जिन्दगीको यात्रामा निक्लँदा निक्लँदै
हातका छालाहरूमा धाँजा फाट्दा पनि
मेरो इमान्दारिताले महल ठड्याउने त परको कुरा
खुट्टाको डोबहहरूमा पसिना भर्दै
मेहनतपछिको थकानको लामो सुस्केराले पनि
हात र मुख जोड्न धौ-धौ परिरहेको छ!
अवसर आकाशमा फलिरहेको छ
टिप्नलाई म लगातार उफ्रिरहेको छु
एक दिन अवश्य त्यो अवसर टिपेर गोजी भर्नेछु
तर आमा
गर्भैदेखि इमान्दारिता पढाएकी छौ
धर्म संस्कार र संस्कृति बुझाएकी छौ
मनैदेखि बुझेको मैले
मेरो इमान्दारिता बिर्सेर
मैले देखेको आकाशको फल
मैले गरेको कर्मको परिणामभन्दा पर गएर
ती सबै नेपालीको सम्पत्तिलाई गिद्धे नजर लगाउँदिन
बरु इज्जत छोप्ने कपडा नहोस्
जसरी पनि तिमीले सिकाएको
इमान्दारिता बोकेर हिँड्ने छु
आमा! मेरो देश तिम्रै अगाडि छर्लङ्ग छ।
के भनौं र! आमा!
गुन्द्रुक र सिन्की सोखमा खाँदा
मिठो र राम्रो लाग्छ
तर बाध्यतामा अमिलो र नुनिलो हुन्छ
हो यही परिवर्तन गर्नु छ मैले
सुशासन ल्याउनु छ
सुशासनको लागि क्रान्ति गर्नुछ
त्यसैले आमा भ्रष्ट्राचारविरुद्ध म बोल्छु।
मन्त्रीहरूको भाषण होइन,
कार्यान्वयन बुझ्नुपर्छ
अब सुशासन प्रवर्द्धन गर्नुपर्छ
असल आचरण आउनुपर्छ
असल आचरण ल्याउनुपर्छ
जनताको एक पेट भर्नलाई
आमा! भ्रष्ट्राचारविरुद्ध म बोल्छु।
राम्रो हाम्रो अन्तरको चेतना छर्न
एक दुई इँटाको खम्बा सिमानामा थप्न
स्वभिमानको निम्ति राष्ट्रिय स्वाधीनताको निम्ति
जनतालाई जगाउनुपर्छ
रगत र पसिनाको मूल्य बुझाउनुपर्छ
त्यो चेतना म छर्ने छु
हो आमा! भ्रष्ट्राचारविरुद्ध म बोल्ने छु।
भित्र मिल्ने कुरा गर्छन्
बाहिर आई विरोध गर्छन्
फोहोरी राजनीति र मुसो बिरालो खेल खेल्छन्
आफू उपचार गर्न,
राज्यको सम्पत्ति दोहन गर्छन्
गरिब जनता उपचार नपाई मर्छन्
अन्यायविरुद्ध म लेख्छु, म लड्छु
हो आमा! भ्रष्टाचारविरुद्ध म बोल्छु।
सितैसितको भिजेको डिलबाट
यो भतभत पोल्ने बालौटे पठारसम्मको
यात्रामा निस्केको गरिबीलाई
सबैलाई समानता दिलाउन
निक्लेको योद्धा हुँ म
बुलन्द आवाज दिन्छु/निकाल्छु
सुशासन ल्याउने सपनाजस्तै
यावत् कुराहरू ठूला हुँदै जाँदा
आचरण परिवर्तनको सपना बोकेर
निस्केको यात्री हुँ म
जसरी भए पनि यात्रा सफल पार्छु
सुशासनको लागि म उठ्छु
हो आमा! भ्रष्ट्राचारविरुद्ध म बोल्छु।
कात्रोमा गोजी हुन्न भन्छन्
तर व्यवहार
कात्रोमा झोला भएजस्तो छ
मर्दा सबै लिएर जाने जस्तो छ
घोकाइएको छ
घुस लिने र दिने दुबै अपराधी हुन्
तर बिडम्बना
दुबै अपराधी फूलको मालासहित
तक्माले सजिन्छन्
अपराधीलाई बहिस्कार, सदाचारी सम्मान
नारा लिएर म हिँड्छु
आमा! भ्रष्ट्राचारविरुद्ध म बोल्छु
देशमा शासन व्यक्तिको होइन हजुर
विधिको हुन सक्नुपर्दछ
आउनुपर्छ कानुन
पीडितले न्याय पाउनैपर्छ
खाना गाँस, बस्ने बासको समस्याले
आँशु झर्दा खेरी
आँशु पुस्ने विपतमा
रुमालहरू होउन्
बरू यति भए पुग्छ
अब हामीले भ्रष्ट्राचारविरुद्ध बोल्नैपर्छ।
भनिन्छ सबै कुरा पाइन्छ
तर आमा पाइन्न
तर आमा!
मेरा दाजुभाइहरूले तिम्रै मोलमोलाई गरिरहेछन्
मेरो सन्तान हो भनेर आमाको ममता नबर्साऊ
ती द्रोही हुन्
तिमीले मुसार्दा–मुसार्दै ममताको भावमा पोखिँदै गर्दा
तिमी बेचिइसकेकी हुनेछौ
त्यसैले त्यस्ता सन्तानलाई संरक्षण नगर
हामी छौ कठघरामा उभ्याउन
ती भ्रष्ट्राचारीहरूलाई, दलालहरूलाई
किनभने
तिमीले पढाएको इमान्दारिताको पाठ
मनैदेखि लिने छोराहरूको पनि कमी छैन यहाँ
भ्रष्ट्राचारविरुद्ध बोल्ने आवाजहरूको कमी छैन यहाँ
भ्रष्ट्राचारविरुद्ध म बोल्छु
बरू म आफैंलाई भुल्छु
तर हरेक इमान्दारिता, सदाचारिताभित्रको म बोल्छु
हो आमा! भ्रष्ट्राचारविरुद्ध म बोल्छु!!!