५५ सालको फागुनमा लगभग बाह्र घण्टाको यात्रापछि सुमना कपिलवस्तु आइपुगी। बेला मौकामा घुम्न र चाडबाड मनाउन आए पनि उसका लागि परिवेश नयाँ छ। जिन्दगीले फेरि अर्को मोड लिएको छ तर बुझ्ने भएदेखि यो उसको पहिलो मोड थियो। हुन त जन्मदेखि नै उसका अप्ठ्यारा घुम्तीहरू सुरु भइसकेका थिए। ती अप्ठ्याराहरू कति छिचोल्न पर्ने हो त्यो त समयले अवश्य बताउने छ।
ठूलोबुवाले ब्याग र लगेजहरू भित्र लगेर कोठामा राख्न भने। अब उसको कोठा त्यहीँ हुने भयो। अबदेखि ऊ त्यहाँ ठूलो बुवाहरूसँग बस्ने भई। त्यतिबेला सुमना मात्र चौध वर्षकी थिई। कलिलो उमेरमा उसका लागि त्यो ठाउँ र नयाँ मान्छेहरूसँग घुलमिल हुन त्यति सजिलो थिएन। सुमनाले आफ्ना बुवा-आमा त कहिल्यै पनि देखिन। भर्खर जन्मेकी बच्चीले त्यो बेला के देख्न पो सक्थी र।
के थाहा उसका बुवाआमाको पनि आफ्नै घुम्ती र पीडा थियो होला। भर्खर जन्मेकी बच्चीलाई बाबा-आमाले हस्पिटलमै छोडेर गए। हुनसक्छ आमाले छोडेर गएकी थिइन्। त्यो उसको आमाको बाध्यता थियो होला। जन्माउन नहुने बच्चा जन्माएकी होलिन् उसकी आमाले। बाबु को थियो होला? सायद आमालाई धोका दिएर यस्तो भयो कि। ऊ नै निष्ठुरी पनि हुनसक्छ।
आमाले फालेर गए पनि सुमनालाई बाबुले किन लगेनन् होला? आफ्नै सन्तानको जिम्मा किन लिएन होला? सुमनाका मनमा यस्तै कुराहरू खेलिरहेका छन्। ऊ जति उमेर बढ्दै गयो, त्यती सोच्ने हुन थाली। यस्तै कुराहरूले मनमा उत्सुकता जगाइरहन्छ र बेलाबेलामा सोचमा पुग्ने गर्छे सुमना।
उसले लोचन गौचनका बुढाबुढीबाट माया नपाएकी भने होइन। ऊ नबुझ्ने हुँदासम्म उसका बुवाआमा उही थिए। बुझ्ने भएपछि पनि उसले माया र स्नेहमा केही फरक पाइन। लोचन दम्पतीमा सुमना जति-जति प्यारी भई, त्यति-त्यति ऊ सहजै हुर्कन थाली। लोचनका अरु छोरा-छोरी थिएनन्। उनीहरू अस्पतालमा उपचारमा बसिरहेको बेला आमाले बच्चा छोडेर भागेको हल्ला भयो।
लोचनकी श्रीमती बेडमा थलिएकी थिइन्। लोचन भने कहिले डाक्टरसँग, औषधि किन्न र फलफूल किन्न यता-उता गरिरहन्थे। त्यतिबेला उनी सुमनालाई हेर्न गएका थिए। सुमना कतिखेर चिच्याउँथी र कतिखेर मस्त निदाउँथी। नर्सहरूले उसको सबै ख्याल गरिरहेका थिए। मान्छेहरू आउने जाने गरिरहन्थे। कतिपयले आमाप्रति रिस प्रकट गरिरहन्थे।
कतिपयले 'कस्तो निष्ठुरी आमा रहिछ' भन्दै आक्रोश पोख्थे।
कतिले बाबु बारे जान्न खोज्थे।
धेरैको अनुमान- 'बाबुले धोका दिएर आमाले छोडेर गएकी हो' भन्ने थियो।
महिलाहरू भन्दै थिए- 'आमाको मन त्यस्तो निष्ठुरी हुँदै हुन्न। हामीलाई थाहा छैन बच्चाको माया कति हुन्छ!'
यो घटनाले सबैको मन अमिलो बनाएको थियो। परिस्थिति जेसुकै भए पनि मानिस कतिसम्म निष्ठुरी हुँदोरहेछ भन्ने कुरा यो घटनाले स्पष्ट पारिदिएको थियो।
श्रीमतीलाई पिसाबसम्बन्धी समस्या देखिएर टिचिङ अस्पताल भर्ना भएका लोचनलाई यो कुरा मनमा बिझ्यो। उनले एक-दुई दिनसम्म मनमा कुरा खेलाइरहे। त्यो अलपत्र बच्चाको पीडाले लोचनलाई घोचिरह्यो। उनका पनि बच्चा भइसकेको थिएन। उनीहरूले बिहे गरेको तीन वर्ष भैसकेको थियो। के कारणले बच्चा नभएको हो भनेर चेक भने गराएका थिएनन्।
अझै उनीहरूमा सन्तान प्राप्तिको आशा भने थियो। त्यही घटनाले उनीहरूलाई छोयो। त्यो निर्दोष बच्चीमा आफ्नै सन्तानको गुण देखे। सल्लाह गरे। लोचनकी श्रीमती राजी भइन्। लोचन पनि खुसी भए। बच्चालाई घरमा ल्याए। बच्चालाई स्याहार गर्न सिके। अनि उसको नाम राखे सुमना।
त्यसपछि त्यो घरमा ऊ सुमना भएर हुर्की। सुमना छोरी भएर फक्रिई। काठमाडौंको चिसो हावापानीमा फूलजस्तै भएर फक्रिई। सुमना गोलो अनुहार भएकी र गोरी थिई। छिमेकका साथीहरू कोही जिस्काउँदै गोफ्ली भन्थे। ऊ त्यस्तै गोफ्ली थिई। अनुशासित थिई। इमान्दार थिई। पढाइमा पनि मेहनती थिई।
उसले धेरैपछि लोचन दम्पती आफ्नै बुबा-आमा होइनन् भनेर थाहा पाएकी थिई। आफ्नै आमाको काख पाए छुट्टै कुरा, होइन भने उसका लागि आफ्ना र अरुका भन्ने कुरामा कुनै सरोकार नै थिएन। ऊ के चाहन्थी उसका लागि त्यो सरोकार थियो। भोक लागेको बेला खाना, स्नेह, लुगा र कपडाको सरोकार थियो। लोचन पनि सरकारी पेशामा अधिकृत तहमा काम गर्थे। उनीहरूलाई खाना लाउन दुःख थिएन। सबै पुग्ने नै थियो। सुमना त्यस्तै वातावरणमा हुर्की। त्यस्तै मायामा हुर्की। त्यस्तै पुलपुल्याईमा हुर्की।
