आजभन्दा करिब पाँच वर्षअघि काभ्रेपलान्चोक जिल्लाको एउटा सानो गाउँमा मलाई हेल्थ असिस्टेन्टको पोस्टमा दुई वर्षको लागि नियुक्ति गरिएको थियो।
पहिलो पटक भएकाले मेरो लागि सबै कुरा नयाँ थियो।
सबै नयाँ भएता पनि रामहरि दाइ भने पुरानै हुनुहुन्थ्यो। उहाँ र म पहिले सँगै शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा काम गर्थ्यौं।
दाइको पुर्खौली घर काभ्रेपलान्चोक भएकाले मलाई स्वास्थ्य चौकी घुमाउने जिम्मा पनि उहाँकै थियो। बस्ने र खाने व्यवस्था भने हेल्थपोस्ट नजिकैको एउटा क्वाटरमा अस्पतालले नै मिलाइदिएको थियो।
पोस्टिङको पहिलो दिन खाना खाइसकेपछि म दाइसँग स्वास्थ्य चौकी भिजिट गर्न निस्किएँ।
स्वास्थ्य चौकी वरिपरि तारबारले घेरिएको थियो। बाहिर भने एउटा सानो जस्ताको खापा भएको ढोकामात्र थियो। त्यो पनि बीचमा भ्वाङ परेको। हामी त्यहीँबाट भित्र छिर्यौँ। पिँढीको एकातिर कुनामा ढलेको डस्टबिन र छरिएका फोहोर र अर्कोतिर छरिएका औषधिका रित्ता पत्ताहरू थिए। वर्षौंदेखि जम्मा भएर बसेका पातपतिङ्गर र झ्याल ढोकामा लागेका कसिंगरले मलाई भूतघरको आवास दिलाइरहेको थियो।
स्वास्थ्य चौकी हेरिसकेर हामी त्यहाँबाट निस्कियौं।
भोलिपल्ट बिहान सबेरै उठेर म बाहिर निस्किएँ। गाउँको दृश्य निकै रमाइलो थियो। कोही पसलमा बसेर चिया पिउँदै थिए, कोही घर लिपपोत गर्दै थिए, कोही गाग्री बोकेर पँधेरातिर लाग्दै थिए। अलि पर एक हुल युवायुवतीहरू गफ गर्दै आइरहेका थिए। नयाँ देखेर होला मलाई एकटक भएर हेर्न थाले।
मैले गएर उनीहरूसँग परिचय गरेँ।
सबैले आफ्नो नाम बताउँदै गए। अस्मिता, रमा, विपना र उजेली। तीमध्ये सबभन्दा राम्री थिई उजेली। ठूला-ठूला आँखा, कालो लामो सलक्क परेको कपाल। मान्छे पनि एकदमै हँसिली र रसिली। गफैगफमा उसले मलाई आफ्नो घरमा खाना खान पनि निम्त्याइहाली।
म उजेलीकोमा गएँ। रिता आन्टीसँग पनि परिचय भयो। उहाँ चाहिँ उजेलीकी आमा। उहाँको असल स्वभाव मलाई खुब मनपर्यो।
खाना खाएर निस्किँदा बाटोमा रामहरि दाइ भेटिनुभयो। उहाँसँग गाउँका अरू चार पाँच जना पनि हुनुहुन्थ्यो। स्वास्थ्य चौकी फेरि सञ्चालन गर्न के कसो गर्नुपर्छ भन्नेबारे छलफल भयो।
सरसफाइ, रङरोगन र अरू कुराहरूको पुनर्निर्माण गर्नुपर्ने भएकाले स्वास्थ्य चौकी फेरि सञ्चालनमा ल्याउन केही हप्ता लाग्ने वडा अध्यक्षज्यूले बताउनुभयो।
‘यताको काम नसकिउन्जेल म तपाईंलाई घुमाइहाल्छु नि’।
छलफलपछि म रामहरि दाइसँग घुम्न निस्किएँ।
उहाँ पनि निकै बाठो मान्छे, हिँड्दै गर्दा बाटोमा उजेलीलाई भेटेपछि घुमाउने जिम्मा उसैलाई सुम्पिदिएर आफू काममा लाग्नुभयो।
उजेली र म गफ गर्दै गयौं।
उजेलीले मलाई नजिकैको चामुन्डा मन्दिर घुमाई।
‘अब हामी सिन्के डाँडा जाऊँ है’?
