पुसको चिसोले सताइरहँदा गएका वर्षमा झैँ यो वर्ष पनि निरन्तर साथ दिइरहने साथी कफी नै थियो। त्यसैले सबैभन्दा मिल्ने अनि निःस्वार्थी साथीको संज्ञा पनि कफीले नै पाएको थियो। गर्मी, जाडो, जुनसुकै समय होस् आफ्ना साथीहरूको लागि समय निकाल्न नसक्दा पनि मैले एक कप कफीको लागि हरेक पटक समय निकालेको हुन्छु।
त्यसैले पनि कफी र मनबीच एउटा गहिरो खालको प्रेम थियो जुन प्रेमलाई मेरो मस्तिष्कले चाहेर पनि छुटाउन सक्दैन थियो। बिहान भँगेराको चिरबिर-चिरबिरसँगै आँखा खुल्यो। मनतातो पानीले दिनको सुरुआत गर्नै आदत नै थियो। एक ग्लास पानी पिइसकेपछि किचनमा छिरेर कफी बनाएँ अनि कफीको कप लिएर छतमा गएँ।
बिहानीको समय भर्खरै झुल्किएको घामले मेरो शरीरलाई स्पर्श गरेर न्यानो दिइरहेको थियो। हातमा कफीको कप बिहानीको समय खुलेको आकाश गमलाभरि ढकमक्क भएर फुलेका फूल अनि एउटा छुट्टै गमलामा फुलेको रातो गुलाफ। एकान्तमा बिनाकारण रमाउने यो मनलाई यति धेरै कारणहरू पाइसकेपछि त एक्लै मुस्कुराउनलाई गाह्रो कहाँ पर्थ्यो र!
हातमा भएको कफीको कपबाट बाफहरू उडेर आफ्नो गन्तव्यमा पुग्नलाई मेरो साथ छोडिरहेका थिए। मुस्कुराइरहेको यो मुहारमा एक्कासी नैराश्यता आएको आफैलाई महसुस भैरहेको थियो। मन न हो, फेरि त्यसै-त्यसै बहकियो। आँखा रसाएछन् पत्तै पाइनँ। कहिलेकाहीँ यो मन पनि यति कमजोर भैदिन्छ कि दुःख मान्नै नपर्नै कुराहरूले पनि बिनाकारण आँखा रसाइदिन्छ।
कफीको बाफसँगै उडेर यो मन मस्तिष्क एकैछिनको लागि अतीत तिरै फर्कियो जसलाई सम्झिएर फेरि विचलित हुन चाहँदिनँ थिएँ।
वर्षौं पहिले सायद म कक्षा ९ तिर पढ्थेँ होला। जाडोकै समय थियो। हाम्रो अन्तिम परीक्षा सकिएर भर्खरै नतिजा प्रकाशित हुने मिति तोकिएको थियो र नतिजा प्रकाशित हुने दिन अनिवार्य आफ्नो अभिभावकलाई विद्यालयमा लिएर उपस्थित हुनलाई भनिएको थियो। अन्तिम परीक्षामा आएको नतिजाको अंकलाई हेरेर मात्रै अर्को कक्षामा लाने नत्र फेरि एसएलसीमा राम्रो अंक आएन भने विद्यालय पनि जिम्मेवार हुन्छ भनेर हेडसरले त्यो प्रस्ताव राख्नु भएको थियो।
उक्त प्रतावलाई सबै अभिभावकले सहमति जनाएका थिए। पढाइमा अब्बल भएकाहरू त मक्खै थिए तर जो अलि कमजोर थिए उनीहरूलाई चिन्ता थियो कि सँगै पढेको साथीसँग छुट्टिएर पढ्नुपर्ने होकि भनेर। त्यत्तिकैमा नतिजा प्रकाशित हुने दिन आयो। आमा जानुभयो नतिजा लिनलाई, अघिल्लो पटकभन्दा अंक कम आएछ। हेडसरले खै कुन्नी के-के भनेर कान फुक्नुभयो ममी रिसले चुर हुँदै घर आउनु भएछ।
घरमा आएर बाबालाई सबै कुरा भनेपछि त बुबा झनै रिसले आगो। त्यो दिन धेरै गाली खाएको थिएँ मैले। जीवनमा पहिलो पटक आत्महत्याको प्रयास गर्नै मनसाय उत्तिनै खेर बनाएँ र मर्नको लागि डोरी लिएर घरकै बुइगलमा गएँ। तर जीवनको अन्तिम पलमा खै कुन्नी के-के सम्झिएँ, मर्न सकिनँ।
त्यति बेलैबाट एउटा प्रण गरेँ- जस्तोसुकै परिस्थिति आए पनि म घरमा केही भन्दिनँ। यिनीहरूको लागि म बोझ हो किनकि म छोरीमान्छे हो। यो समाज जतिसुकै शिक्षित भए पनि यहाँका मान्छेको सोच फरक भएको छैन।
उतिबेला आफ्नै बा पनि दुश्मनभन्दा बढ्ता नलागेका कहाँ हुन् र! विस्तारै समय बित्दै गयो, स्कुल सँगसँगै कक्षा १२ को परीक्षा सकेपछि मैले घर छोडेँ। तर मेरो कलिलो मस्तिष्कमा त्यो कुरा यसरी गढ्यो कि कहिले पनि त्यसलाई मैले भुल्नै सकिनँ। एकैछिन बितेर गएको कुरा सम्झेर फेरि रिस उठेर आयो।
आँखा सडकमा गुडिरहेको साइकलमा गएर अडियो। एउटा अर्धबैँसे उमेरका मानिस आफ्नो साइकलको पछाडि सानो फुच्चे राखेर बाटो क्रस गर्नलाई उभिइरहेका थिए। लगभग १० वर्ष जति उमेरको फुच्चे केटाले आफ्नो थरथर काँपिरहेको हातले आफ्नो बाबाको पिठ्यूँमा च्याप्प समातेको थियो।
पुस महिनाको जाडो अनि एकाबिहानै साइकलमा स्कुल हिँडेको ऊ, उसका आँखामा कति ठूला सपना होलान्? बाटोमा गुडिरहेका चिल्ला कारहरू हेर्दै भविष्यमा म ठूलो मान्छे बनेर म पनि यस्तै कार किनेर मेरा बालाई चढाउँछु भन्ने मनगढन्ते सोचहरू उसका दिमागमा फुरिरहेका होलान् झैँ लाग्यो। अनि आफ्ना बालाई सम्झिएँ। उतिबेला आवेगमा आएर आत्महत्या गरेको भए आज यी दृश्यहरूले आँखा कहाँ रसाउँथे होला अनि बाको महत्व कसर बुझ्न सक्थेँ होला र?
