दलानको घुरमा आगो ताप्दै
खरानीले फुटेको हात
अलिकति न्यानोको आशामा
कालो मैलो गातीबाट
औँलाको टुप्पो देखाउँदै
थुचुक्क बसेको युवक
तराईको सिरेटोमा ऊ
आफूलाई सोचिरहेको छैन
उसको मन मस्तिष्कले केवल
कसैको जीवन रक्षा खोजिरहेको छ
ऊ केवल सोचिरहेको छ
रातिको सिरेटोमा
छिद्र-छिद्र परेका बासको टाटीबाट
निस्कने चिसो स्याँठको हावा
रक्षा कवजमा रहेको त्यो पातलो, मैलो
र पुरानो आङ नछोपिने लुगाले
के मेरो ८० वर्षको आमाको ज्यान बचौला र?
सोच्दा-सोच्दै घुरको न्यानोमा
एक झप्की के मात्र लागेको थियो
एक हुल दौडँदै
बौवा उठ्, बौवा उठ्-उठ्
तिम्रो बाबु हरेराम सदा
चिसोले आँगनमा ढलेको छ
आज मेरो घुरमा देखेको यो सपना
सपना नभएर विपना पो भएछ
चिसोले कठ्यांग्रिएर हरेराम सदा त
शीत लहरको सहिद पो भएछ।