‘हुन्छ’।
हामी डाँडा उक्लियौं।
त्यहाँबाट देखिने रोमाञ्चक दृश्य हेर्दै, म र उजेली गफ गर्न थाल्यौं। त्यत्तिकैमा उजेलीलाई कसैले बोलायो।
‘असिम!!!’ भनेर चिच्याउँदै उजेलीले उसलाई अङ्गालो हाली।
उसलाई देखेर उजेलीको खुसीको सीमा नै रहेन। उजेलीले मलाई चिनाउँदै भनी, ‘ऊ चाहिँ मेरो एकदम मिल्ने साथी, असिम’।
असिम पनि हाम्रो गफमा सामेल भयो।
भोलिपल्ट पनि उजेली र म दिउँसभरि बसेर ठट्टा मजाक गरिरह्यौं। मैले काठमाडौंबाट ल्याएको बटरस्कच आइसक्रिम उजेलीलाई अफर गरेँ।
दुबै मिलेर आइसक्रिमको मज्जा लियौं।
‘यो फ्लेवर त असिमको पनि फेबरेट हो’।
उसले असिमको नाम लिएको यो पहिलो पटक थिएन। हरेक कुरामा असिमलाई सामेल गर्थी।
‘त्यसो भए बोलाऊ न त असिमलाई पनि’
उसले खल्तीबाट फोन झिकेर थिचिहाली।
केहीबेरपछि असिम आयो। उजेली असिमलाई देख्दा जति खुसी भई, असिम त्यति खुसी भएन। ऊ एकैछिन बसेर निस्किहाल्यो।
एकदिन उजेलीले मेरो लुगा लगाएकी थिई। अफ्सोल्जर र हाफपाइन्ट। त्यो लुगामा ऊ खुब राम्री देखिएकी थिई। कुनै मूभिको नायिका जस्ती।
त्यो दिन गाउँमा मेला लाग्ने खबर सुनेपछि उजेलीले असिमलाई पनि बोलाई। हामीसँगै गयौं। असिमले त्यो दिन उजेलीको खुब तारिफ गरेको थियो।
आज हाफपाइन्ट र टिसर्ट लगाएर असिमलाई उजेली यति राम्री लागेकी हो कि भन्ने कुरा मैले मनन गरेँ।
असिमले आफ्नो र उजेलीको फोटो खिचिदिन मलाई आग्रह गर्यो। मैले उसले भने जसरी नै विभिन्न पोजमा फोटो खिचिदिएँ।
कुनै उठेर, कुनै उजेलीलाई बोकेर, कुनै अंगालो हालेर, कुनै एक अर्कालाई हेरेर त कुनै उजेलीको गालामा चुमेर।
असिमप्रतिको मायाले गर्दा उजेलीले असिमको नजर परक्न नसकेको हो या असिमलाई भर्खरै भेटेको भएर मैले उनीहरूको माया बुझ्न नसकेकी हो, म दुविधामा थिएँ। मेला सकिएपछि, म काम छ भनेर घर फर्किएँ। उजेली र असिम भने चिया खानतिर लागे।
असिमको माया जताउने तरिका र उजेलीलाई हेर्ने नजरिया सम्झिएर मलाई अचम्म लाग्यो। भोलि यस विषयमा उजेलीसँग कुरा गर्छु भन्ने निष्कर्षमा म सुत्ने तर्खर गर्न थालेँ।
बाहिर बिजुली चम्कनु र गड्याङ्गुडुङ्सँगै झमझम पानी परिरहेको थियो। त्यो रात मैले डरै-डरमा बिताएँ।
बिहान चार बजे कसैले ढोका ढकढकाएको आवाज आयो। आवाज सुनेपछि मैले हस्याङ् फस्याङ् गर्दै ढोका खोलेँ।
ढोकामा असिम थियो, निकै आत्तिएको अवस्थामा।
दिदी, ‘उजेली… उजेली……उ……त्या……त्यो…’
‘उजेली, के भयो उजेलीलाई ?’