कपिलवस्तु एक-दुई पटक त आएकी थिई। चाडबाडको बेला उनीहरू कहिले कपिलवस्तु त कहिले काठमाडौंमा जम्मा हुन्थे। ठूला बुबाका दुई भाइ छोराहरू थिए- सुमन र अमन। एकपटक तिहारमा सुमनाले टीका पनि लगाइदिएकी थिई। रमाएर एक साल दसैँमा कपिलवस्तुमै बसेकी थिई।
त्यहाँको ठाउँ, गाउँ र मान्छेसँग सामान्यतः परिचित नै थिई तर त्यहाँको वातावरणमा उसलाई भिज्न समय लाग्ने भयो। स्कुल जानु, खेतीपाती गर्नु, दाउरा-घाँस गर्नु सबै उसका लागि जिम्मेवारी र कर्तव्य हुँदै थियो। उसलाई त्यसमा अभ्यस्त हुनु थियो। छिमेकी स्कुले केटीहरू र पल्लो घरका अंकल-अन्टीहरू कुनै नौला अनुहार त थिएनन् तर काठमाडौँ नै छोडेर सधैंका लागि आउनु उसका लागि नयाँ थियो। जिन्दगी कपिलवस्तुमै बिताउनु उसका लागि अनौठो थियो। अब कपिलवस्तु कोपवाको स्कुल धाउनु उसका लागि नयाँ थियो।
सुमनाले यो किशोर उमेरमै नयाँ कुरामा कसरी घुलमिल हुने भनेर सिक्नु थियो। कसरी नयाँ साथीहरूसँग व्यवहार गर्ने सिक्नु थियो। कसरी नयाँ परिवेशमा बाँच्ने सिक्नु थियो। ठूलोबुवाको परिवार, ठूलीआमा र सुमन, अमन दाइहरू नौला नभए पनि अब उनीहरूसँग दैनिक मिल्नु जरुरी थियो। उनीहरूसँग आत्मीय हुनु जरुरी थियो। सुमनाले अब धेरै कुरामा आफूलाई समायोजन गर्न आवश्यक थियो।
भर्खरै चौध वर्ष कटेपछि सुमना ठुली देखिएकी थिई। उसलाई पनि त्यस्तै लाग्न थालेको थियो। भर्खरै बैँस चढ्दै थियो। ऊ आफैमा अनौठो अनुभव गर्दै थिई। शरीरका अंगहरू पुस्ट हुँदै थिए। छाती बाहिर आउँदै थियो। ऊ ऐनामा आफैलै आफैलाई हेरेर दङ्ग पर्थी। छातीका आकार, अनुहारको चमक र रजस्वलाको अनुभवले ऊ रोमान्चित त हुन्थी नै। त्योभन्दा पनि ऊ काठमाडौंमा कसैको प्रेममा पर्दै थिई। उसलाई आफ्नै कक्षाका केही केटाहरू मनपर्न थालेको थियो।
अंग्रेजी पढाउने मनोज सरलाई प्रेमका आँखाले हेर्न थालेकी थिई। सरसँग फुर्सदमा जिस्कन पनि थालेकी थिई। उसलाई लोचनका दम्पती बाहेक अरु कोही चाहिएको थियो। उसका कुरा अरुलाई सुनाउन चाहन्थी। मन मिल्ने साथीसँग बिदाको दिनमा एक्लै-एक्लै घुम्न चाहन्थी। तर हेर्दा-हेर्दै लोचन दम्पतीले उसलाई सधैँलाई छोडेर गए।
कपिलवस्तु आए पनि उसको त्यो मन भने फेरिएको थिएन। उसको ठाउँ फेरिएको थियो। उसको रेखदेख गर्ने परिवार फेरिएको थियो। उसको पढ्ने स्कुल फेरिएको थियो। उसका साथीहरू फेरिएका थिए तर, उसका भावना र चाहना फेरिएका थिएनन्। ऊ स्कुल जान थाली। ठूलोबुवाका बुढाबुढीले राम्रै हेरचाह गरेका थिए। सुमनालाई साना-साना कुरा पनि सोधीरहन्थे। सुमन र अमन पनि घुलमिल हुँदै थिए। उनीहरू जुम्ल्याहा थिए। अहिले प्लस टु पढ्न नजिकैको क्याम्पस जान्थे। प्लस टु पनि लगभग सकाउन लागिसकेका थिए।
सुमनालाई ठूलोबुवाले साइकल किनिदिए। तराईमा साइकलको ज्यादा चल्ती थियो। मोटरसाइकलको पनि चल्ती बढ्दै थियो। तर सबैले किन्न सक्दैनथे। जागिरे, व्यापारी र अलि हुनेखानेहरू मात्र चलाउँथे। स्कुल जानलाई त साइकल धेरै उपयुक्त थियो। बोर्डिङ स्कुलका बच्चालाई लिन स्कुल बस आउँथ्यो। सरकारी स्कुलमा त त्यो हुने कुरै भएन। स्कुल अलि टाढा थियो। लगभग तीन किलोमिटर टाढा थियो।
स्कुलमा उसले साथी बनाई। साइकल चलाउन सिकी। उसको साथी लक्ष्मण भयो। गाउँको पल्लो कुनामा उसको घर थियो। मधु, रमा र सुमा पनि साथी भए। सुमन र अमनले हाटबजार लिएर जान्थे। उसले धेरै कुरा हेर्न पाएकी थिई।
सुमनले उसलाई सोध्यो- 'जिलेवी खान्छौ सुमना?'
उसले बुझिन र भनी- 'के हो जिलेवी भनेको?'
सुमनले हाटबजारमा जिलेबी देखायो। उसले भनी- 'यो त जेरी हो त दादा। जिलेबी भनेको त थाहा नै थिएन।'
बजार लागेको दिन सुमन र सुमना भएर जेरी खान गए। अरु सामानहरू पनि हेरे। सुमनाले आफूलाई चाहिने एक-दुई कुरा पनि किनी।
सुमनले सोधेको थियो- 'कस्तो लाग्यो तराईको बजार? तिमीलाई रमाइलो लाग्यो कि नाई?'
