डाक्टर बनेर सेतो एप्रोन लगाइ बिरामीको सेवा गर्ने इच्छा भएको मान्छे म। तर मलाई मेरो बिरामी समाज अनि देशले सेतो एप्रोनको सट्टामा कालो कोट लगाउन बाध्य बनायो।
सायद कर्णाली प्रदेशको त्यो विकट गाउँमा जन्मेको भएर होला। ती सुत्केरी महिलाहरु जसले समयमै स्वास्थ्य उपचार नपाएर मरिरहेको देखेर होला। वा मेरी आमा जसले म जन्मँदा स्वास्थ्य उपचार नपाएर जिन्दगीभर औषधि खाएर बाँच्न बाध्य भएकी छिन्, त्यसैले। मेरी आमाले वर्षातको समयमा औषधि ल्याउन नेपालगन्ज, काठमाडौं जान नपाएर त्यो दुखाई सहन नसकेर रोएरै रात-दिन बिताएको देखेर होला। 'म ठूलो भएर डाक्टर बनेर तिम्रो उपचार गर्छु आमा' भनेर दिएको त्यो वचनको कारण होला, म अरु कुनै क्षेत्रको बारेमा सोच्नै नसक्ने भएछु।
सोचेको थिएँ उपचार नपाएर जति मानिसहरु मरिरहेका छन् अब त्यस्तो हुन दिने छैन। मेरी आमाजस्ता हजारौँ आमाहरु छन् जो सुत्केरी अवस्थामा उपचार नपाएर जीवनभर रोगी बनेर बस्न बाध्य छन्। अझैँ पनि औषधि नपाएर दिनरात रोएरै बसेका छन् र मृत्युको मुखमा लडिरहेका छन्। ती आमाहरूको आँखाको आँसु मेटाउँछु। घरमै सुत्केरी हुँदा रगत बगेर कर्णालीकी महिलाको मृत्यु भयो भन्ने समाचार बन्न दिने छैन।
यो मेरो सोच मात्र थिएन, एक आमालाई दिएको वाचा पनि थियो ताकि तिम्रो छोरी स्वास्थ क्षेत्रमा आफै गएर त्यो क्षेत्रलाई दुर्गन्धित हुनबाट बचाउने छे। अनि कोही पनि समयमै स्वास्थ्य सेवा नपाएर मर्ने छैनन्।
जब मैले गाउँ समाजमा एकपटक फर्केर राम्रोसँग नियालेर हेरेँ, अनि मलाई लाग्यो कि म त आफ्नो आमाको त्यो रुवाई देखेर दिएको त्यो वाचाको कारण दृष्टिविहीन भएछु। म स्वार्थी भएछु, म मानिस भएर जन्मिएको कर्तव्य पूरा गर्न सकिरहेको रहेनछु। मैले पछि गर्ने कुराको मात्र वचन दिएछु तर अहिले के भइरहेको छ भन्ने सोचेनछु।
मैले हाम्रो ठाउँका मानिसहरुले स्वास्थ्य उपचार पाएका छैनौँ भन्ने त थाहा पाएछु तर किन भन्ने कहिले पनि थाहा पाएनछु। अनि यो कुराको बारेमा पनि मलाई थाहा रहेनछ कि स्वास्थ्य उपचार नपाउने त हामी सोझा तथा गरिब जनताहरु मात्र रहेछौँ।
मलाई विस्तारै यस्तो कुराहरुको बारेमा जानकारी हुन थाल्यो। मैले विरोध गर्न सुरु गरेँ, गाउँ-समाजमा हुने त्यो असमानता अनि अन्यायमूलक क्रियाकलापहरुले गर्दा मेरो मनमा पलाएको त्यो डरलाई शक्तिमा परिणत गर्ने प्रयास गरेँ। तर म एक्लैले फेल खाएँ। मैले गाउँका केही मानिसहरुको साथमा आवाज उठाउने प्रयास गरेँ तर कसैको साथ मिलेन।
म एकदिन निराश भएर सबै कुराहरु सम्झँदै बसिरहेको थिएँ। मेरो आमा आएर भन्नुभयो 'छोरी के भयो? किन यसरी निराश भएर बसेकी? आज राम्रोसँग खाना पनि खाइनौ!'
म केही बोलिनँ।
आमाको मन, थाहा पाइहाल्नु भएछ। फेरि भन्नुभयो, 'छोरी तिमी हिजोको कुरालाई लिएर यति धेरै निराश नबन। हिजो जुन मानिसले तिम्रो साथ दिएका थिएनन् ती मानिसलाई तिमीले गरेर देखाउनु पर्छ। तिम्रो साथमा हामी त छौँ नि।'
मैले भनेँ, 'तर आमा, मैले त आफू एउटा समाजको पढेलेखेको नागरिक भएको कारण गर्नुपर्ने कर्तव्य पूरा गर्न सकिरहेको छैन नि हैन?'