म असिमको हाउभाउ देखेर निकै डराएँ।
असिमले एक शब्द पनि नबोली मेरो हात तानेर श्वास्थचौकी सम्म लग्यो।
त्यहाँ पुग्दा मानिसहरुको भिँड थियो।
‘के को भिँड हो यहाँ के भैराछ उजेली बिरामी भै’?
मेरो प्रश्नको उत्तरमा असिमले आँसु मात्र बगायो।
मन झनै आत्तियो ।
म असिमको हात छोडेर भिँड छिचोल्दै अगाडी बढेँ।
‘उजेली…’
म उजेलीलाई अङ्गालेर ह्वाँ ह्वाँ रोएँ।
‘उजेली! उठ! उजेली!’
उजेली बोलिन……..
उजेली रगतै रगतमा लट्पट्टिएकी थिई। उसको शरीरको अंग अंगमा घाउ थिए। हिजोसँगै घुम्न गएकी उजेली आज यो अवस्थामा देख्दा, म सम्हालिन सकिनँ।
मैले उजेली उजेली भनेर बारम्बार चिच्याइरहेँ।
रामहरि दाइले मलाई सम्हाल्न खोज्नुभयो। गाउँलेहरूको पनि रूवाबासी सुरू भयो।
केहीबेरपछि, स्वास्थ्य चौकी अगाडि लागेको भिड पछाडिपट्टि सर्यो। सबै पछाडितिर दौडन थाले।
पछाडि रिता आन्टी हुनुहुन्थ्यो, झुन्डिएको अवस्थामा।
म न त केही बोल्न सकी, न त हेर्न। मात्र उजेलीको हात समातेर रोइरहेँ।
‘उजेली…., असिम आएको छ हेर त! तीन जना मिलेर बटरस्कच खानुपर्छ!
उजेली…. उठ न उजेली! प्लिज मेरो लागि उठ!’
केहीबेरपछि घटनाको छानबिन गर्न प्रहरी आइपुगे।
मैले अन्तिम पटक उजेलीलाई अंगालें।
‘असिम! असिम कहाँ गयो’।
गाउँभरिका मानिसहरू देखिए, सिवाय असिम। केहीबेरपछि असिमको साथीहरू आए। मैले उनीहरूलाई असिमको बारे सोध्दा कोठामा एक्लै रुँदै छ भनेर जवाफ दिएका थिए।
पोस्टमार्टमको लागि मृतक शरीर अब्जरभेसनमा राखियो।
केही दिनपछि प्रहरीले उजेलीको बलात्कारपछि हत्या गरिएको हो भन्ने कुरा सार्वजनिक गर्यो। गाउँमा त्रास झन् बढ्यो। सबै आआफ्नो घरमा आग्लो हालेर बस्न थाले।
उजेलीको हत्याको कारण पत्ता लागेता पनि, रिता आन्टीको हत्याको कारण भने अझै पत्ता लागेको थिएन।
घटनाको दस पन्ध्र दिनपछि रिता आन्टीको आत्महत्या भएको खबर प्रहरीले सार्वजनिक गर्यो।
गाउँलेहरू छोरीको हालत देखेर आत्महत्या गरेकी होला भनेर अड्कल लगाउन थाले।
