धेरै समयपछि लेख्न मन लाग्यो। लेख्ने विषयको कुनै टुङ्गो छैन। थिएन। गिजोलिएर छरिएका अव्यवस्थामाथि टिप्पणी गर्नु छुच्चो ठहर्छ। कान नै नसमाए पनि अब यी विषयमा सायदै लेख्छु।
आज जाँगर चल्नसाथ खुइँका खुइँ लेख्न थालेँ। मान्छेमाथि लेख्न मन लाग्यो। यो सदा झैँ नियात्रा वा मेरो आफ्नो कथा हैन। यो एउटा काँचो खालको निबन्ध जस्तो। एउटा 'मान्छे' निबन्ध हुनेछ।
मलाई लेखाइमा अचेल अमूर्त झैँ लाग्ने विषय छानेर सिधै पोखिन मनपर्छ। म आफैँलाई सिद्धान्त र दर्शनका विषय जुधाएर-सिँगौरी खेलाएर एकेडेमिशियन प्रमाणित गर्नु छैन। कुनै खास साहित्य लेख्नु पनि छैन। त्यसैले सबैले जानेको सुनेको विषयवस्तु छानेँ। भौतिक वस्तु र मूर्तरुप भए पनि मैले 'मान्छे' लाई अमूर्त प्रस्तुत गर्न खोजेको छु।
यो लेखाइ बोक्रे टाइपको हुने अवस्था पनि त्यत्तिकै छ। तर आफूलाई केन्द्रमा राखेर सोची विचारी पात्र नबनाई एउटा लेख 'मान्छे' माथि लेखेको छु। धित यो मानेमा मरेको छ, सबैले मः मः भन्न सकिने हामी सबैको गुण 'मान्छे' विषयको उठान गर्न खोजेको छु।
सानैमा सामाजिक विषयमा होला मानव उत्पत्तिको इतिहास पढ्दा पढेको थिएँ। 'एप्स'बाट 'मान्छे' बनेका हौँ हामी मान्छेहरु। त्यसबेला होमोसेपियन्स, क्रोम्यानन्, रामापिथेकस, अस्ट्रेलियोपिथेकस लगायतका मान्छेका टाइप र पुर्खा पढेको। अनि हामीसँग कता-कता थोरै मिल्ने खप्पर भएका जन्तुबाट हामी 'मान्छे' बनेको भन्ने कथा। त्यतिबेला हाम्रो शिक्षकले 'बाँदर' हाम्रा पुर्खा भनेको याद ताजै छ। यी सब मानव उत्पत्तिका कथा हामी 'मान्छे' यो स्वरुपमा आइपुगेका कथा हुन्।
हाम्रो मानव शरीरको सिभिल तथा मेकानिकल स्ट्रक्चर पनि 'एप्स'सँगै मिल्ने भएकोले वैज्ञानिकहरुले पनि सोही अनुमान लगाएर, सोही पाटोमा अनुसन्धान केन्द्रित गरेको हुनुपर्छ। जेबाट आएको, विकास भएको भएता पनि मलाई मान्छे जीव भए पनि अजीव लाग्छ। अनौठो प्रजाति लाग्छ। वास्तवमा म मान्छेलाई उत्पत्तिका हिसाबले भन्दा पनि सामाजिक प्राणीका दृष्टिकोणले बढी चिनाउने कोसिस गर्नेछु।
त्यसैले म यहाँ मान्छे लेख्न ६०-७० लाख वर्ष अगाडिको चिम्पान्जीको रुपको अवस्था पनि चित्रण गर्न उपयुक्त ठान्दिनँ। विज्ञान वा जीव विज्ञानले झैँ मान्छेलाई म बाईपेडल (दुईखुट्टे) रुपमा मात्र उभ्याउनु पनि ठिक मान्दिनँ।
