म जंगलको बाटो हिँड्दै थिएँ। सूर्य आफ्नो गन्तब्यतिर पुग्नै आट्दा जंगलका जनावर र पशुपंक्षीहरु पनि आफ्नो बासस्थानमा फर्किएर चिरबिर गर्दै थिए। सूर्यका किरणलाई रुखका पातले छेके पनि म पसिनाले लतपत भइसकेको थिएँ।
प्यास मेटाउन पानीको खोजी गर्दै थिएँ। नजिकै कटुसको रुख मुनिबाट पानीको मुहान निस्किएको देखेँ। मेरा पाइलाभन्दा मेरो मन पहिला त्यहाँ पुगिसकेको थियो। ओहो! भगवान।
त्यो सुनसान जंगलमा कतै कुनै बस्ती थिएन। त्यो मुहान नभेटिएको भए म घण्टौँ प्यासै यात्रा गर्नुपर्ने अवस्था थियो। हतार-हतार त्यो पानीको मूलतिर लागेँ। नजिकै सानो कुन्टो बनाइएको थियो। सायद मजस्तै कुनै बटुवाले बनाएको हुनुपर्छ। अनुमान लगाए।
जसले बनाएको भए पनि काम राम्रै गरेको हो। उक्त कुन्टोबाट अन्जुलीमा पानी लिएर पिउन लागेँ, घट घट। मेरो अन्तरात्मामा दन्किएको प्यासको आगो निभ्नै आँटेको थियो अचानक पछाडिबाट आवाज आयो, 'ओइ पख्!'
म तर्सिएँ। यो बिरानो जंगलमा कोही चोर-लुटेरा पो होकि! पछाडि फर्केर हेर्ने आँट आएन। अचानक हातखुट्टा काप्न लागे। मुटुको धड्कन बढ्न लाग्यो। भर्खर पिएको पानी उहीँ मार्गबाट फर्किएलाजस्तै भयो।
'ओए, यता हेर्।'
उसको आवाज पुन: सुनेपछि समस्या दोब्बर हुन लाग्यो। अब जे हुनुछ त्यो त भैहाल्छ नि। आफूलाई सम्हाल्दै पछाडि फर्किएँ। उसले म डराएको कत्ति पनि चाल नपाओस् भन्ने चाहान्थेँ। आफ्नो शरीरको हरेक क्रियाकलापलाई आफ्नो अधिनमा लिने प्रयास गरेँ।
'बल्ल-बल्ल पानी सङ्ग्लिएको थियो, तैँले धमिलो बनाइस्!'
उसले उच्च स्वरमा मलाई झपार्यो। म फेरि तर्सिएँ।
मधुरो आवाजमा सोधेँ, 'किन र? पानी धमिलो भएर केही बिग्रीयो कि हजुर?'
'गर्नु गरिहालिस्, अब के चाहियो तँलाई?'
ऊ रिसले रातोपिरो भएको थियो। तर पनि बोल्ने आँट गर्दै पुन: सोधेँ, 'हजुर, के भयो भन्नुस् न। म केही सहयोग गर्न सक्थेँ कि।'
'त्यो कुन्टोमा केही हराएको छ। अघि पानी पिउँदै थिएँ, अचानक हरायो। खोज्दा भेट्न सकिनँ। पानी सङ्ग्लिएपछि भेटिन्छ कि भनेर बसेको थिएँ। तैँले...'
उसका यी कुरा सुनेर म सोचमा परेँ। यति सानो कुन्टो छ। राम्रोसँग खोज्यो भने भेटिहाल्छ नि! पानी सङ्ग्लिनु पर्ने त छैन।
ऊ घरी-घरी कुन्टो नजिक गएर पानीलाई हेर्थ्यो, टाउकोमा हात लगाउँदै फर्किन्थ्यो। मेरो मनमा एक प्रश्न उब्जियो।
'अनि सामान चाहिँ के हो नि हजुर?'
'जे भए पनि तँलाई किन चाहियो?'
ऊ झर्किंदै बोल्यो। सायद झर्किंदै बोल्ने उसको स्वभाव नै हुनसक्छ।
हेर्दा त राम्रै कूल घरको देखिन्थ्यो। तर उसका यी हर्कतले उसलाई चिन्न गह्रो परिरहेको थियो।
फेरि सोधेँ, 'हजुर के सामान हो? म पनि सघाउछु नि। भन्नुस् न।'
मैले सघाउँछु भनेपछि ऊ जवाफ दिन तयार भयो।
'मेरो साथी हो। कुनै मेलामा छुट्टिएर हराएको जुम्ल्याह भाइ हुनुपर्छ। ठ्याक्कै मजस्तै देखिन्छ।'
मलाई मनमनै हाँसो उठ्यो। बाहिर देखाउने वातावरण थिएन।
ऊ घरीघरी पानीलाई हेरिमात्र रहेको थियो। हात हालेर खोजेको थिएन। सायद उसले पानीमा आफैलाई देखेको हुनुपर्छ।
कुन्टोको पानी सङ्ग्लिएको थियो। ऊ नजिकै गयो र हेर्यो। अनि खुसी भयो-
'भेटियो!भेटियो!'
ऊ खुसीले उफ्रिन लाग्यो। ऊ उफ्रिँदा कुन्टोको पानी धमिलो भयो।
'ला! फेरि हरायो।'
ऊ पहिलेको अवस्थामा आयो।
फेरि एकपटक उसले पर्खिनु पर्नेछ, आफ्नो साथिलाई। साथी देखिनेछ। ऊ पुन: खुसी हुँदै उफ्रिनेछ। पुनः पानी धमिलो हुनेछ। उसको साथी हराउने छ।
यो क्रम रोकिएलाजस्तो लागेन, अनि म सरासर आफ्नो बाटो लागेँ।