आत्महत्या हो, हत्या होइन भन्ने खबरले गाउँमा डर अलि कम भयो। मानिसहरूको बाटोमा आवतजावत पहिलेको जसरी नै बढ्यो। पसलहरू बिस्तारै खुल्न थाल्यो। आइमाईहरू पहिलेकै जसरी पँधेरामा पानी थाप्न जान थाले। स्वास्थ्य चौकीमा केही सुराक नभेटेपछि स्वास्थ्य चौकीको काम सुरू गर्न प्रहरीले स्वीकृति दियो। स्वास्थ्य चौकी पनि रङरोगन सकिएपछि सञ्चालन हुने भयो।
विस्तारै सबै कुरा सामान्य हुन थालेको थियो तर म भने अझै घटनाबाट बाहिर निस्किन सकेकी थिइनँ।
स्वास्थ्य चौकी देख्नेबित्तिकै रगतमा लतपतिएकी उजेलीको तस्बिर मेरो आँखा अगाडि आइरहन्थ्यो।
घटनापछि पहिलो पटक म स्वास्थ्य चौकी गएँ। मेरो आँखामा उजेलीमात्र आइरही। हाँसिरहेकी उजेली। उज्याली उजेली। आफू जता गए पनि उजेलीसँग बिताएको मिठा पलले मलाई झझल्काइरह्यो।
गाउँमा स्वास्थ्य चौकीको उद्घाटन खुब धुमधामसँग गरियो। स्वास्थ्य सेवा गाउँमा फेरि सुचारू हुने खबरले सबै हर्षित थिए।
म भने उजेली आज भैदिएकी भए कति खुसी हुन्थी होला भन्ने सोचमा डुबिरहें। एक पटक उजेलीले आफूलाई डाक्टर बनेर बिरामीको उपचार गर्ने इच्छा बताएको मैले सम्झिएँ।
उद्घाटन कार्यक्रम सकिएपछि, उजेलीले दिएको यादहरू बटुल्न म सिन्के डाँडा पुगें।
उजेली बिना त्यो डाँडा पनि शून्य थियो। असिमलाई देख्दाको उजेलीको खुसी सम्झिएर म भावुक भएँ।
डुब्न लागेको सूर्य अनि डुबिसकेकी उजेली, मेरो आँखाबाट हट्न सकेन।
मैले निकै सोचें।
उजेलीलाई सम्झिएर टोलाइरहेँ।
‘तिमीले न्याय पाउनैपर्छ उजेली। तिमीलाई न्याय दिलाउन जे गर्नुपरे पनि म गर्छु’।
म त्यहाँबाट सिधै प्रहरी चौकी गएँ।
‘इन्स्पेक्टर, म उजेली र रिता आन्टीको घटनाबारे बयान दिन चाहन्छु’।
भोलि बिहान बयान दिएर आफू काठमाडौं फर्किने निर्णय लिएँ।
‘तिमी र तिम्रो यादहरूलाई भुल्न, म फर्केर जानैपर्छ उजेली।
‘तिमीले न्याय पाउछ्यौ उजेली’।
‘आइ मिस यु’
मैले आँसु थाम्न सकिनँ।
उजेलीको रगतले रंगिएको आफ्नो लुगा सँगै, मैले उसको याद पनि सुटकेसमा प्याक गरेँ।
फेरि एक पटक उजेलीको यादले मलाई सतायो।
म बिहान ठीक आठ बजे पुलिस चौकी पुगें।
‘बयान दिन तयार हुनुहुन्छ?’
