त्यसरी मर्न पाम्
जसरी ती रुखका पातहरुले
रुखका हाँगा छाड्नुअघि नै
फल र फूल फुलाइसकेका हुन्छन्
पात झैँ म पनि हाँगा छाड्नुअघि नै
जीवनका फल र फूल फुलाउन पाम्
त्यसरी मर्न पाम्
जसरी ती बादलका फोकाहरुले
छिद्रा-छिद्रा हुनुअघि नै
डाँडा पाखाको पखेरा भिझाइसकेको हुन्छन्
बादल झैँ म पनि छिद्रा-छिद्रा हुनुअघि नै
डाँडापाखाको प्यास भिजाउनु पाम्
त्यसरी मर्न पाम्
जसरी ती सूर्यका रश्मीहरुले
आफ्नो तेज र शक्ति छाड्नुअघि नै
जीव र जन्तुलाई न्यानो दिइसकेको हुन्छन्
रश्मी झैँ म पनि तेज छाड्नुअघि नै
चिसोले कठ्यांग्रिएकालाई न्यानो दिन पाम्
त्यसरी मर्न पाम्
जसरी ती खोलाका छालहरुले
समुन्द्रमा विलीन हुनुअघि नै
धर्तीको प्यास बुझाइसकेका हुन्छन्
छाल झैँ म पनि विलीन हुनुअघि नै
प्यासीको प्यास बुझाउन पाम्
त्यसरी मर्न पाम्
जसरी ती मेहनती मौरीले
आफ्नो आयु पूरा हुनुअघि नै
फूलका रसबाट मह बनाइसकेका हुन्छन्
मौरी झैँ म पनि मर्नुअघि नै
जीवनको रसबाट मह बनाउन पाम्
त्यसरी मर्न पाम्...।