विज्ञानले देखे जति मात्र देखी मान्छेलाई जीवशास्त्रमा झैँ स्तनधारी प्राणीहरुको वर्गमा मात्र राख्दा पनि जो 'मान्छे' छ उसलाई न्याय हुँदैन भन्ने लाग्छ। त्यसभन्दा थप बाहिर गएर म 'मान्छे' लेख्छु। खालि पुरुषवाद र नारीवादमा मात्र पनि जोड दिन्नँ। सामाजिक रुपमा लेख्दा पनि न बाहुन मान्छे, न क्षेत्री मान्छे, न नेवार वा यो वा त्यो। यो जात, त्यो जातको। यो संस्कृतिको ऊ संस्कृतिको ल। यो धर्मको, त्यो धर्मको मात्र भनी लेख्नु पनि छैन। यानेकि सामाजिक मानवशास्त्र मात्र पस्किई परिभाषा गर्दा पनि पक्कै 'मान्छे' अपूर्ण नै हुन्छ।
वास्तवमा मैले सबैभन्दा पहिले चिनेको मान्छे 'म' रहेछु। साँनै छँदा बाह्रखरीमा मेडमले नेपाली वर्णमालामा आउने 'म' चिनाउँदा राम्रो 'म' चिनाउनु भएको थियो। त्यो बेला बालसुलभ मानसपटलले त्यो क-ख भित्र पर्ने एउटा नाम रहेछ' को रुपमा चिनेको थियो। तर वास्तवमै गहिरो अर्थका साथ त्यसको नाम 'मान्छे' सित जोडेर 'राम्रो म' राखिएको रहेछ। बहुत अच्छा नाम।
आज यो चिनारी र नामले मान्छेको स्वार्थ बोलेको छ। मान्छे त्यही राम्रो 'म' भित्रको एउटा स्वार्थी सामाजिक प्राणी र संज्ञानात्मक रुपमा भन्दा दिमाग भएको, बोल्न सक्ने र अमूर्त तर्क दिन सक्ने जनावर 'मान्छे' रहेछ। अलि छुच्चो, अकवार्ड र रुखो बोलीमा भन्दा 'मान्छे' जो आजको रुपमा छ, ऊ झुक्किएर जन्मेको, आएको, नचाहेको मानव पनि होइन रहेछ।
यस मानेमा मान्छे महिला-पुरुषको युगल अंगको उत्पादन वा शुक्राणु र डिम्बको गुजुल्टो मात्र पनि होइन रहेछ त। मैले त्यही नौ-दश कक्षाको उबेलामा विज्ञानमा पढेको जस्तो जाइगोट, इम्व्रियो र फेटस हुँदै धारण गरेको आकारको रुप मात्र पनि होइन रहेछ मान्छे। यस अर्थमा पनि त मान्छे जीव भएर पनि त अजीव रहेछ।
आज म सुरुमा मान्छे यो होइन, त्यो मात्र पनि होइन बढी भन्छु। लेखको लास्टमा मैले पढेको मान्छेलाई सामाजिक प्राणीको रुपमा सामाजिक तथा मानवशास्त्रीय विश्लेषण गर्छु। पाठकहरुकै जिम्मा हुन्छ मान्छे खुट्टाउने- मान्छे के हो, मान्छे के हैन।
भ्रूणबाट अलिअघि विकास हुँदै गर्दा मान्छे विकासका विभिन्न चरणहरु र शिशु, किशोर र वयस्क हुँदै हुर्केको र वृद्धि भएको शरीर मात्रै पनि होइन रहेछ। ऊ आजको जुन प्रकृतिमा पालितपोषित छ त्यो हो खास 'मान्छे'। मलाई थाहा छैन, उसले कति वंशाणु गुण ग्रहण गर्छ। 'मान्छे' त्यो मात्र हो जस्तो लाग्छ उसले कति असल गुण ग्रहण गर्छ।
मान्छे पढ्दा मान्छेको वर्गीकरणले मात्र मान्छे चिनाउन नसकिने रहेछ। त्यो सामाजिक प्राणी मान्छे भएर मात्र नहुने रहेछ। यहाँ मान्छे बन्न सजिलो तर मानव बन्न गाह्रो रहेछ। मेरो लेखनीले मात्र चिनाउँदा वैज्ञानिक वर्गीकरणको विशेषताले मान्छे हुइन्छ तर मानव हुन सामाजिक तथा मानवशास्त्रीय विशेषता सहितको असल नर्चरिङ आवश्यक पर्दोरहेछ। कतिपय अवस्थामा त सामाजिक रुपमा मान्छेलाई कतिले सामाजिक र कतिले असामाजिक रुपमा समेत चित्रण गर्छन्। यी यावत् विषय व्यक्तिअनुसार फरक लाग्छन्। यस मानेमा पनि त 'मान्छे' जीव भएर पनि अजीव रहेछ।