आफू सही गर्दैछु कि गलत भन्ने कुराले मलाई अलमल्यायो।
आँखा बन्द गरेर लामो लामो सास फेरेँ। बन्द आँखामा पनि हाँसिरहेकी उजेली थिई।
म तयार छु भन्दै सबै कुरा बिस्तारमा बताउन थालेँ।
साउन १० गते म जागिरबाट सरूवा भएर यहाँ आएको थिएँ।
यहाँ आएर बनाएको पहिलो साथी थिई उजेली। निकै कम समयमा पनि राम्ररी घुलमिल भएका थियौं हामी।
अन्जानहरूको भिडमा आफ्नो दु:ख गुनासो सुनिदिने साथी भएकी थिई उजेली। उसले मलाई दिनदिनै नयाँ ठाउँ घुमाउन लैजान्थी। साउन २० गते, गाउँनजिकै भाल्टार भन्ने ठाउँमा मेला लाग्दो रहेछ।
उजेलीले मलाई त्यहीँ घुम्न लगेकी थिई। हामीसँग उसको साथी असिम पनि गएको थियो।
भन्न त साथी हो भन्थी तर असिम र उसको बीच साथीभन्दा माथिको नाता छ जस्तो मलाई लाग्थ्यो। उसले असिमलाई खुब माया गर्थी।
असिमले उसलाई हेर्ने नजर र उजेलीप्रतिको माया आकर्षण मात्र हो भन्ने कुरा मैले असिमलाई पहिलो पटक भेटेको दिन नै बुझेको थिएँ।
हामी मेलाबाट फर्कियौं। त्यो दिन पनि असिमको चाल मलाई खासै ठीक लागिरहेको थिएन।
मैले उजेलीलाई आफूसँगै घर हिँड्न भनेर धेरै सम्झाएँ तर उजेली असिमको मायामा यति धेरै डुबिसकेकी थिई कि उसले असिमबाहेक केही देखिरहेकी थिइन। ऊ असिमलाई विश्वास गर्थी।
म उनीहरूलाई छोडेर घर फर्किएँ। उजेलीलाई एक्लै छोडेर आउन नहुने थियो कि भन्ने कुराले मलाई निकैबेर सतायो। रातिको आठ बजेको थियो।
मौसम खासै राम्रो थिएन। गड्याङ् गुडुङ सँगै झमझम पानी परिरहेको थियो। मलाई लाग्यो पानी परेकाले उजेली अब घर जान्छे।
म अलि ढुक्क भएँ। लगभग दस बजेतिर, म खाना खाएर ओछ्यानमा पल्टिएँ। निकैबेर कोल्टे फेरिसक्दा पनि निद्रा नआएपछि, म पानी खान उठेँ।
उजेलीको चिन्ताले म निदाउन सकिनँ। उजेलीलाई फोन गर्न भनेर आफ्नो मोबाईल झिकें। मोबाइलमा उजेलीको म्यासेज आइरहेको थियो।
‘म असिमसँग स्वास्थ्य चौकीमा छु। पानी परेर ओत लाग्न बसेको। मेरो फोनमा चार्ज छैन। ममीलाई भनिदिनू है।’
उसको म्यासेज पढेर मेरो डरको सीमा नै रहेन। झमझम परिरहेको पानीमा छाता ओडेर म, स्वास्थ्य चौकीतिर गएँ। स्वास्थ्य चौकीको ढोका भित्रबाट बन्द गरिएको थियो।
म पछाडिको झ्यालबाट केही देखिन्छ कि भनेर हेर्न थालेँ। सबैतिर अन्धकार थियो। पछाडिबाट भित्र मधुरो बत्ती बलेको देखियो।
म त्यहाँबाट चिहाइरहेँ। उजेली प्यासेन्ट बेडमा सुतिरहेकी थिई। मैले बाहिरबाट निकै बेर चिच्याएँ, ‘उजेली ! उजेली!’
