एउटा गाउँमा एक गरिब किसानको परिवार बसोबास गर्दै आइरहेका थिए। ती किसान परिवारमा बाबु, आमा, र एक छोरोमात्र थिए। छोरो सानै थियो। बाबुले अरुको घरमा काम गरेर आफ्नो सानो परिवार पाल्दै आएका थिए। आमा मुटु रोगी भएकाले घरमै बस्थिन्। उक्त परिवारलाई आफूले आफ्नो जग्गामा तरकारी उमारी खानको लागि थोरै पनि जग्ग्गा थिएन।
छिमेकीहरुले आफ्नो भएको जग्गाको केही थोरै भाग पनि ती गरिब परिवारले गरिखान्छौँ भन्दा दिँदैनथे। जे खान्थे, जे लगाउँथे, जे किन्थे त्यो सबै बुवाको पसिना बगाइ, दिनरात काम गरी आर्जन गरेको पैसाबाट गर्दै आइरहेका थिए। आमालाई महंगो औषधि चाहिन्थ्यो। छोरो कक्षा ७ मा पढ्दै थियो। पढाइ, औषधि किन्ने, दैनिकी चल्ने सबै व्यवहार बुवाको कमाइबाट धान्न मुस्किल थियो।
एकदिन नजिकै छिमेकीको खेत जोत्दै गर्दा बुवाको खुट्टामा हलोको फाली फुस्किएर गड्न पुग्छ। खुट्टामा फाली गडेपछि त्यही खेतको मालिकले बुवालाई नजिकैको मेडिकलमा लगे। डाक्टरले उनलाई तीन दिनको औषधिसहित मलामपट्टि बाँधिदिए।
डाक्टरले बुवालाई चोट गहिरो भएको हुनाले केही महिना आराम गर्न भने। अब ती किसान बुवा काम गर्न नसक्ने भए। उनले काम गर्न नसक्ने भएपछि घरमा आर्थिक अभाव बढ्दै गयो। आमाको औषधि पनि सकियो। छोरो सानै भएकाले काम गर्न लगाउँदैन थिए। काम गर्न बोलाए पनि उसलाई कसैले पनि पैसा दिँदैनथे।
यता आमा औषधि नभएर आत्तिन थालिन्। आमाले 'छोरा-छोरा' भन्दै आत्तिँदै गरेको देखेर, सुनेर छोरो गाउँमा कसैले काममा लगाइदिए साँझ आमाको औषधि लगेर आमालाई औषधि खुवाउन हुन्थ्यो भनि गाउँमा कामको खोजिमा हिँड्यो।
गाउँमा कुनै पनि घरमा केही काम नभएको र भएता पनि ऊ सानो भएकाले काम दिएनन्। दिनभरि काम गरी आमाको औषधि ल्याउने उदेश्य बोकेर हिँडेको छोरो साँझ रित्तो हात घर फर्कंदा आमाले यस संसार छाडेर गैसकेकी थिइन्। बुवा आमा छेउ रुँदै पिँडीमा बसेका थिए।
औषधिको अभाव र विपन्न आर्थिक अवस्थाले गर्दा छोरोले आमा गुमाउन पुग्यो। आमाको मृत्युपश्चात छिमेकीहरुले उनीहरुको परिवारलाई परेको दुःख पूर्ति गर्न सहानुभूति प्रकट गर्दै मृतकको दाह संस्कारमा लाग्ने रकम गाउँलेहरुले बेहोर्ने घोषणा गरे।
दिन बित्दै गयो, उता बुवाको फाली गढेको खुट्टाको घाउ पाक्दै गयो। तीन दिनको लागि दिएको औषधि सकिसकेको थियो र पछि औषधि किन्न पैसा थिएन। आमाको मृत्युपश्चात गाउँलेहरुले दिने भनेको दाहसंस्कारमा केही रकम थप गरी आफ्नो बुवाको औषधि पानी गर्नको लागि केही रकम जुटाइदिनु हुन गाउँलेहरुसँग गुहार माग्यो।
सानो छोराको अनुरोध गाउँलेहरुले सहजै स्विकार्दै खुट्टाको उपाचारको खर्च आफूले गरिदिए। खुट्टा निको हुँदै गयो। अब बुवा काम गर्न सक्ने हुने भए। काम गरेर आमाको उपचारमा लाग्ने जति पैसा अब दैनिकी कमाउन सक्ने हुने भए पनि विडम्बना! आमा यो संसारबाट अस्ताइसकेकी थिइन्। अब परिवारमा बुवा र छोरा मात्र भए।
एक दिनको कुरा हो, छोरालाई विद्यालय पठाएर बाबु बजारमा फ्याक्ट्रीमा काम गर्न गएका थिए। काम गर्ने क्रममा नसोचेको घटना घट्न पुग्यो। उसको बुवाको फ्याक्ट्रीमै मृत्यु भयो। यो कुरा छोराले विद्यालयबाट फर्कनसाथ गाउँलेहरुको मुखबाट सुन्न पुग्यो।