आमाले मेरो कुरा सुनेर सम्झाउँदै भन्नुभयो, 'जतिसुकै बाधा-अड्चन आए पनि हार खानु हुँदैन। कुनै काम सुरु गरेपछि त्यसलाई निरन्तरता दिनुपर्छ। पक्कै पनि सफलता प्राप्त हुन्छ,' फेरि भन्नुभयो, 'छोरी, यदि योगमायाले ती राणाहरुको अगाडि मृत्युको डरले आवाज उठाउन छोडेको भए सायद आजसम्म पनि त्यो सति प्रथा अनि कमैया प्रथाजस्ता कुरीतिहरु समाजमा रहिरहने थिए होला।'
आमाको यो कुराले मेरो हिम्मत बढ्यो। मलाई समाजमा हुने अन्यायको विरुद्ध लड्नुपर्छ भन्ने लाग्यो। अनि मैले यस्ता कुराहरुमा अझ धेरै चासो दिन थालेँ। त्यही क्रममा म विद्यालयमा बाल क्लबको अध्यक्ष भएर काम गर्ने मौका पाएँ। समाजमा हुने विभिन्न कुरीतिहरु अनि बालबालिकामा भैरहेको शोषण, बालविवाह सम्बन्धी धेरै तालिमहरु पनि लिने मौका पाएँ। विभिन्न समाजमा गएर त्यहाँका विविध कुराहरुको बारेमा जानकारी लिने मौका पाएँ।
पहिले त मैले आफ्नो गाउँ-समाजलाई, त्यो पनि बाहिरी रूपमा मात्र नियालेर हेरेको थिएँ। तर जब मैले विभिन्न समाजको बारेमा प्रत्यक्ष ज्ञान लिने मौका पाएँ। अर्थात् मैले ती तालिमहरुबाट सारा देशको जानकारी लिने मौका पाएँ। मलाई थाहा भयो कि यहाँ त स्वास्थ्यभन्दा पनि ठूलो समस्या अर्कै रहेछ। स्वास्थ्य समस्या खासगरी कर्णालीको थियो भने मैले पाएको यो समस्या त पूरै देशको नै रहेछ।
अहिलेको यो २१ औँ शताब्दीमा आउँदा पनि मानिस कसैको दबाबको कारण होस् वा अन्य कुनै घरेलु कारण, समाजका ठूलाबडा भनाउँदाका कारण होस् वा समाजमा आफ्नो इज्जत जोगाउने भ्रममा कुनै न कुनै तरिकाबाट पीडित भैइरहेको देखेँ। यस्तो किन? भनेर सोध्दा धेरै मानिसको एउटै जवाफ-
'पछि आएर यही समाजमा बस्नुपर्छ, अहिले लडेर के काम?'
'न्याय मागेर अहिलेसम्म हामी जस्तोले कहिले पाएका छौँ र?'
उनीहरुले नै मलाई प्रश्न गर्छन्।
फेरि भन्छन्, 'ठूलाकै लाग्छ जुन कुरा पनि, नेपालको कानुन दैवले जानून्।'
मैले यो कुरा उहाँहरुको मुखबाट सुन्दा मलाई अचम्म लाग्यो। मैले ८/९ कक्षामा पढेको राज्यका तीन अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यापालिका यी मध्ये निष्पक्ष न्यापालिका अनि यसको मुख्य काम न्याय प्रदान गर्नु भनेर पनि पढेको थिँए। यो कुराले गर्दा मेरो मनमा अनेक प्रश्नहरु आए।
सुरुमा त यो निष्पक्षको अर्थ के रहेछ? के हाम्रो कानुनमा नै यस्तै लेखेको होला? के हाम्रो कानुन बनाउने बेला नै समाजका ठूलाबडाको लागि फरक व्यवस्था गरिएको होला? कि हाम्रो किताबमा प्रिन्ट मिस्टेकको कारण यो निष्पक्ष शब्द आयो होला?
मैले मेरो मनमा आएका यी प्रश्नहरुको उत्तर पाउनको लागि यो क्षेत्रमा आफै जाने बारेमा सोच्दै थिएँ। एकदिन मेरो घर नजिकैको एउटा बाजे आएर मेरो आमालाई भन्नुभयो, 'नानी, पल्लाघरे कान्छाकी छोरीलाई त बलात्कार गरेर जंगलमा मारेछन् नि। विचरा! अब त्यो नानीले पनि के न्याय पाउली र! निर्मला पन्तको जसरी त्यसको पनि केस यत्तिकै हराएर जाने त होला नि। समाजको कुरा समाजमै मिलाउँ भन्ने कुरा गरिरहेका छन्।'
मेरो आमाले पनि त्यसमै जोड्नुभयो, 'नेपालमा हाम्रो लागि त केही अस्तित्व नै छैन, केही कानुन नै छैन। अस्ति भर्खर हाम्रो बुवा बिरामी हुँदा अस्पताल लगेका थियौँ, त्यहाँ एकजना मात्रै डाक्टर रहेछन्, मेरो बुवाको त्यस्तो अवस्था देखेर पनि पहिले नेता ज्युको पालो भनेर सामान्य ज्वरो आको नेतालाई पहिले हेरे। धन्न भगवानको कृपाले गर्दा हाम्रो बुवालाई बचाउन सफल भयौँ र मात्र।'
यी कुराहरुले गर्दा झन् ममा यो क्षेत्रप्रति चासो बढ्यो। मलाई लाग्यो, पहिले कानुनी प्रणालीमा सुधार ल्याएपछि सबै क्षेत्रमा सुधार आउँदो रहेछ। मैले फेरि सोचेँ, यस्तो के रहेछ जुन कुरा सुधार गर्नै सकिँदैन जसको कारणले गर्दा अरु सबै क्षेत्रहरु पनि दुर्गन्धित भैइरहेका छन्?
हाम्रो कानुनी प्रणाली नै यस्तै होकि यस क्षेत्रमा गएका केही खराब मानिसहरुको कारण यो सब भैरहेको छ? यी सब कुराहरु मनमा खेलिरहे। अनि म आफ्नो पहिलेको सोच बदल्न र मेरो आमालाई दिएको त्यो वचन तोड्न बाध्य भएँ।
अनि मेरो त्यो बिरामी मानिसहरुको अप्रेसन गर्ने सपनाबाट यो बिरामी देशको अप्रेसन गर्ने सोचमा परिवर्तन भयो।