युग युगान्तरको उही साझा कथा
जीवन जिउने आधार- सपना र आशा
के छ यहाँ जन्म र मृत्यु बाहेक?
त्यही अस्थायी सपना सायद
केही समयपछि म हुने छैन
न हुने छन् मेरा सपना
अस्थायी जीवन सकिन्छ जब
जब हुनेछ मेरो अस्तित्व विहीन, यो तिम्रो विपना
एक भिड छ, मानव नै मानवको
त्यहाँ कतै एक्लो तिमी छौ अनि एक्लो म छु
आफ्नै जगतमा कतै हराएको
आफ्नै क्षमताप्रति डराएको
भविष्यको चिन्तामा टोलाएको
हो, एक भिड छ सपनाहरुको
त्यही कतै छन् तिम्रा अनि मेरा सपना
अदृश्य, बगिरहेछन् खुला अन्तरिक्षमा
जे छ आज छ
भोलिको त केवल कल्पना
बित्यो हिजो, जे बित्यो
अब त्यो मात्र सम्झना
गल्ती हजार हुन्छन्
केही चाहेर, केही अन्जान
माफी देऊ स्वयंलाई
टुटाऊ त्यो आत्मग्लानीको बन्धन
जीवनको बुझी सार
तिमी कहिल्यै हिम्मत नहार
जे भयो राम्रो भयो
जे हुनेछ राम्रो हुनेछ
अपनाएर भागवत गीताको ज्ञान
तिमी जीवनलाई कठिन नमान
मात्र तिमी कर्म गर
सपना त यसै हुनेछन् पूरा
सोच सही, राख असल विचार
हुनेछैनन् कुनै चाह अधूरा
ए यात्री नहुनू त्यति पनि गम्भीर
नाशी यो जीवनमा, किन लिन्छौ पिर
सपना बुन्नु तिमी, तर सपनाकै जालमा नअल्झिनू
कर्म गर्नू तन-मनले, तर त्यही मोहित नहुनू
आज तिमी छौ
यो जगत नि छ सुन्दर
भोलि रहे तिमी
जगत रहने नै छ सुन्दर
भविष्य- कालान्तर पछिको आज
कर्मयोगी रहे अहिले, उज्ज्वल नै हुनेछ त्यो आज
युगौँ युग, कैयौँ सपना अनि कैयौँ यात्री
सबैमा एक कुरा साझा
जन्म र मृत्यु
अनि त्यसबीचका सपना!