कलिलो मस्तिष्कमा गढेको छापलाई यी कुराले कायाँपलट गराइदियो। स-सानो निहुँमा झगडा गर्दै खाना नखाई सुत्ने म बिहान उठ्दा रिंगटा लाग्यो भनेर भर्याङबाट घिस्रिँदै ओर्लिन लाग्दा सबैभन्दा पहिले लड्छु भनेर समाउन आउने उहाँ नै हुनुहुन्थ्यो। महिनावारी हुँदा आमालाई खासै चासो हुन्थेन तर बेलाबेलामा खाइराख भनेर गाली गर्ने उहाँ नै हुनुहुन्थ्यो, कलेज जाँदा पहिला उठेर मेरो लागि कालो चिया बनाउने अनि गाली गर्दै खाएर मात्रै जा भन्ने उहाँ नै हुनुहुन्थ्यो।
रातभरि गोडा फर्किएर सुत्नै सकिनँ भनेर रुँदा पनि पहिले मेरो गोडामा तेल लाएर मसाज गर्ने उहाँ नै हुनुहुन्थ्यो। यी सबै कुरा मैले कसरी बिर्सेँ तर कहिलेकाहीँ उहाँले गर्नुभएको गाली र दिनुभएको उपदेशलाई नराम्रो मान्ने म एकाएक सबै कुराहरू सम्झन लागेँ।
कक्षा १२ को रिजल्ट आउँदा बारीमा गहुँ काटिरहेको बेला म उत्तीर्ण भएँ भनेर सबैभन्दा पहिले बाबाले मलाई सुनाउँदा जीवनमा आफू जान्ने भएपछि पहिलो पटक बाबालाई अङ्गालो हालेर जमिन छाडेर उफ्रिँदै आफ्नो खुसी बाँड्ने म, तर मैले उहाँको एक गाली बिर्सन सकिनँ।
सन्तानका हरेक इच्छा आवश्यकता पूरा गर्ने अनि आफ्ना इच्छा चाहनाहरूलाई पाउमुनि दबाएर आँसुहरूलाई लुकाएर पनि मुस्कुराइरहने महान् व्यक्तिलाई मैले कसरी आफ्नो दुश्मन सम्झेँ! घरमा झगडा हुँदा आमा पो माइती जान्छु भनेर घुर्कि लगाउँछिन् तर बाले कहाँ जान्छु भनेर घुर्कि लगाउने? न सुनाउने कोही थियो न त धित मरुन्जेल आँसु खसालेर रुने ठाउँ।
मनै खिन्न भएर आयो। फोन लागाएँ, दुई रिङमै फोन उठ्यो। उसै पनि जिस्किने बानी बुबाको, 'हलु...' बुबा जिस्किँदै बोल्नुभयो।
'के गर्दै हुनुहुन्छ?'
'के गर्नु ए बाबै, अब डेरी जान लाग्या। जाडो छ साह्रै। त्यता कत्तिको चिसो छ? चिसोबाट जोगिएर बस है,' बा बोलिरहनु भयो, 'अझै पनि चिन्ता छ नि के गर्नू छोरा भएर जन्मनु पर्ने छोरी भइस् बाबै।'
बाको यो जटिल कुरालाई भने यो पटक मैले सजिलो जवाफ दिएँ, 'छोरी भएर के भयो त? आफूले गर्नुपर्ने हरेक कर्तव्य म गर्नेछु, साथमा नभएर के भयो त? साथ चाहिएको बेला जस्तोसुकै परिस्थितिमा पनि उपस्थित हुनेछु।'
मेरा यी कुराले बाबाको चित्त बुझेको त थिएन तर पनि चित्त बुझाए झैँ गरेर भरे फेरि भिडिओ कलमा उपस्थित हुने वाचा गर्दै फोन राख्यौँ।
सन्तानको एउटा बोलीले त बाबाको मन पुलकित हुन्छ भने उनीहरूको नराम्रो चाहने कुरालाई त सोच्न पनि सक्दैनन्। हाम्रो भलाइको लागि गरेको गाली पनि उतिबेला विष झैँ लागेको थियो। हेर उतिबेला मैलै सुसाइड गरेको भए... मनमा उही कुरा आयो। आफैँ मूर्ख रैछु म त, मनमनै यस्तो लाग्यो सुनाउन भने कसैलाई सकिनँ। मनमनै लाग्यो आज एक कफीको चुस्कीले वर्षौं पुरानो आत्मियतालाई फेरि आत्मीय बनाउन सहयोग गर्यो।