सुमनाले बताएकी थिई- 'रमाइलो हुने रहेछ। घरतिर सुनसान भए पनि धेरै मान्छे देख्न पाइने रहेछ।'
अनि उसले थपी- 'काठमाडौंमा त सधैँ यस्तै भिड हुन्छ तर बजार लाग्ने भन्ने त हुन्न।'
ठूलोबुवासँग सुमन र अमनलाई लिएर काठमाडौँ गएको बेला सबैजना घुम्न गएका थिए। असन बजारमा गएर ठूलोबुवाले केही भाँडाहरू किनेका थिए। सुमनाले आफू सानी भए पनि त्यो बेला घुमेका सबै कुरा सम्झी।
घरभन्दा अलि पर नहर थियो। वाणगंगा खोलाको पानी नहर बनाएर ल्याइएको थियो। त्यही पानीले किसानहरू सिँचाइ गर्छन्। अमनले सुमिनालाई आज नुहाउन र लुगा धुन जाने भनेर नहरतिर लग्यो।
सुमनाले भनेकी थिई- 'मलाई पौडी खेल्न आउँदैन दादा। नभए म घरमा ठूलोममीसँग लुगा धुन्छु नि।'
अमनले भन्यो- 'पौडन म सिकाउँला घरमा जस्तो नल (कल) चलाउनु पर्दैन। लुगा धुन सजिलो हुन्छ।'
सुमनाले 'तपाईंले लुगा धुनुपर्छ नि अनि मात्र जान्छु' भनि।
अमनले हुन्छ भनेर उनीहरू नहरतिर गए। साँझ पाँच बज्न लागेको हुँदो हो, सुमन पनि आइपुग्यो। सुमनाले ठूलोबुवाका, अमनका, सुमनका र आफ्ना केही लुगा धोई। ऊ लुगा धोइवरी छेउमा बसेकी थिई।
सुमनले बोलायो- 'आउ सुमना पानीमा खेल्न।'
उसले भनी- 'पौडी खेल्न आउँदैन। डुब्छु म त।'
'डुब्दैनौ, हामी छौं। बचाइहाल्छौँ नि,' अमनले झन् बढी कर गर्यो।
उसले भनी- 'मलाई केही भयो भने म त ठूलोबुवालाई कुरा लाइदिन्छु।'
त्यही सहमतिमा ऊ नहरको पानीमा हामफाली। हातखुट्टा चलाउन नजानेर किल्लिक-किल्लिक भई। सुमन र अमनले हातमा समाएर बाहिर निकाले।
अमनले भन्यो- 'होइन, एक महिनालाई पुग्ने पानी खायौ कि क्या हो।'
सुमनाले भनी- 'अलिअलि त खाएँ। नाकबाट पानी पस्यो सास फेर्न सकिनँ। झण्डै मरेकी।'
डिलमा बसेको बेला फेरि सुमनले सुमनालाई पानीमा धकेल्यो। फेरि सुमन आफै गएर हातमा समाउँदै बाहिर निकाल्यो। सुमनाले सुमनको ढाडमा रिसाएर एक झापड मारी। सुमना डिलमा बसी। सुमन र अमन एकछिन पौडी खेलिरहे। सुमनालाई पानीबाट निस्केपछि अप्ठ्यारो लाग्यो। लुगा पूरै भिझ्यो। भिजेका लुगा टाँसिएर शरीरका अङ्ग बाहिर देखिए। उसलाई दाइहरूका अगाडि अप्ठ्यारो भयो। अलि साना भुराहरू त केही नलगाई पानीमा हामफालीरहेका थिए। छेउमा केही आइमाईहरू लुगा धुँदै थिए।
उसले 'अब जाने होइन दादाहरू?' भनेर बोलाई।
सुमन र अमनले एकै स्वरमा 'जाने-जाने' भने।
स्कुलमा सुमना सबैको आँखामा परेकी थिई। उसको अंग्रेजी राम्रो थियो। काठमाडौंमा बोर्डिङमा पढेकी र सहरिया केटी भएकीले अलि अगाडि थिई। लवाई-खवाईमा पनि ध्यान दिन्थी। कक्षामा सरहरूले सोधेको कुरा भन्थी। सरहरूले पनि उसलाई माया गर्न थालेका थिए। अलि पढ्ने र जान्ने विद्यार्थीमा गनिन थालिसकेकी थिई।
घर पछाडि ठूलो करेसाबारी थियो। छेउमा दुई वटा आँपका रूखहरू थिए। ठूलोबुवा र ठूलोममी धेरै समय करेसाबारीमा बिताउँथे। सुमना पनि उनीहरूसँगै जान्थी। उसलाई त्यो पनि सिक्नु थियो। तर यो उसको उमेर त नयाँ कुरा सिक्ने नै हो। सुरुआत नगरेको, नसोचेको र लोचन दम्पतीले नसिकाएको कुराहरू सिक्नु थियो।
करेसाबारीमा गएको बेला ठूलोममीले सोधिन्- 'तिमीलाई त खनजोत गर्न के आउँछ र? म सिकाउँछु।'
सुमनाले चासो देखाउँदै भनी- 'अब सिक्नु पर्यो नि ममी, काठमाडौंमा पो जग्गा थिएन र।'
ठूलोममीले थपिन्- 'ठूलोबुवाले खन्नुहुन्छ हामीले मल हाल्ने, पानी हाल्ने, बिरुवा सार्ने है त?'
सुमनाले 'हुन्छ' भनी।
पानी चाहार्न सुमनाले यता बसेर नल चलाई। ठूलोममी र ठूलोबुवाले पाइप जोडेर धेरै बिरुवामा पानी हाले। करेसाबारीमा मौसम अनुसारको तरकारी हुन्थ्यो। तराई भए पनि चैत/वैशाखमा पानीको हाहाकार हुन्थ्यो।
एकदिन ठूलोबुवाले भन्नुभयो- 'सुमनाले लगाएको तरकारी त मज्जैले फल्यो। छोरीले पाल्ली जस्तो छ है हामीलाई।'
सुमिना पहिले पनि सहयोगी थिई। लोचन दम्पतीकी प्यारी छोरी भएर बसेकी थिई काठमाडौँमा। यता पनि ऊ उस्तै छे र हुन चाहन्छे। भनेको मान्ने, सिक्न खोज्ने, बोल्ने, नजिक हुन खोज्ने उसको त बानी नै हो।
जतिबेला उसले थाहा पाई उसका बुवाआमा उनीहरू होइनन्, ऊ ज्ञानी भएर बसी। त्यसो त लोचनका बुढाबुढीले सुमना कसरी उनीहरूसँग आई भन्ने कुरा कहिल्यै पनि भनेनन्। भन्न पनि चाहेनन् होला। सायद उनीहरूलाई थाहा पो भयो कि सुमनाको जन्मदिने आमाबुवाको बारेमा। यो बारेमा त्यो बेला घरमा कहिल्यै कुरा भएन। सुमनाले सुनी, थाहा पाई तर सोध्ने आँट नै गर्न सकिन।
यो कुरा उसले अरुबाट सुमना घरमा छैन भनेर बोलेको बेला सुनेकी थिई। तर कसैले पनि उसलाई कहिल्यै पनि नराम्रो व्यवहार गर्न खोजेनन्। उसले काठमाडौँमा सबैबाट राम्रो माया पाइरही। आखिर कपिलवस्तु आए पनि उसले उस्तै माया र सहयोग पाएकी थिई। उसका लागि सुमन र अमन पनि साथीजस्ता भएका थिए।
कहिलेकाहीँ जंगल दाउरा लिन जानु, गोठालो जानु, करेसाबारीमा तरकारी लगाउनु उसका सामान्य कामहरू थिए। सुरु-सुरुमा यी सबै गर्न उसलाई हम्मे-हम्मे पर्थ्यो। काठमाडौंबाट आउँदा ताका उसको अनुहार अग्लिसकेको थियो। त्यो पोटिलोपन हराइसकेको थियो। ऊसँग थियो जवानीको पोटिलोपन, बोलीको मिठोपन र सबैसँग घुलमिल हुने बानी।
घरमा चार वटा कोठाहरू थिए। सुमन र अमन एउटा कोठामा सुत्थे। सुमना अर्कै कोठामा सुत्थी। ठूलोबुवा र ममीले एउटा कोठा चलाएका थिए। बाँकी बचेको कोठा बैठक कोठा र पाहुना सुत्ने कोठा भएको थियो। सुमना प्रायः पढ्ने बेलामा सुमन-अमनको कोठामा हुन्थी। उनीहरूले सिकाइ पनि दिन्थे। सुमनाले पनि धेरै प्रश्नहरू गर्थी।
सुमना सुमन र अमनसँग विस्तारै खुल्न थालेकी थिई। उनीहरूले पढ्ने सिद्धार्थ क्याम्पस त्यस्तै पाँच किलोमिटर टाढा हुँदो हो। उनीहरू साइकल चलाएर क्याम्पस जाने आउने गर्थे। सुमना राजधानीमा हुर्केकी केटी थिई। त्यसैले उसले सुमन-अमनलाई गर्लफ्रेन्डका कुरा गरेर जिस्काउँथी।
दुवैजनाले भन्थे, 'बहिनी गर्लफ्रेन्ड त छैन, पहिला प्लस टु त सकौँ अनि सोचौँला।'
अनि दुवैले सोधे- 'तिम्रो ब्वाइफ्रेन्ड थियो कि नाई? काठमाडौंमा त नर्सरीदेखि ब्वाइफ्रेन्ड-गर्लफ्रेन्ड हुन्छन् रे।'
उनीहरूले सुमनालाई उत्सुकता साथ काठमाडौंका कुराहरू सोध्थे।
उसले भनेकी थिई- 'ब्वाईफ्रेन्ड त थिएन दादा तर एउटा केटा चाहिँ मन पर्न थालेको थियो।'
अमनले भन्यो- 'यहाँको स्कुलमा कोही मन परेन तिमीलाई?'
