित बनाउनेबारे योजना गरौं भन्ने प्रस्तावमा हामी सबै पूरै स्वास्थ्यलाभ गरी घर फर्केपश्चात् बिहे गरौंला भनि जवाफ फर्कायो। यसरी कागजमा लेखेर लेखेर संवाद भइरह्यो।
हस्पिटलको बेडमा भएको संवाद अनि मायाप्रेमको अभिव्यक्ति र चाँडै बिहे गर्नेसम्मका योजना र सल्लाहहरु भए। त्यो संयोग जसले उनीहरुलाई फेरि एक बनाउन प्रेरित गरिरहेको थियो, वास्तवमै अविस्मरणीय थियो।
सानुको हस्पिटल बसाइ दोस्रो हप्ता पार गरिसकेको थियो भने विवश र सानुको छोरा नौ दिनदेखि त्यही थिए। हस्पिटलको त्यो अत्यास लाग्दो बसाइ, साउनको झरी, कोभिडका बिरामीहरुको भिड र श्वासप्रश्वासको समस्या अनि ऐया! र आत्थाको चित्कार, ओहो! कति दिक्क लाग्दो र पट्यार लाग्दो थियो। कहिले त्यहाँबाट डिस्चार्ज भएर निस्किउँला झै भएको थियो।
सानुको निमोनिया हल्का कम भएको थियो। विवश र सानुको छोराको स्वास्थ्यमा उल्लेख्य सुधार भएको थियो। राती ११ बजेको थियो होला सायद सानुले अर्को बेडमा निदाउन लागेको विवशको हातमा सुस्तरी समातिन् अनि बोलिन्- 'निदाउन लाग्नु भयो? मलाई त निद्रै लागेन, तपाईंसँग धेरै कुरा गर्न मन छ। हामी धेरै कुरा गरौंन है!'
त्यो कोमल स्पर्श, माया सहितको स्पर्श, निदाउन लागेको विवश फेरि ब्युँझियो। सुस्तरी-सुस्तरी धेरै कुराकानी गरे। भविष्यबारे योजना बनाए। असीमित माया अनि संकल्पका कुरा गरे। जीवनमा आफूले धेरै सताएकोमा सानुले माफी समेत मागिन्। पीडा दिएकोमा ग्लानी महसुस भइरहेको कुरा कुरा समेत सानुले बताइन्। भावुकताले आँसु रोक्न सकिनन् अनि आँखाबाट मोतीका दानाजस्ता आँसुहरु गाला हुँदै सिरानीमा पोखिए। विवशले पनि आफूलाई नियन्त्रण गरिरहन सकेन अनि विगत सम्झेर धेरै रोयो। दुवैजना हात समाती-समाती रोए।
हस्पिटल बसाइ १३औं दिनमा विवशले आफूलाई पूरै सञ्चो भएको महसुस गरिरहेको थियो भने सानुको स्वास्थ्य २० औं दिनमा पनि पूरै ठिक भएको थिएन। निमोनिया पूरै ठिक हुन बाँकी थियो श्वासप्रश्वासमा बेला-बेला अलि समस्या आउथ्यो। विवश चाँडै डिस्चार्ज हुनेमा विश्वस्त थियो। त्यही दिन नै तीनै जनाले कोभिडको पुनः परिक्षण गराए। तीनै जनाको कोभिड रिपोर्ट नेगेटिभ आएछ। खुसी भए।
बेलुका भइसकेको हुनाले विवश र सानुको छोरा डिस्चार्ज भएनन्। अर्को दिन डिस्चार्ज गर्ने डाक्टर नर्सहरुले जानकारी दिएका थिए। तर सानुलाई केही दिन आइसियूमै राखी उपचार गर्नुपर्ने बताएका थिए। आज राति तीनै जना भेट हुन पाए। सानुले छोरालाई गम्लाङ्ग अंगालेर म्वाई खाइन्। माया धेरै गरिन्। हातमा हात राखेर गफ गरे।
सानुको छोरो आमाको छातीमा अडेस लागेर कुरा सुन्दा सुन्दै निदाएछ। कोभिडरहित हातको स्पर्शले खुबै पुलकित बनाएको थियो। हातमा हात थिए, माया थियो, प्रेम थियो, संकल्प र विश्वास थियो। विवशलाई विश्वास थियो कि उसको माया एकदिन अवश्य फर्केर आउने छ जुन उसले आज महसुस गरिरहेको थियो।
विवश र सानुको छोरा १४औं दिनमा डिस्चार्ज भए। सानु २१ औं दिनमा पनि खासै सन्चो भइसकेकी थिइनन्। निमोनियाको असर अलि बढेको र फोक्सोमा केही ठूला दाग भएको भिडिओ एक्स-रे रिपोर्टमा देखिएको थियो रे। सोही बेलुका सानुको अक्सिजनको लेभल घटेर ७४ मा पुग्यो। सानुलाई श्वासप्रश्वासमा समस्या आयो। नर्सहरु आत्तिए।
अक्सिजनको नेबुलाइजन हतार-हतार सानुको नाकमुखमा जोडिदिए र अक्सिजन मात्रा बढाउन थाले। विवश पनि अत्तालियो। सानुलाई आइसियूबाट फेरि भेन्टिलेटरमा सारे। राति करिब ११ बजेतिर नर्सले एउटा कागज लिएर विवशको हातमा राखिदिइन्। सानुले लेखेको पत्र रहेछ। सकिनसकी लेखेको हुनाले सायद अक्षरहरु पनि लरबरिएका थिए-
'प्रिय विवश,
मुटु भरिको माया!