तर परिरहेको पानीको आवाज यति चर्को थियो कि उसले मेरो आवाज सुनिन। केहीबेरपछि असिम आयो। मैले उसलाई पनि आवाज दिएँ।
‘असिम! असिम!’। तर उसले पनि सुनेन।
एकैछिनपछि अरू दुई जना पनि आए। उजेली नजिकै गएर बसे। असिमले उजेलीको हातखुट्टा बाँध्न थाल्यो। म एकदमै आत्तिएँ। मैले झ्याल खोल्ने निकै कोसिस गरें।
म अलि वर आएर चिच्याएँ, ‘गुहार! गुहार!’ तर कसैले सुनेन।
म दौडिँदै उजेलीको घर पुगें।
रिता आन्टीको हात तानेर म दौडिँदै स्वास्थ्य चौकी पुगें। उहाँले अगाडिको झ्याल फुटाउने कोसिस गर्नुभयो।
म पछाडिको झ्यालबाट चिहाएँ। उजेली रगताम्मे थिई। हामी पुग्न निकै ढिला भैसकेछ। असिमले बिरामीको उपचार गर्न राखिएको मेडिकल किट लिएर आयो। त्यसबाट चक्कु झिक्यो र उजेलीको छातीमा प्रहार गर्यो। मैले हेर्न सकिनँ।
म बेस्कन चिच्याएँ ‘उजेली………’।
रिता आन्टीभित्र पुगेर असिमको हात समात्नु भयो। म पनि रिता आन्टीको पछि लागेर भित्र जान लागेको थिएँ, त्यत्तिकैमा अरू दुई जना आएर रिता आन्टीको हात समातेर एक मुठ्ठी गोली झिकेर मुखमा हालिदिए।
रिता आन्टी तुरून्तै भुइँमा ढल्नुभयो। त्यसपछि ती दुई मिलेर पछाडि लगेर रिता आन्टीलाई झुन्ड्याएको मैले लुकेर हेरिरहेँ।
उजेली भने बेहोस थिई। असिमले अघि गर्न नसकेको प्रहार गरेर उजेलीलाई मार्यो। म फेरि चिच्याएँ। सायद यसपटक मेरो आवज कसैले सुन्यो। म आफ्नो ज्यान बचाउन झाडीभित्र लुकेँ। त्यसपछि त्यहाँ के भयो मैले केही पनि देखिनँ। लुकीलुकी म आफ्नो क्वाटरसम्म पुगेँ।
मैले चाहेर पनि रिता आन्टी र उजेलीलाई बचाउन सकिनँ।
सायद मैले उजेलीलाई आफूसँगै जबरजस्ती गरेर ल्याएको भए आज ऊ हामीसँगै हुन्थी होला।
सायद उसको म्यासेज मैले समयमै पढेको भए आज यो अवस्था आउँदैन थियो होला।
सायद, म आफ्नै ज्यानको बाजी लगाएर रिता आन्टीलाई बोलाउनतिर नलागेको भए, आज उहाँहरू दुबै जना हुनुहुन्थ्यो होला।
आफूले चाल्न नसकेको कदममा मलाई निकै अफसोस छ।
हत्या आफैंले गरेर पनि सबै भन्दा पहिला हत्या भएको जानकारी मलाई दिन आउने असिम नै थियो।
अपराध गरेर हिजै भागिसक्यो होला भन्ने सोचेको मान्छे, आज अचानक मेरोसामु आउँदा मलाई अचम्म लाग्यो।
कति निर्धक्कसँग हिँडिरहेको थियो। ऊसँग एक एक हिसाब लिने मन थियो मलाई।
उसले गरेको अपराध कसैले पनि देखेको छैन भन्ने कुरामा ऊ ढुक्क थियो। ऊ आत्तिएको नाटक गर्न थाल्यो। रून थाल्यो। अनि मलाई आफूसँगै लग्यो।
बिहान प्रहरीले छानबिन गर्न थालेपछि असिम गायब भयो। सायद ऊ त्यति बेला अलि डरायो।
जसरी भए पनि असिम पक्राउ हुनैपर्छ इन्स्पेक्टर साब। उजेली र रिता आन्टीले न्याय पाउनै पर्छ।
आफ्नो बयान दिएर म काठमाडौं फर्किएँ।
मैले बयान दिएको दुई दिनपछि प्रहरीले असिम र उसको दुई साथीलाई पक्रियो।
समाप्त!