छोराको खुसीका लागि लागिरहनेने, जीविकोपार्जन सहज बनाउन काम गर्न गएका बुवा उतै अस्ताएको खबरले छोरो निशब्द भयो। एकपछि अर्को गर्दै आमाबुवा दुवैलाई गुमाउन पुगेको छोराले बुवाको मृत्युमा गर्नुपर्ने दाहसंस्कारमा लाग्ने सबै खर्च फेरि पनि गाउँलेहरुले नै बेहोर्ने जनाए। तर गाउँलेहरुको यो सहयोगमाथि छोरो खुसी थिएन किनभने यदि पहिले नै गाउँलेहरुले सानो छ भन्ने नसोची आफूलाई काम गर्न लगाइ पैसा दिएको भए उसले आफूलाई जन्मदिने आमालाई बचाउन सक्दथ्यो।
आमा-बुवा दुवैको मृत्युपश्चात टुहुरो भएको छोरो आफ्नो अध्ययनलाई निरन्तरता दिन पैसा नभएको तर अध्ययन छोड्न नचाहेको हुनाले सहर पसि होटलमा काम गर्दै पढ्ने सोच बनायो। ऊ सहर गयो। होटलमा आफ्नो सबै कुरा बतायो। होटलका साहुसँग आफू काम गर्दै पढ्ने र पढ्नमा लागेको रकम दिन भनी प्रस्ताव राख्यो। ती साहुलाई उसको माया लाग्यो र काम गरेबापत पढाउने वाचा गरे।
होटेलका साहु निकै असल थिए। कामभन्दा बढी अध्ययन गर्न समय दिन्थे र उसको बाबु-आमा नभए पनि आफ्नो अध्यान पूरा गर्न आफूले सहयोग गर्ने भन्दै पढ्न सुझाव दिन्थे। काम गर्दै पढ्दै कक्षा १० मा निकै राम्रो अंक ल्याएर पास गर्यो। कक्षा १२ मा पनि राम्रो अंकका साथ पास गर्यो।
अब पढ्नको लागि धेरै पैसा चाहिने भयो। होटलमा काम गरी कमाएको पैसाले थप अध्ययन गर्न नपुग्ने र होटेलका साहुलाई पनि थप अध्ययनको लागि सहयोग माग्न उसलाई अप्ठ्यारो लाग्यो। ऊ आफ्नो पढाइ त्यही अन्त्य गरी होटलको साहुको सहयोगमा आफ्नो गाउँमा गई जन्मदर्ताको आधारमा नगरिकता बनाइ आयो। टुहुरो भएको छोरोलाई अध्ययनमा सहयोग गर्ने होटलका साहु-साहुनी ऊ निकै आभारी थियो। अब आफू होटलमै बस्दै काम गर्दै लोकसेवा आयोगले लिने परीक्षाको तयारी गर्ने सल्लाह गर्यो।
होटलमा काम गर्दै आयोगको तयारीतर्फ लाग्यो। लोकसेवा आयोगको परीक्षाको फर्म खुलेपछि फर्म भर्यो। उसले परीक्षा दियो तर नाम निस्किएन। नाम ननिस्किए पनि हार मानेन, अभ्यास निरन्तर गर्दै गयो। दोर्सो पटक परीक्षा दियो। तर फेरि पनि नाम निस्किएन।
सानैमा आमा बुवा गुमाएको र यता दुःखका साथ काम गर्दै अध्ययनमा गरेको मेहनतको राम्रो नतिजा नआउनाले आफ्नो भाग्यले नै ठगेको जस्तो महसुस गर्यो। तर उसले हार नमानी लोकसेवा आयोगकै परीक्षाको तयारीमा लाग्यो। नयाँ वर्ष थियो। नयाँ वर्षको सुरु-सुरुमा नै लोकसेवा आयोगको परीक्षाको फर्म खुलेको थियो। उसले परीक्षा दियो। नतिजा पनि निकै राम्रो आयो।
मेहनतको फल मिठो आयो। लोकसेवा आयोगको नासु तर्फको परीक्षामा नाम निकाल्न सफल भयो। यो खुसी आफ्नो मात्र नभई उसलाई साथ दिने होटलका साहु-साहुनीको पनि हो भनी बतायो। आफ्ना जन्म दिने आमा-बुवाको मृत्युपश्चात उनीहरुलाई नै आफ्नो अभिभावक मान्दै आफ्नो अध्ययनमा गरेको सहयोग कहिल्यै पनि नभुल्ने वाचा गर्यो।
ऊ कममा निकै लगनशील र मेहनती थियो। साथै होटलमा पनि खाली समयमा सहयोग गर्थ्यो। उसको मेहनतले रंग ल्यायो। ऊ आफ्नै ठाउँको सचिवको रुपमा नियुक्ती भयो र सेवा दिन सुरु गर्यो।