हरेक बार आउँछ ऊ
न घामले छेक्छ, न यामले
ऊ आउने बाटो छेकेर छेकिन्न
विज्ञानको कुनै नियमले रोकिन्न।
ऊ कालो बनेर आउँछ
अँध्यारो बनेर आउँछ
डर लाग्दो बनेर आउँछ
हर बार एक रात।
डर लाग्दो, कालो, अँध्यारो,
यी सबैलाई परास्त गरेर
विजयको लाल झण्डा गाड्दै
हर बार आउँछ एक बिहान।
पूर्वको क्षितिज लालिमय पार्दै
शीतले नुहाएका डालीमाथि
रेशमी रुमालको लोभ देखाएर
जबर्जस्त छामछुम गर्छ दिन
दिन बहुत शक्तिशाली छ।
अँध्यारोमा आँखा पनि अँध्यारै हुन्छन्
आँखामा आउने चित्र पनि अँध्यारै
दिनले आफ्नो ह्रास कट्टि गर्दै
सम्पूर्ण स्वामित्व रातलाई सुम्पन्छ।
अँध्यारोमा आँखा खोले पनि
आँखा बन्द गरे पनि
देखिने त अँध्यारो नै हो
अँध्यारो मृत्यु बराबर छ
तसर्थ हर रात मर्नु अपरिहार्य छ।
आँखा खोल्दा पनि
आँखा बन्द गर्दा पनि
एक छायाले पछ्याइरहेछ मलाई
उज्यालोमा जीवित हुनै पर्ने बाध्यता
अँध्यारोमा मर्नै पर्ने बाध्यता
तर दुवै बाध्यता इन्कार गर्न बाध्य बनाइरहेछ कोही
दिनभन्दा शक्तिशाली छ ऊ।
ऊ आइरहन्छ
न घामले छेक्छ
न यामले रोक्छ
अँध्यारो र उज्यालोको भेद बिर्साएर
ऊ आइरहेछ।
वसन्तका उल्लासहरु
गृष्मले निकालेका चिट-चिट पसिना
शरदका उमंग भुलाएर
शिशिरका चिसा रात दिन
ऊ अविरल आइरहेछ।
रात, बिहान र दिनभन्दा
अझै शक्तिशाली छ कोही
जो जबर्जस्त मेरो बन्द कोठामा पस्छ
मलाई उसको लालित्यमा भुलाएर
लठ्ठ पार्छ
फेरि
ग्लुकोज भरिएको सिरिन्ज घोच्छ
र जान्छ कतै दूर।
मेरो आँखाको बाटो ऊ आइरहन्छ
तर आउँदैन टक्क, रोकिँदैन निर्धक्क
आँगनको पारिलो घाममा
म उसको लागि सुकुल बिछ्याउन चाहन्छु
ऊ आउने-जाने बाटो मलाई पनि हिँडाओस् चाहन्छु
तर
वर्षौंदेखि ऊ मेरो चाहनाको खिलाफमा दौडिरहेछ कतै
मैले भेटाउनै नसक्ने गरी
मैले स्पर्श गर्नै नसक्ने गरी।
ऊ रातभन्दा जब्बर छ
बिहान र दिनभन्दा शक्तिशाली छ
ऊ अर्थात् उसको याद
जुन अविरल छ, अनन्त छ।