सुमनाले उत्तर फर्काई- 'कोही मन परेन। सबै पाखे-पाखे जस्तो लाग्यो मलाई त।'
उनीहरू साइकल लिएर घुम्न निस्कन्थे। नहरका छेउ, खोलाका बगर अनि लक्ष्मणघाट बाँधका वरिपरि उनीहरू पुग्थे। उनीहरूको गाउँ अमौलीनिर केही पहाडबाट बसाइ-सराई गरेका पहाडेहरू थिए भने त्यसैको पल्लो छेउमा ठूलो थारु बस्ती थियो। सुमन र अमन थारू साथीहरूको पछि लागेर माछा मार्न गइरहन्थे। घरमा माछा लिएर आउँथे तर उनीहरूले बुबाआमाको सधैँ गाली खाइरहन्थे। प्रायः उनीहरू बुबा-आमा नभएको बेला माछा मार्न जान्थे।
सुमनाले ठूलोममीलाई भान्सामा सघाइरहन्थी दाल पकाउन, सागसब्जी बनाउन र अचार बनाउन पनि मज्जैले जानेकी थिई। नजानेका कुराहरू ठूलोमम्मीलाई सोध्ने गर्थी। यी सबै कुरा उसले काठमाडौंमा सिकेकी थिई। धेरै कुरा सिकेकी थिई तर पनि धेरै कुरा जानेकी थिइन। अर्थात् सिक्न धेरै कुराहरू थिए। सुमना खासगरी भान्साको कुराहरूमा धेरै कुरा सिक्न चाहन्थी र उसलाई बढी रुचि थियो जुन कुरा उसले काठमाडौँमा लोचन दम्पतिले पनि सिकाएका थिए।
एकदिन घरमै सुमनाले खाना पकाइरहेकी थिई। सुमन भान्सामा पस्यो। उसले सुमनाको आँखा थुन्यो। बेला-बेला अमन र सुमन जिस्किने चल्ने गरिरहन्थे।
उसले भनी- 'आज दिनभरि कहाँ हराइसेको दादा?'
सुमनले आँखा थुनीरह्यो र फेरि सुमनाले भनी, 'ल, यो के गरिस्यो फेरि।'
सुमनले भन्यो- 'तिमीलाई एउटा गिफ्ट ल्याइदिएका छौँ। के हो भनेर मिलाए मात्र दिन्छौं।'
सुमिनाले अनुमान लगाई- 'स्यान्डिल होला। मिल्यो?'
गल्लीमा लुकेको अमन 'मिलेन' भन्दै करायो।
अमनले अब चाहिँ सुमिनाले गिफ्ट पाइन भन्दै कोठातिर गयो।
सुमिनाले सुमनसँग जिद्दी गर्न लागि। 'के हो, मलाई चाहिन्छ है' भन्दै घुर्की लगाइरही।
अलि केटाकेटी उमेर भएर होला उसले जेरी खुब मन पराउँथी। काठमाडौंमा नपाइने कुभिन्डोको मिठाई पनि उसलाई मन पर्थ्यो। ठूलोबुबा र ठूलोममीसँग बजार जाँदा र दाइहरूसँग बजार जाँदा खुन्चामटर र चाट खाना कहिल्यै छुटाउँदिनथी।
ठूलोबुवासँग मात्र जाँदा भने ऊ चुपचाप रहन्थी। उनले चाहिने कुरा सोधी-सोधी किनिदिए पनि नचाहिने कुरामा भने अलि कडा नै थिए। पहिला इन्डियन पुलिसमा काम गरेर रिटार्यड भएका ठूलोबा अलि हकी स्वभावका थिए।
सुमनाको अर्को एक वर्ष बितिसक्यो। नौ कक्षा सकेर दस कक्षामा पुगी। सुमना अझ ठूली भई। अझ धेरै बुझ्ने भई। धेरै जान्ने भई। गाउँघरमा घुलमिल हुन सिकी। सहरिया जीवनभन्दा अभावको जिन्दगी के हो बुझी। गाउँको भाषा बोल्न सिकी। थारु समुदायका साथीहरू बनाई- झिन्की, सोनवा र नथुनिया।
स्कुलको साथी लक्ष्मण भयो। अनिता, गीता र दीपाहरू पनि उसका साथी भए। उनीहरू पल्लो गाउँका थिए। त्यो उमेरमा साथीहरूकोमा त्यति आईजाई हुँदैन थियो। घरमा ठूलोबुवा-ठूलोममीले त्यसरी हिड्न दिँदैनथे। ऊ केटी मान्छे भई। उसलाई बन्देज थियो। समाजको बन्देज थियो। सुरक्षाको बन्देज थियो।
लक्ष्मण भने उही गाउँको थियो। स्कुल समयमा बाहेक उसलाई सुमनालाई भेट्न सहज थिएन। ऊ केटी मान्छे थिई। ऊ केटा मान्छे थियो। त्यो गाउँलाई सहरले छोएको थिएन। यसो केही देख्यो कि गाउँमा कुरा काट्न सुरु हुन्थ्यो। सुमनाले कुनै प्रेमको आँखाले लक्ष्मणलाई हेरेकी त थिइन तर नजिकिएकी भने थिई। सुमना भने एक-दुई पटक लक्ष्मणको घर गएकी थिई। लक्ष्मण पनि उसको घर आएको थियो।
महिनाहरू यसै बितिरहेका थिए। वर्षहरू यसै बितिरहेका थिए। सुमना हलक्क बढ्दै थिई। चौध-पन्ध्र वर्षमा टेकेकी सुमना बैँसले मैमत्तजस्ती हुने नै भई। स्कुले केटाहरूले, पल्लो गाउँका केटाहरूले बाटो परेको बेला जिस्काउन थालेका थिए। स्कुलमा केटाहरू पनि विभिन्न बहाना बनाएर नजिकिन खोज्थे। तर उसलाई कोही मनले खाएको जस्तो लाग्दैनथ्यो। पढाइका हिसाबले, सरसफाईका हिसाबले र आत्मीयताका हिसाबले उसलाई लक्ष्मण ठिकै लाग्थ्यो।
बाहिरी कुरामा भने ऊ पनि त्यति जानेको नै थिएन। लक्ष्मणले काठमाडौँ कहिल्यै देखेको थिएन। उसका केही आफन्त काठमाडौंमा थिए तर उनीहरू भेटघाटको लागि तराई आउँथे। लक्ष्मण र उसका बुबाआमा कहिल्यै काठमाडौँ जानु परेको थिएन। अझ गाउँको मान्छे बिरामी भएको बेला उपचार नगरी नहुने भएमा मात्र काठमाडौँ जान्थे। हुन त काठमाडौँ लामो बाटो थियो। आज गएर भोलि फर्कने अवस्था थिएन। एकैदिनमा फर्कन सक्ने भए त लक्ष्मण बुबालाई भनेर एकपटक भए पनि जान्थ्यो होला।
स्कुलबाट घर फर्कंदा सुमनाले काठमाडौंका बारेमा धेरै कुरा सुनाएकी थिई। ऊ टाउको मात्र हल्लाउँथ्यो। कति कुरा बुझ्थ्यो कति उसको सोचाइभन्दा बाहिरका थिए। सुमना र लक्ष्मण अलि नजिकका साथी भए तर त्यो स्कुलदेखि घर आउने बेलासम्म मात्र थियो। घरमा हुँदा उसका साथी मधु, रमा हुन्थे, लक्ष्मणका अरु नै केटा साथीहरू हुन्थे।
