विद्या पेसाले एक शिक्षिका हुन् अनि हाल गर्भवती छिन्। मध्य रातमा उनी आफ्नो विस्तारमा स्वप्नील संसारमा डुबेकी छिन्।
‘आमा, ए आमा, मेरो कुरा सुन्नुहोस्।’
विद्या यताउता हेर्न थालिन् तर बगैंचाका सुन्दर फूलबाहेक अरू कोही देखिनन्।
त्यतिकैमा फेरि मधुरो स्वरमा आवाज आयो, ‘म तपाईंकी छोरी के, हजुरको पेटबाट बोल्दैछु।’
विद्या आश्चर्य मान्दै आफ्नो पेट सुम्सुम्याउन थालिन्।
आशा: आमा मैले सुनेको हजुर त निकै राम्री हुनुहुन्छ, मैले देख्न पाउने कैले होला है! मलाई कहिले बाहिर आउला र हजुरलाई मनभरि हेरौंला, हजुरको काखमा रमौंला जस्तो भइसक्यो।
विद्या: (अँध्यारो मुख लगाउँदै) खोइ नानी म के भनूँ!
आशा: साँच्चै आमा हजुर हिजोबाट किन निराश हुनुभएको? अस्पतालका ती सेता लुगा लगाउनेहरूले के के भने मेरो बारेमा? केही अप्ठ्यारो छ हो? मन लगाएर खाना नि खानु भएन हजुरले। म छोरी भएकोमा खुसी त हुनुहुन्छ नि?
विद्या आँखाभरि आँसु बोकी निःशब्द बसिरहिन्।
आशा: आमा मैले सुनेको घरका र अस्पतालका सबै मिलेर मलाई मार्छन् रे हो? मेरा भर्खर बन्दै गरेका हात खुट्टा टुक्रा टुक्रा पारेर निकाल्छन् रे, कत्ति दुख्छ होला है आमा? त्यैभर हजुर रूनुभाको हो? मेरो के गल्ती छ आमा? के मैले यो संसार देख्न नपाउनु? हजुरलाई हेर्दै हजुर जस्तै राम्री हुन नपाउनु, यो आँगनमा खेल्न नपाउनु, हजुरको काखमा लुटपुटु गर्न नपाउनु?? आखिर किन आमा??
विद्या: छोरी भएर जन्मन खोज्नु पहिलो गल्ती हो अनि हाम्रोजस्तो पिछडिएको, स्वार्थी र निर्दयी समाजकी मेरो कोखमा बास हुनु दोश्रो गल्ती हो। अरू म के भनूँ? तिमीभन्दा पहिले नि मैले एउटा छोरी गुमाइसकको हो, अब फेरि अर्को, छोराको आशमा बच्चा जन्माउने यन्त्र भइसकें अनि तिनलाई मार्ने हत्यारा!
आशा: त्यस्तो हैन होला आमा। बाबाले जैले त हजुरलाई के खाना मनपर्छ भनेर मिठो मीठो ल्याउनुहुन्छ, हजुरआमाले पनि हजुरलाई भारी काम लाउनुहुन्न। मलाई लाग्छ यो हजुरको भ्रम मात्र हो।
विद्या: तिमीले यिनीहरूलाई चिनेकी छैनौ। छोरा जन्मेला भनेर हो यो माया, छोरी भन्नासाथ बढी पैसा दिएर तिनलाई फाल्ने सल्लाह गरिसके। जुन पल तिमी छोरी भन्ने थाहा भो तिम्रो माया मरिसक्यो।
आशा: आमा हजुर त मलाई माया गर्नुहुन्छ, मलाई आफ्नो शरीरमा हुर्काउनुभो, यसको विरोध गर्न सक्नुहुन्न???कानूनी रूपमा नै यो एक अपराध हो। त्यस्ता गलत विचार भएका समाजका विकृत र स्वास्थ्यकर्मीमाथि उजुरी गरे मजस्ता धेरै बालिका मर्नबाट जोगिने थिए।