थाहा छैन, जीवन र मृत्युबीच निरन्तर संघर्षमा छु। मेरो अहिलेको हालतले मृत्युलाई जितेर फर्किन्छु भन्ने आशा छैन। मृत्यु तिमी हामीले सोचेको भन्दा कठोर रहेछ। तिम्रो मायामा शक्ति रहेछ भने म अवश्य फर्केर आउनेछु। नत्र अर्को जुनी तिम्रै भएर आउनेछु। तिमीलाई मैले जीवनमा धेरै पीडा दिएँ, दुःख दिएँ, सताएँ तर तिम्रो मप्रतिको मायामा कुनै हालतमा पनि कमी भएको पाइनँ। जीवनमा जता बरालिए पनि तिमी मेरो मनबाट कहिल्यै टाढा हुन सकेनौ। मनमा राज गरी नै रह्यौ। तिम्रै मायाले अरुलाई पन्छायो, अनि तिम्रो बन्न बाध्य बनायो। तिमी महान छौ। तिमीले जित्यौ। मैले तिम्रो मायाका अघि हारेँ। मृत्युलाई जितेँ भने तिम्रो भएर बाँकी जीवन बिताउने छु। विगतमा तिमीलाई मैले चाहेर नचाहेर पनि साथ दिन सकिनँ। त्यस्तै भयो।
यो मृत्युसँगको युद्धमा म हारेँ भने पनि अब तिमी कहिल्यै निराश नहुनु। भाग्य नै त्यस्तो भएपछि कसलाई दोष दिनु छ र! मेरो छोराको जिम्मा तिमीले लिनू। उसलाई बाबुआमाको माया तिमीले दिएर हुर्काउनु र देशको सक्षम नागरिक बनाइदिनू। मेरो बैंकमा भएको ब्यालेन्स र अन्य चलअचल सम्पत्ति छोराको शिक्षादिक्षामा खर्च गर्नू है। म हारिसकेँ। लेख्न धेरै मन थियो तर लेख्नै सकिनँ। अर्को जुनीमा भेट्ने संकल्पसहित अन्तिम प्रतिज्ञा गर्दछु।
उही तिमीलाई माया गरिरहने सानु।'
चिठी पढेर विवश चिच्याई-चिच्याई रोयो। सानुको छोरालाई सम्हाल्न खोज्यो। सानुलाई अन्तिम पटक हेर्न नर्स-डक्टरहरुसँग धेरै बिन्ती गर्यो। अनि भेन्टिलेटर रुपमा प्रवेश पायो, सानु मृत्युसँग लडिरहेको देख्यो। अक्सिजन, मुटुको धड्कन र ब्लडप्रेसर घटिसकेको रहेछ। आँखाको नजर टाढा स्थिर थिए। विवश र छोरालाई देखेर सानुले आँखाबाट दुई थोपा आँसु झारिन् अनि हल्का बिदाइका हात हल्लाइन्।
मेसिनको इन्डिकेटर सबैमा घट्दैघट्दै जिरोमा आयो। सानुको नाकमुखको नेबुलाइजर पनि बन्द भयो। सानुको दुःखद् निधनले विवश भावविह्वल भयो। रोयो। सानुको छोरो थाहा नपाएर नै रोयो। आमा खोज्यो, बोलायो तर पाएन।
सानुको निधनपश्चात् उसको छोरोलाई विवशले आफैसँग राखेर हुर्काउँदै छ। सानुको नामका भएको बैंक ब्यालेन्स र अन्य सम्पत्ति बेचेर मुद्दती खातामा राखी छोराको खर्चको व्यवस्थापन गरेको छ। विवशले सानुको ७ वर्षको छोरालाई विद्यालयमा भर्ना गरी अध्ययन गराइरहेको छ भने विवशले सानुको सम्झनामा 'सानु स्मृत्ति फाउन्डेसन' स्थापना गरी साहित्यिक कृतिहरु प्रकाशन गर्ने उद्देश्य राखेको छ। पहिलो कृति सानुका रचनाहरु संग्रहित 'विवशताको भूमरीमा' कविता संग्रह प्रकाशोन्मुख छ।
विवशले सानुलाई जीवनभरि माया गरिरह्यो। बिछोडको पीडामा समेत पाउने आशा मेटाएन। सधैँ आशावादी भइरह्यो। जीवन खुसीका संयोगहरु र वियोगका असीमित स्वादहरुको संगम त रहेछ नि। विवशले भर्खर मात्र लेख्न सुरु गरेको उपन्यास 'संकल्प' सानुप्रति समर्पित र्सिजना हुनेछ। विवश र सानुको मायाप्रेम, सम्बन्ध र उताडचडावमा आधारित उपन्यासका मुख्य पात्रहरु नै विवश र सानु हुनेछन्।
यो पनिः
बदलिएको मन
संयोगले जुराएको भेट