लक्ष्मण माछा मार्थ्यो, खेतीपाती गर्थ्यो र दाउरा लिन जंगल जान्थ्यो। गाउँघरमा हुँदा उसका आफ्नै साथीहरू थिए। प्रकाश, नाथु र शिव उसका मिल्ने साथी थिए तर उनीहरू उसका स्कुलका साथीहरू पनि थिए। तर उनीहरू एउटै कक्षामा थिएनन्। पढाइको कुरा भने मिल्दैनथ्यो। उसको बुवा खेती किसानी गर्थे। लक्ष्मणकी एउटी बहिनी पनि थिई। ऊ सानै थिई। विस्तारै स्कुल जना थालेकी थिई।
गाउँमा क्यारेमबोर्डको चलन खुब आएको थियो। घर-घरमा किन्ने हैसियत त कसैले पनि राख्दैनथे। सामान्यतः महंगो पनि पर्न आउँथ्यो। घरमा पनि बाबुआमाले त्यो अनुमति दिँदैन थिए। बढी अल्लारे केटाहरू मात्र बढी क्यारेम खेल्न रमाउँथे। पढाइ छोडेका र बेरोजगार युवा बढी हुन्थे। चोकमा टेङ्की (पसल) गरेर बस्ने झिन्का दाइले भर्खर नयाँ क्यारेम ल्याएका थिए। केटाहरूको भिड लाग्थ्यो। चार जना खेल्ने हुन्थे भने अरु सबै हेर्ने हुन्थे। सुमन र अमन पनि बिदाको दिनमा क्यारेम खेल्न जान्थे।
घरमा ठूलोबुवाले भने अनुमति दिँदैनथे। तर झगडा गरेर भए पनि उनीहरूलाई क्यारेम खेल्नु पर्थ्यो। सुमना झिन्का दाइको टेङ्की पारेर कतै गएको बेला लक्ष्मणलाई क्यारेमको वरिपरि झुम्मिएको देख्थी। सुमना र ठूलोममी भएर कहिले घाँस काट्न जान्थे, कहिले कता निस्किरहन्थे। ठूलोममीले घरमा गोरसको दुःख भो भनेर एउटा लैनो भैंसी बधुवा बनाएर पालेकी थिइन्।
कहिले स्कुल, वनपात र टोल छिमेक घुम्दै उसका समय बितिरहेका थिए। सुमन र अमन पनि बाह्र सकाएर अब बिए (बीकम) पढ्ने तर्खर गर्दै थिए। उनीहरू दुवैजना बुटवल जान्छौं भन्दै थिए। ठूलोबुवाले जितपुरमा त्यहीँ विषयको पढाइ हुन थालेकोले यहीँ पढ्ने भन्दै थिए। उनको भनाइ दुई भाइलाई बुटवलमा राखेर खर्च धान्न नसक्ने भन्ने थियो। पेन्सनको पैसा त आउँथ्यो तर अलिअलि रक्सीमा खर्च गर्थे, अरु घरखर्च र चाडबाडमै सकिन्थ्यो।
आखिरमा सुमन र अमन चार नम्बरको सिद्धार्थ क्याम्पसमा भर्ना भए। क्याम्पस पुग्न चालिस पैतालिस मिनेट जति लाग्थ्यो। उनीहरूले बाह्र कक्षा पनि त्यहीँबाटै सकेका थिए। हेर्दाहेर्दै मेनेजमेन्टको पहिलो वर्ष पनि उनीहरूले पढेर सकाए। दुवैजना अलि पाका हुन थालिसकेका थिए। सुमन र अमन विस्तारै ठूला भैसकेका थिए।
घरमा बिहेको कुरा चल्न थाल्यो। सुमना दुवैजनालाई गर्लफ्रेन्ड होला नि भन्दै जिस्काइरहन्थी। ठूलोबुवा पनि अब छोराहरूको बिहे गर्नुपर्छ भनेर आत्तिएका छन्। त्यो बेला लगभग अठार, उन्नाइस पुगेपछि केटाहरूले पनि बिहे गर्ने चलन थियो। केटीहरू त स्कुल पढ्दा-पढ्दै कति बिहे गरेर जान्थे।
सुमन र अमन भने अहिले बिहे नगर्ने भन्दै थिए। तर दोस्रो वर्षको परीक्षा दिएपछि भने बिहे गर्न राजी भए। त्यो बेला एक्काइस वर्षका पुग्ने भए। सुमनले त झन बोर्डिङ स्कुलमा जागिर पाएको थियो। ऊ बिहान पढ्न जान्थ्यो अनि आएर स्कुल धाउथ्यो। अमन भने सामाजिक क्लबहरूमा कुद्न थालेको थियो। ऊ पनि आफ्नो खर्च निकाल्न सक्ने भैसकेको थियो।
ठूलीआमाले दाजुभाइसँग स्वर बुझ्न थालिन्। घरान पनि चाहियो। अलि चिनेजानेको परिवार भए अझ राम्रो हुने निचोड बाबुआमाले निकाले। यसमा सुमना घरमा नयाँ मान्छेको आगमन हुने भयो भनेर खुसी भई। को हुने होला त्यो मान्छे, कस्तो हुने होला। सुमनाका मनमा यस्तै कुराहरू खेलिरहे। अब एउटै घरमा मिलेर बस्नु पर्ने हुन्छ। मिल्ने मान्छे भए त हुने नि। ऊ ठूलोबुवा र दुई दाजुभाइसँग पनि नजिक भएकी छे। बल्ल आफू पनि परिवारको सदस्य भएको महसुस गरेकी छे। रमाइलो लाग्दै छ। गाउँ/टोलमा सबैकी प्यारी भएकी छे।
एकदिन सुमना स्कुल गएर उत्तिखेरै घर फर्की। माओवादीले स्कुल बन्द गरेकोले पढाइ भएन। त्यो बेला माओवादीको त्राही-त्राही थियो। सबैजना डराउथे। एक पिरियड पनि पढ्न पाइन। एघार नबज्दै घर आइपुगी। एसएलसी दिने साल उसको अब ट्युसन पनि सुरु हुने लागेको छ। कामता चौधरी सरले गणितको ट्युसन पढाउन थालिसकेका छन्। स्कुलका साथीहरू सल्लाह गर्दै छन् कुन-कुन समूहमा पढ्ने भनेर। लक्ष्मण र सुमना एउटै समूहमा पढ्ने भनेर विचार गर्दै छन्।
लक्ष्मणलाई सुमना राम्रो लाग्न थालेको छ। सुमनाले पनि लक्ष्मणलाई पछ्याउन थालेकी छ। लक्ष्मण पढाइमा पनि अब्बल केटा थियो। सुमिना पनि मेहनती थिई। तर उनीहरूबीच खुलेर आउ-जाउ गर्न अलि सजिलो भने थिएन। लक्ष्मण पनि कता-कता सुमना तिर आकर्षित भएको महसुस गरिरहेको थियो। सोह्र/सत्र को उमेर नै त्यस्तै हुने, मायावी कल्पनाहरू उसको मनमा पनि खेल्न थालिसकेका थिए। साँच्चै भन्ने हो भने सुमनालाई हेर्ने दृष्टिकोणमा ऊ एकतर्फी भएको थियो।
कोठामा ठूलोबुवा, ठूलोमम्मी, सुमन र अमन गाइगुई गरेको सुनियो। सुमनाले अर्को कोठामा ड्रेस फेर्दै थिई।
एक्कासी ठूलो आवाज आयो- 'बिहे नै गर्ने भए म सुमनासँग गर्छु। आखिर ऊ आफ्नै बहिनी पनि होइन।'
फेरि अर्को आवाज आयो 'म पनि त बिहे गर्न तयार छु। सुमनासँग कुरा गरेर म बिहे गर्छु ऊसँग।'
सुमनाले यी दुवै कुरा सुनी। पहिला सुमन बोलेको थियो। त्यसपछि अमन बोलेको थियो।
फेरि एकछिनमा ठूलोबुवा बोले- 'घरमा छोरी बनाएर राखेको मान्छेलाई कसरी बिहे गर्छौ हँ?'