विद्या:माया त लाग्छ नि नानी तिम्रो, तर तिम्रो परिवारले मेरो कुरा सुन्दैनन्, उनीहरूमा छोराको भूत लागेछ। उनीहरूको कुरा नमाने मेरो जीवन नर्क बनाउनेछन्। तिमीलाई यो धर्तीमा एक्लै लेराएर पढाउने हुर्काउने हिम्मत छैन ममा। मलाई माफ गरिदेऊ छोरी।
आशा: आमा यति कमजोर नहुनुस्। एउटा जनावरले त आफ्नो बच्चाको लागि सारा दुनियाँसँग लड्न सक्छ भने हजुरजस्तो पढेलेखेको अनि आफ्नै खुट्टामा उभिएको नारीले यस्तो भन्न सुहाउँदैन।
आफैं शिक्षिका भएर नारी पुरूष बराबर हुन्, अवसर पाएमा नारी पनि पुरूषझैं हरेक विधामा अघि बढ्न सक्छन् भनेर पढाउने अनि आफैं यस्तो अपराधलाई बढावा दिन सुहाउँदैन।
सोच्नुहोस् 'क' भन्न नजान्ने हजुरआमाले हजुरलाई हुर्काउने, पढाउने, र आत्मनिर्भर बनाउनुभयो तर आज हजुर सक्षम भएर नि पछि हट्दै गएको देखिन्छ। हजुरआमाले हजुरलाई गर्भमै तुहाइएको भए हजुरको के अस्तित्व रहन्थ्यो??
बिन्ती भन्छु आमा मलाई जन्माउनुस्, राम्रो शिक्षा दिक्षा दिनुहोस् एकदिन हजुरको सान अनि बुढेसकालको सहारा बन्नेछु।
विद्या: मलाई माफ गरिदेऊ छोरी, म तिमीजस्तो आँटिलो छैन! यो समाजमा एक्लै सन्तान हुर्काउन धेरै कठिन छ। जति ठूलो घराना त्यतिनै दमन छ यहाँ नारीलाई, जति शिक्षित भए नि नारीको इज्जत आज नि त्यस्तै छ। नारीको दुश्मन नारी नै हुन्छन् हरेक घरमा।
आशा: आमा तीन महिना कोखमा राख्नुभो, माया दिनुभो र अहिले सजिलै समाजलाई दोषी देखाएर मेरो हत्यामा सामेल हुनुहुँदै छ।
छोरी हुनु नै मेरो ठूलो अपराध मान्ने यो समाजमा मलाई जन्मेर हजुर जस्तो कायर, हत्यारा हुनुछैन। तर मेरो एउटा प्रश्नको जवाफ चाहिएको छ। जुन समाजले लक्ष्मी, सरस्वती, दुर्गाको पूजा गर्छ, आफ्नी आमालाई भगवान मान्छ, जीवन चलाउन श्रीमती चाहिन्छ, केवल छोरी मात्र किन घाँडो हुन्छ??
आफू स्वयं नारी भएर हजुरआमा अनि आमा किन नारीको पेटमै हत्या गर्दछ्न्??
स्वयं नारी डाक्टर जस्तो सम्माननीय ओहोदमा पुगेर पनि पैसाको लोभमा भ्रुण हत्यालाई बढावा किन दिन्छन्!! भगवानको अमूल्य सृजना लागि किन मार्छन्। यिनीहरू मेरा लागि मानव रूपी दानव हुन्। आमा म हजुरलाई अर्को हत्या गर्न दिने छैन त्यसमा ढुक्क हुनुहोस्। अलबिदा आमा!
विद्या झस्यांग निन्द्राबाट ब्युँझिन्छिन्। उनी पूरै पसिनामा डुबेकी छिन्। अनि एकदम पेट दुखिरहन्छ। उनलाई अस्पताल पुराइन्छ र जाँच गर्दा बच्चा पेटमै मरेको जानकारी गराइन्छ। विद्या डाको छोडेर रून्छिन् भने परिवारका सदस्य खासखुस गर्दै भन्छन्।
‘बढार्नु पर्ने कसिंगर हावाले उडाइदियो’।