मलाई त आजको मान्छे अचम्मको लाग्छ। ऊ क्रोधलाई आत्मतर्क गर्छ, आफू भित्रको विद्रुप्तालाई सुन्दर ठान्छ, आफ्ना हरेक अन्यायलाई पुष्ट्याइँ दिन आतुर रहन्छ, स्वार्थलाई आवश्यकता ठान्छ। कामुकतालाई यौनिकतासँग जोड्छ। अनि आफ्ना हरेक निचतामा गोप्य राखी असल चरित्र मात्र देखाउँछ 'मान्छे'।
सुन्दरता पस्किन हरेक मान्छेलाई हतार छ। आफूभित्र थुप्रेको क्लटलाई सफा गर्न चाहँदैन। डङ्गुर थुपारेर बाहिर ए-वान आवरण दिन्छ 'मान्छे'। कपट साँधेर मुस्कान देखाउँछ आजको 'मान्छे'। त्यसैले उसलाई आफू राम्रो लाग्छ। पर्फेक्ट लाग्छ।
मैले मान्छे चिन्न ब्रिटिस कवि एलेक्जेन्डर पोपको इपिस्टल- 'एन एस्सेइ अन म्यान' भन्ने कविता पढेँ। विश्व प्रसिद्ध उक्त इपिस्टलमा सुपर पावर गडको एसेप्टेन्स, सुपेरियोरीटी र मान्छेको नेचरका बारेमा उल्लेख रहेछ। पुरै कवितामा लेखकले दैवी शक्तिको घुमौरो बयान र उक्त शक्तिले योजनाअनुसार नै सबै चिजवस्तुको सिर्जना गरेको हुनाले हामी पनि यस संसारमा आएका हौँ, हामीले हाम्रो अस्तित्व बुझ्नुपर्छ भनिएको रहेछ।
हुन त म वादहरुका बारेमा कमै बुझ्छु। आध्यात्मवादी, भौतिकवादी, प्रकृतिवादी, यो वादी, उ वादी जे भने पनि म मान्छेका रुपमा सबैलाई उही कवि एलेक्जेन्डर पोपले भने झैँ स्मरण गराउँछु- 'अ म्यान सुड एक्नलेज हिज एक्जिस्टेन्स।' त्यसैले हामीले बुझ्नुपर्छ, मान्छे भएर हामी केका लागि? आजको मान्छे सुधार्न कठिन छ। रचनात्मक सुझाव उसलाई पच्दैन। आजको मान्छे अर्ती दियो मुन्टो बटार्छ। यस अर्थमा पनि त 'मान्छे' आफू चिन्न सक्ने जीव भएर पनि अजीव रहेछ।
अध्यात्ममा विश्वास गर्नुहुन्छ? देउताले मानव बनाउन छाडिसके। मान्छेले बनाएका यी सब वास्तविक मान्छे हेर्नुहोस्। के हो मान्छे? को हो मान्छे? सचित्र उभिन्छ। अपसोच यहाँ कसैको सिफारिस र सोर्स बिनै सबैले भन्दिए हुन्छ- म पनि मान्छे, तपाईं पनि त मान्छे। भगवानको सुन्दर रचना हो रे मान्छे।
योभन्दा राम्रो बनाउँछु भनेर लाग्दा सम्भव नभएको श्रुति प्रचलित छ। देउता अब पक्कै विकल्पमा जानुहुन्न। हामी सुन्दर छौँ। हुन्छौँ। मान्छेबाट हामी अवश्य मानव हुन्छौँ। त्यसैले नसोच्नु होला- यहाँ मान्छेले बनाएका देउता असरल्ल छन्। देउताले बनाएका मान्छे भेटिन्नन् साथी।