फेरि थपे- 'तिहारमा टीका पनि लगाएको मान्छेलाई यसो भन्न पाप लाग्दैन?'
सुमनले भन्यो 'एउटै कोखबाट जन्मेको होइन। उसलाई त हामीले शरण दिएको हो। पहिला छोरी भनेर बसी, अब बुहारी भएर बस्छे। के भो त।'
अनि ठूलीआमा ठूलो स्वरमा कराइन्- 'तिमीहरू असत्तिहरूले हाम्रो नाकै काट्ने भयौ। गाउँमा के भनेर मुख देखाउनु। सुमनासँग के भनेर कुरा गर्छस्।'
अनि फेरि थपिन्- 'सुमनाले के सोच्ली। तिमीहरूले यस्तो सोचेको हल्ला गाउँघरमा भयो भने थुक्छन् तिमीहरूलाई।'
ठूलोवुवाले सोधे- 'यस्ता कुरा गरिसकिस् र सुमनासँग? अब यस्ता कुरा गरिस् भने घर छोडेर जाओ। '
अमनले थप्यो- 'किन कुरा गर्नु? सुमनले होइन, मैले बिहे गर्छु सुमनासँग। आखिर एउटै घरमा त हुने हो अहिले पनि, बिहेपछि पनि।'
ठूलीआमा भक्कानिँदै बोलिन्- 'आफ्नै घरमा जन्ती आउँछस्? कि खेताला लिएर आउँछस्? नचाहिने कुरा गर्दो रैछ। अब उप्रान्त एक शब्द बोलिस् कि मुख च्यातेर पातमा राखिदिन्छु।'
सुमनाले पल्लो कोठाबाट सबै कुरा एक-एक सुनी। आफू बसेको कोठा पूरै घुमेको जस्तो भयो। लामो श्वास तानी। उसलाई त लागिरह्यो कि अहिले सुनेको कुरा असत्य हो। यस्तै भैदेओस् पनि। उसले आफैले आफैलाई विश्वास गर्न सकिन। यो के भइरहेको छ? मान्छेहरू के सोचिरहेका छन्? उसले सम्बन्धको, आत्मियताको र स्नेहको पूरै पर्खाल ढलेको महसुस गरी। आफ्नो मान्छे वरिपरि कोही नभएको महसुस गरी।
उसले आफूलाई जन्म दिने आमालाई सम्झिने प्रयास गरी। तर, कुनै प्रकारको आकृति आँखामा आउन सकेन। जन्म दिने बाबुलाई पनि सम्झिने प्रयास गरी। त्यो पनि धुमिल भएर हराएर गयो। न उसले बाबु देखेकी थिई न आफूलाई जन्म दिने आमालाई देखेकै थिई। उसलाई लाग्यो- आमा पक्कै बाँचेकी होलिन्। कतै संघर्ष गर्दै होलिन्। कुनै तरिकाले भेट्न पाए पनि हुने। तर त्यो कुरा तत्कालै सम्भव नभए पनि कुनै बेला त्यो सम्भावना भने अझै टरेको छैन।
उसले आफैलाई सोधी- 'आमाले बिहे गरेकी थिइन् होला कि नाई।'
किन उसलाई बेवारिसे पात्र पारेर गएकी हुन्। जिन्दगीको अप्ठ्यारो घुम्ती नआएको भए आफ्नो सन्तानलाई किन छोडेर जान्थिन् होला र! त्यो बेला आफ्नो बच्चाको माया त अवश्य लाग्यो होला। उसलाई छोड्ने बेला अवश्य मुटु ढुक्क भयो होला। निकै ठुलै आँधिबेहरी नै आयो होला। त्यसैले उसलाई छोडेर गइन्।
सुमनाले धेरैबेर यस्तै सोची। भर्खरै उज्यालो लागिरहेको घर, अब विस्तारै अध्यारो लाग्न थाल्यो। ठूलोबुवा, ठूलोममीको राम्रो प्रतिक्रिया सुने पनि सुमन र अमनका कुराले मन कुँडियो। केटा मान्छेको जातै यस्तै त होलानी भन्ने लाग्यो। उसले सोची- के उनीहरूले उसलाई कपिलवस्तु आएदेखि नै यस्तै नजरले हेर्थे? के खराब विचार राखेर उसलाई घुमाउन लान्थे? के कुत्सीत मानसिकता राखेर उसँग जिस्किने गर्थे? के खराब आँखाले उसका छातीमा हेर्थे? के खराब मनसायले अंगालो मार्थे?
यी सबै सम्झेर उसले आङ सिरिङ्ग भयो। के साँच्चै उनीहरूले उसलाई त्यो मनसायले छोइरहेका थिए। के उनीहरू एउटै मनसायले घण्टौँ कुरा गरेर बिताउँथे? के सुमनालाई नजिक बनाउने आशयले माया गरेका थिए? के तिहारको टीका एउटा नाटक मात्र थियो?
