सायद दस/बाह्र वर्षको थिएँ। पहिलो चोटि केही सामानको लागि जिद्दी गरेको थिएँ। अझै पनि हिजै मात्र बितेको पलजस्तो लाग्छ।
घर वरपर खासै धेरै साथीहरु थिएन। मिल्ने साथीहरु हामी तीन जना मात्र थियौं। बजारमा भर्खर-भर्खर प्लाष्टिकको गोली हान्न मिल्ने बन्दुक चलेको थियो। हामीहरुलाई पनि लिन मन लाग्यो। के गर्नु? अभिभावकहरु मानेका थिएनन्। त्यसपछि के थियो र? सबै जनाले आ-आफ्नो अभिभावकलाई कर गर्न थाल्यौं।
अरु साथीहरुले त थोरै कर गरेर बन्दुक पाए। मेरो भने मान्नु नै भएन। के-के बहाना लगाएँ। त्यही पनि मान्नु भएन। खालि चोट लाग्छ भनेर सम्झाउनु हुन्थ्यो। आफूलाई सम्झिन मन भए पो, बन्दुक चाहिएको थियो।
दसैंको माहोल थियो। अभिभावक मान्दै नमानेको भएर जुक्ति लगाएँ। टीकामा आएको दक्षिणाको पैसाले बन्दुक किन्छु। त्यस दसैं कहिले नगएकोमा गएर पनि टीका लगाएँ होला। सबै ठाउँमा भ्याएपछि पैसा गन्दा पनि पचास, साठ्ठी रुपैंया कम भएको थियो। टीका लगाउने घर बाँकी थिएन। आमा कहाँ गएँ, नपुगेको पैसा मागेँ। त्यस दिन आमा कुन सुरमा हुनुहुन्थ्यो खै! बन्दुकलाई पर्ने सम्पूर्ण पैसा दिनुभयो।
त्यही साथीहरुसँग गएँ। बन्दुक किनेँ। दक्षिणाको पैसाले कुल्फी किनेर खाएँ। घर आएर एकजना घाइते हुने गरी गोली हानेर खेल्यौं।
अर्थशास्त्रमा भनेकै छ, मान्छेको इच्छा असीमित हुन्छ। उमेर अलि के बढेको थियो, खेल्ने कुरामा पनि परिवर्तन आयो। साथीहरुले त अभिभावकलाई फकाएर मोबाइल लिए, मेरो भने उस्तै मान्दै मान्नु भएको थिएन। के-के बहाना लगाएँ, जिद्दी गरेँ, रिस देखाएँ। खै! आमाको मन भने पग्लेकै होइन। हदै गरेपछि आमाले एउटा सर्त राख्नुभयो- अन्तिम परिक्षामा राम्रो नतिजा आयो भने मोबाइल किनिदिन्छु।
त्यसपछि के थियो, कम्मर कसेर पढ्न थालेँ। दुई दिनको लागि। जति पढ्छु भने पनि पढ्नै सक्दिन थिएँ। तर परीक्षामा कहिले किताब नछुनेले त्यस अन्तिम परिक्षामा घोकेर पढेँ। नतिजा अरु समयभन्दा राम्रो थियो तर मोबाइल पाउने खालको थिएन।
मोबाइल हातबाट गयो भनेर सोचेको थिएँ तर घरमा मोबाइल मेरो प्रतिक्षामा थियो। खुसीको सीमा नाघेको थियो।
उमेर अलि बढ्यो। समाज, रोजगार, पैसा विस्तारै सबै बुझ्न थालेँ। जति नै बुझे पनि इच्छा भनेको एक पूरा भएपछि अर्को आफै आउँदो रहेछ। योपालि पनि साथीहरुले इच्छा पैदा गर्दिए भनुम् कि ईर्ष्या भयो। उनीहरुले नयाँ बाइक लिएका थिए। अब पालो मेरो थियो। उनीहरु महँगो बाइक भए पनि आफू सस्तो किन्ने सोचेँ।
यसरी बाइक हेर्नको लागि हामी घुम्दै थियौँ। अचानक बाटोमा पानी पर्यो। हामी पनि अरुहरुजस्तै आकाशे पुलमुनि ओत लाग्यौं। यसो आँखा डुलाउँदै थिएँ, आँखा गाडीहरुमा अड्क्यो। गाडीका यात्रीहरु कहीँ ओत लाग्नुपरेको थिएन। त्यत्तिखेरै मनमा बाइक किन्ने इच्छा गयो, सस्तो गाडी किन्ने सोचेँ।
घर आएर इन्टरनेटमा गाडी खोजेँ। सस्तो, चिटिक्क परेको टाटाको न्यानो गाडीमा आँखा गयो। सेकेन्ड ह्यान्ड चार लाख जति पर्थ्यो। आफूसँग डेढ लाख जति मात्र थियो। साढे दुई लाखको लागि आमालाई फकाउनु पर्छ, नभए जिद्दी गर्छु भनेर सोचेँ।
आमा कोठामा टिभी हेरिरहनु भएको थियो। आमालाई पहिला नम्र स्वरमा चार लाख जाने गाडी लिनु पर्यो भनेँ। आमाको अबरोधको लागि तयार थिएँ तर 'हुन्छ' भन्नुभयो। खुसी हुँदै कोठामा आएँ तर धेरै पल रहेन। सानो बेलादेखि हरेक सामान जिद्दी गरेर पाएको थिएँ। योपालि जिद्दी गर्नै पाइनँ।
यसो बाल्यकालको कुराहरु मनमा खेलाएँ। बन्दुक लिन नदिएको कारण बुझेँ। आफूलाई वा कसैलाई चोट लाग्छ। हामीले बन्दुक खेल्न पनि साथी घाइते भएपछि छाडेका थियौँ। मोबाइल लिइदिने लोभ देखाएर, पढाइमा ध्यान केन्द्रित गराउनु भएको थियो। त्यसैले एसएलसीमा राम्रो नतिजा आएको थियो। रह्यो गाडीको कुरा, सायद आमाले पनि बुझ्नु भयो होला। अब जीवनको कुनै पाठ सिकाउनु पर्दैन, आफै बुझ्छ। त्यही बुझेर गाडी किन्ने इच्छा स्वतः मर्यो।