जब एउटा मान्छे जन्मिन्छ
ऊ फरक भइदिन्छ
किनकि
उसलाई फरक बनाइन्छ
हाम्रा सोचहरुले
हाम्रा व्यवहारहरुले
हाम्रा मान्यताहरुले
अनि हामी भित्रको विविधताले।
हुन त
विविधताभित्र विविधता छ
विविधता छ र यो विश्व छ
विभाजित छौँ हामी
उचाइ र वजनमा
जात र धर्मका नाममा
अनि वर्ण र लिङ्गका आधारमा
अचेल,
विभाजित छन् परिवारहरु
विभाजित छन् घरहरु
विभाजित छन् विचारहरु
अनि विभाजित छन् हाम्रा सपनाहरु।
ब्रह्माण्ड एक घर न हो
र पनि यो भूगोल विभाजित छ
आकारमा साना र ठूला छन्
हाम्रा पहाडहरु
हाम्रा देशका नक्साहरू
लम्बाइ र गहिराइमा असमान छन्
हाम्रा खोला र नालाहरु
जब हरेक चिज असमान भइदिन्छन्
हाम्रा सोचहरु संकीर्ण भइदिन्छन्
मान्छेहरु फरक भइदिन्छन्
विचारहरु अस्थिर भइदिन्छन्
जब विचारहरु अस्थिर भइदिन्छन्
पड्किन्छन् बारुद झैं
उठिदिन्छन् ज्वारभाटाहरु
र उथलपुथल भइदिन्छ जिन्दगीमा।