यस्ता धेरै विगत र क्रियाकलापहरू सम्झेर सुमना थलिई। उसलाई घरबाट बाहिर निस्कन मन लागेन। ठूलोबुवा र ठूलोमम्मीको अंगालोमा पनि जान मन लागेन। उनीहरूले कुरा त राम्रै गरेका थिए। तर उनीहरू त डाँडामाथिको जून थिए। त्यसपछि घरका मालिक त सुमन र अमन नै थिए। त्यो मानसिकतामा कुन समथर्न र विरोधले ऊ त्यहाँ बस्ने, त्यो कुराको निर्क्योल नै गर्न सकिन। कुन आत्मीयताले बाँध्ने उसलाई निर्क्योल नै गर्न आएन।
उसले लोचन दम्पतीलाई सम्झी। उनीहरूले दिएको त्यो माया सम्झी। उनीहरूलाई गुमाउनुको पीडा सम्झी। सायद उनीहरूले यो बेलासम्म छोडेर नगएको भए ऊ कपिलवस्तु आउनुपर्ने थिएन। ऊ पनि त्यहाँ स्वतन्त्र हुने थिई। सम्पत्तिको भोगचलन गर्न सक्थी। अठार वर्ष पुगेपछि नाबालिक भनेर शरण पर्नु पर्ने थिएन कि। उसका मनमा धेरै कुराहरू खेलिरहे।
के उसका आमाबाबु (लोचन) का छोराहरू भए कालान्तरमा के यस्तै व्यवहार गर्थे? उसलाई गर्थे होला जस्तो पनि लाग्यो। आखिर भाइभाइका छोराहरूले ऊप्रति यस्तो विचार राखे भने, अर्कोले पनि गर्न के बेर र! त्यस्तै माया त उसले कपिलवस्तुमा ठूलोबुवा-ठूलोममीबाट पनि पाएकी थिई। तर परिस्थिति उल्टो आइदियो, अवस्था उल्टो आइदियो।
उसको एसएलसी आइसकेको थियो। यता मानसिक तनाव भने बढेको बढ्यै थियो। उसले आफैलाई सम्हाल्न सकेकी थिइन। पढ्नु केका लागि भएको थियो। आफ्नो मान्छेको घर मसानघाट भएको थियो। आफ्ना भन्नेहरू नै आफ्ना थिएनन्। दुःख बिसाउने ठाउँ नै थिएन। न त केही आधार नै थियो। अलि नजिकिएका लाग्ने मान्छे सुमन, अमन र लक्ष्मण थिए। उसका लागि उनीहरू पनि टाढा भए।
उसलाई लक्ष्मण पनि टाढाको जस्तो लाग्न थाल्यो। लक्ष्मण पनि आखिर लोग्नेमान्छे न जस्तो लाग्न थाल्यो। सुमनालाई यो घर उकुसमुकुस भयो। ठूलोबुवा र ठूलोमम्मीको माया लागे पनि ऊ खुलेर बोल्न नसक्ने भई। उनीहरूको संवाद घरीघरी मस्तिष्कमा ठोकिरह्यो। त्यसलाई मनबाट हटाउनै सकिन। उसलाई यो घर छोड् मन लाग्यो। स्वतन्त्र हुन मन लाग्यो। जन्मदिने आमा-बाबुलाई भेट् मन लाग्यो। सायद भेटेँ भने मायाले गहिरो गरी चुम्थेँ होला भन्ने लाग्यो।
त्यो दिनदेखि घरमा बिहे बारे कुरा भएको सुमिनाले कुनै चाल पाएकी थिइन। एकदिन सुमना पढिरहेको बेला ठूलोमम्मीले बैठक कोठामा बोलाइन्। सुमना आएर ठूलोमम्मीको छेउमा बसी। सबै चुपचाप थिए। समय सुनसान थियो। एकले अर्काको अनुहारमा पल्याकपुलुक हेरिरहेका थिए। बोल्न कोही सकिरहेका थिएनन्।
सुमन विस्तारै बोल्यो- 'सुमना, बिहे गर्ने भनेर कुरा उठेको धेरै भयो। हामीले त तिमीलाई भित्र्याउने निर्णय गर्यौं, भाइ र ममध्ये एकजना अब तिमीले रोज्नुपर्छ।'
र फेरि थप्यो- 'हाम्रो बिहे गर्न नमिल्ने पनि त्यस्तो केही छैन। चिनेजानेको मान्छे, घरव्यवहार चलाउन पनि सजिलो हुन्छ।'
सुमना अवाक भई। बोल्ने कुनै शब्द नै रहेन। नेपथ्यमा सुनेको आवाज अहिले अगाडि आएर बज्रियो। उसका लागि फरक त्यति थियो। घरमा के भइरहेको थियो, ऊ जानकार नै थिई। उसले राम्रोसँग सास फेर्न पनि सकिन। छाती ढुक्क भयो। नबोली कोठामा गई। ठूलोमम्मी पनि केहीछिनमा आएर सुक्क-सुक्क गर्दै बसिन्। बोल्न भने केही पनि सकिनन्। ठूलोबुवा अर्को तिर हेरेर टोलाइरहे। सायद अब उनको बसमा कुनै पनि कुरा थिएन।
ठूलोमम्मीले सानो स्वरमा भनिन्- 'छोरी, यो सब हाम्रो बसमा रहेन, तिम़ी आफै निर्णय गर, मिलेको सहयोग गरौँला।'
सुमनाले घर छोड्ने निर्णय गरी। तर कहाँ जाने उसलाई थाहा थिएन। दाजुभाइ कोही थिएनन्। ऊ आफै पनि उमेरले पाकी भइसकेकी थिइन। फेरि बिहे गर्ने उमेर पनि भएको थिएन। यो कल्कलाउँदो उमेरमा के प्रलय आइपुग्यो उसलाई। अब त जिन्दगीको पीडा धेरै बुझ्ने भइसकेकी थिई। पीडा बुझेर मात्र के गर्नु जब उसलाई पीडाको पहाडले थिचिसकेको थियो। उसलाई भविष्य बनाउन थियो।
स्कुलमा उसका सरले 'यो केटीले केही गर्छे है' भनेको झल्यास्स सम्झी।
अब त उसलाई मर्नु बाहेक विकल्प छैन जस्तो लाग्यो। तर त्यो पनि समाधान होइन जस्तो देखी। उसले आफैलाई स्कुल पढ्ने साथीहरूसँग तुलना गरी। ऊ त पढाइमा र क्षमतामा सबैभन्दा अगाडि थिई। कक्षा प्रथम विद्यार्थीले यस्तो गर्नु हुन्न लाग्यो। कसलाई सुनाउने यो पीडा। पीडा सुनाएर के नै पो हुन्छ।
रमालाई कसैलाई नभन्ने सर्तमा बेलिविस्तार लगाई। रमा कपिलवस्तु आएदेखिकी साथी थिई। केटी मान्छेको पीडा केटी मान्छेले बुझ्छे कि। त्यो पनि सुन्ने अनि आँसु झार्ने मात्र त हुने भयो। रमाले पनि सकिन्छ भने एसएलसीपछि फेरि काठमाडौँ फर्केर उतै काम गर्दै पढाइ गर्न भनी। त्यो उमेरमा सुमनालाई के नै पो सहयोग गर्न सक्थी र।
सुमनालाई अहिले घरमा बस्न, खान अनि सँगै यताउता गर्न अप्ठ्यारो लाग्छ। ऊ कसैसँग पनि खुलेर बोल्दिन। अझ सुमन र अमनसँग त निकै टाढिएकी छ। बोल्नुको आधार खत्तम भैसकेको छ। त्यस्ता घृणित मानसिकता बोकेर हिँड्नेहरूसँग के बहानामा आत्मीय हुनु, के बहानामा भरोसा गर्नु, के बहानामा दुःख बाँड्नु, के बहानामा उनीहरूसँग जिस्किनु, के बाहानामा दाजुभाइ भनेर लाडिनू!
एउटा साथी भने पनि आफन्ती भने पनि ठूलोमम्मी छिन्। अझै पनि उनीसँग कुरा गर्छे सुमना। उनले पनि जे गर्छौ गर छोरी भनेकी छन्। आफ्नै सन्तान असत्ति भएसी तिम्रो के दोष भनेकी छन्। ठूलोबुवा पनि केटाहरूको लहै-लहैमा लागेर अलि फेरिएजस्तो लाग्छ। सुमनालाई दिन-प्रतिदिन सकस भैराखेको छ। उता एसएलसीको चापा-चाप छ। आफूलाई त्यतै केन्द्रित गराउन चाहन्छे। भविष्य अन्धकारमा पुर्याउन चाहन्ने। ऊ दरो गरी उभिन चाहन्छे।
सुमनाले लक्ष्मणलाई भेटी। मनका कुरा धेरै अट्न नसकेर घरको सबै कुरा सुनाई। उसको आँखाबाट आँसु झरीरहे। लक्ष्मण कालोनिलो भयो। त्यस्ता कुराको कल्पनासम्म गर्न सकेन। खास के भएको थियो, सबै बेलीविस्तार लगाएपछि लक्ष्मणको पनि सातो-पुत्लो गयो। ऊ किम्कर्तव्यबिमूढ भयो। के बोल्ने, के भन्ने, सोच्न अनि उत्तर फर्काउन सकेन।
सुमनालाई कपिलवस्तु आएदेखि भेटेको अलि टाठो केटा लक्ष्मण नै थियो। अरुभन्दा अलि स्मार्ट नै थियो। सुमनालाई यो पनि थाहा थियो लक्ष्मणले उसलाई राम्रो मान्छ भनेर। स्कुलमा सबैभन्दा नजिकिएको साथी उही थियो।
शिवालयको पूर्वपट्टि उनीहरू भेटेर कुरा गरेका थिए। साँझ-साँझ पर्न लागेको बेला थियो। सुमना सम्हालिन सकिन र लक्ष्मणलाई उसलाई बिहे गर्न भनी। उसले लक्ष्मणसँग जिन्दगी बिताउँछु भनी। लक्ष्मणसँगै खुसी हुने कुरा पनि बताई तर आफ्नै घरमा बिहे गरेर बुहारी हुन नसक्ने बताई।
लक्ष्मण अवाक भयो। भर्खर सत्र वर्ष टेकेको अल्लारे केटा के धेरै सोच्न सक्थ्यो! त्यो डेढ-दुई वर्षको अन्तरालमा उसले स्कुलमै भए पनि सुमनासँग अलि संगत गरिसकेको थियो। उसका आनिबानी सबै राम्रो मान्थ्यो। पढेको कुरामा एक-अर्कालाई सर-सहयोग गर्थे। तर यो अवस्थाको उसलाई आंकलन नै थिएन। कता-कता मायावी संसारमा त रमाउन थालेको थियो होला तर त्यो कल्पनाको संसारलाई यथार्थमा पुर्याउने उसको आँट नै थिएन। त्यो समय अझै आइसकेको थिएन।
भविष्य के हो, कसरी जिन्दगी अगाडि बढ्छ, उसलाई एकिन गर्नै आएन। अगाडि बढे के हुन्छ को उत्तर नै आएन। सबै प्रश्नहरू अनुत्तरित नै भए। उता सुमनाको जिन्दगीका प्रश्नहरू त अनुत्तरित नै थिए। त्यो चक्रव्यूहमा लक्ष्मण पनि पर्यो। अल्लारे उमेर जति कल्पना गर्न सजिलो हुन्छ उति व्यावहारिकतामा त्यसलाई उतार्न गाह्रो हुन्छ।
के गर्ने र के भन्ने उसलाई केही सुझ पनि आएन। मन पराउने कुरा छुट्टै थियो। नजिक हुने कुरा छुट्टै थियो। तर अब जिन्दगी नै सुरु गर्ने कुरा त सानो थिएन। कुरकुरे बैँसको आवेगमा लट्ठिएजस्तो पनि थिएन। सोचेर निर्णय गर्नुपर्ने थियो। सुमनाको आँखामा देखिएको आँसु ज्यादै पीडादायी थियो। दुवैजना एसएलसीको परीक्षा दिँदै थिए।
फेरि पनि जोखुको घरको खलिहान छेउैमा बसेर जुन कुरा सुमनाले राखी, लक्षण किमकर्तव्यविमूख भयो। तर सुमिना उत्तर चाहन्थी, निर्णय चाहन्थी। ऊ तत्कालको जीवनबाट मुक्ति पाउन चाहान्थी। यो उकुसमुकुसबाट उम्कन चाहन्थी। चिसो हावामा कतै एकान्तमा सयर गर्न चाहन्थी। ऊ त त्यो घर बाहेक जहाँ पनि जना तयार थिई। मर्ने समेत सोच आएको उसमा जिन्दगीसँग एकपटक लड्न चाहन्थी। उसलाई दर्बिलो साथ चाहिएको थियो। त्यो साथ उसका लागि लक्ष्मण बाहेक कसैले पूरा गर्न सक्दैनथ्यो।
लक्ष्मणको तनाबका दिन सुरु भए। वास्तवमा उसले मन पराएको मान्छे आफै आफ्नै जिन्दगीमा आउन खोज्दै छ। के यो अवसर हो वा चक्रव्यूह? ऊ आफै अलमलमा छ। उसले सबथोक देख्थ्यो सुमनामा। प्रेम, आत्मियता, सुन्दरता र कल्पनामा हराउथ्यो। तर कल्पनाकी प्रेमिका उसकै अगाडि आएकी छ। त्यो अनुरोधलाई स्विकार्न गाह्रो परिरहेको छ। एक-दुई दिन सोच्यो अरु नजिकैका साथीलाई पनि सोध्यो। घरमा आमालाई पनि सोध्यो तर बाबुसँग कुरा नै गर्न चाहेन।
केही दिनमा फेरि उनीहरूले शिवालयको पूर्वपट्टि भेटे। लक्ष्मणले वाचा गर्यो सुमनालाई बिहे गर्ने। सुमनाको आँसुले उसलाई अझ केही सोच्ने बनाएन। निर्णय गर्यो सुमनालाई बिहे गरेर सँगै बस्ने गरी। उसलाई भेट्दा सुमनाको आँखामा आँसु टिल्पिलाइरहन्थे। उसले आँसु पुछिदियो।
सामान्य आत्मीयता र आकर्षण एउटा जिन्दगीको गोरेटो कोर्ने बाटो बन्यो। एसएलसी सकिएपछि सुमना र लक्ष्मण गाउँमा देखिएनन्। लक्ष्मणका घरका सदस्यले पनि खासै कुरा खुलाउन चाहेनन्। तर गाउँमा गाइ-गुई सुनियो- नेपालगंज तिर बस्छन् रे।