आमाको गर्भमा म निकै शक्तिशाली थिएँ। त्यो बेला ब्राह्मणको भ्रमण गर्न सक्थें। हिजो,आज र भोलिलाई एकै समयमा हेर्न सक्ने ,त्रिकालदर्शी थिएँ। कालभन्दा माथि थिएँ। समस्या पनि थिएँ, वाक्य थिएन , अदृश्य थिएँ ,सबैका कुरा सुन्न सक्थें तर गलत कुरालाई रोक्न सक्दिनँ थिएँ।
भर्खरै म आमाको पेटमा आएको थिएँ। मैले मेरो भविष्य देखें। कहालीलाग्दो हत्या, हत्याको योजना।
म सुन्दै थिएँ, हेर्दै थिएँ - ती योजनाकारहरूलाई।
निकै होशियारपूर्वक, चलाखीपूर्ण योजना बनाउँदै थिए। म त्यत्रो शक्तिशाली भएर पनि तिनीहरूलाई चिन्न सकिनँ, सबैले आफ्नो - आफ्नो अनुहारमा मोसो दलेका थिए। लुगाफाटो चाहिँ निकै सभ्य लगाएका थिए। मानौं, देशका सपूत हुन्।
एउटा अग्लो मान्छे भन्दै थियो - रघुलाई नमारी हुँदै हुँदैन, त्यो ठाउँमा त्यसलाई जीवित नै छोडियो भने हाम्रो अस्तित्व र राजनीति धराशायी हुनेछ।
उचाइमा कोही अग्ला थिए , कोही होचा, तर अनुहार सबैको एकै किसिमको थियो। रंग सबैको कालो थियो। पापको डरले कोही थरथर कामेका थिए। कोही जबर्जस्ती ल्याइएका पनि थिए। कोही निकै कठोर थिए।
म भन्न खोज्दै थिएँ- तिमीहरूको समस्या के हो? रघुले के त्यस्तो अपराध गरे ? समाजको लागि के के नराम्रो काम गरे ? कसको ज्यान लिए ?
कसलाई अन्याय गरे ? उनलाई मृत्युभन्दा अर्को सजाय छैन ? समाधानको अर्को पाटो छैन ? वार्तामा बस्न सकिँदैन ?
म चिच्याउन थालें। कराउन लागें । छलफलबाट समाधान ननिस्कने कुन समस्या होला र ? रूँदै हात जोडेर भन्न लागें - मेरो पितालाई नमार।
‘मलाई गर्भे टुहुरी नबनाऊ।’
म पिताको हात समातेर यो जीवनको सुरूआत गर्न चाहन्छु। पिताको काखमा खेल्न चाहन्छु।
तिमीहरू पनि त कसैका पिता होलाऊ नि ! तिमीहरूको अनुपस्थितिमा तिम्रा लालावालाको के हालत हुन्छ ? तिम्रो घरमा पनि श्रीमती गर्भवती होलिन् ? के तिमी तिम्रा सन्तानहरू टुहुरा भएको हेर्न चाहन्छौ ? कदापि यस्तो मानवताविरोधी कार्य नगर।
कसैले सुनेनन् मेरो आवाज। म याचना गर्दै घुमिरहें यो हत्याको विरोधमा चिच्याइरहें। मेरो आवाज उनीहरूको कानमा पुगेन। म निरीह,फगत उनीहरूको योजना सुनिरहें।
अर्को मोटो अग्लो मान्छे बोल्दै थियो -
मार्नु नै पर्ने मान्छे त होइन! तर यसको उद्दारता ,परोपकारीपन, विकासप्रेमी सोच शिक्षाप्रेमी कामका कारण हामी ओझेलमा पर्नेछौं। सबैले उसैलाई मान्ने छन्। ऊ अगाडि आउने छ अनि हामी सबै पछाडि पर्नेछौं, चारै दिशामा रघुको नाम गुन्जने छ। यसकारण रघुलाई मार्नैपर्छ - न रहेगा बाँस, न बजेगी बाँसुरी!
सबै उन्मुक्त भएर अट्टहाँस गरे।
मलाई यो धर्तीमा मावन भएर जन्म लिन मन नै लागेन। ईश्वरको उत्कृष्ट रचना मानव कसरी यस्तो पापी ,कपटी, छ्ली ,हिंस्रक हुनसकेको। एउटा निर्दोष मान्छेको बाँच्न पाउने अधिकार हनन् गरेर फेरि मानव कल्याणको काम गर्छौं भन्दै हिँड्न, कसरी सकेको। मानव बुद्धिको कत्रो उपयोग गरेको ,खुरापाती कामका लागि। सृजनशीलता मानवको गुण हो तर विनाश उसलाई मन परेको देखेर, मलाई आमाको गर्भमा नै बसिरहन मन लाग्यो।
अझ पनि यिनीहरूलाई रोक्न सक्छु कि भन्दै पछ्याउँदै गएँ- योजनाको नाइके रहेछ क्यारे भन्दै थियो - तिमीहरूलाई मेरो विराट योजना अझ थाहा छैन, मेरो उद्देश्य र लक्ष्य सायद पछि बुझ्नेछौं। रघु त प्रतिनिधि पात्रमात्र हो, रघु एक व्यक्ति होइन एक विचार हो, एक सोच हो, एक परिवर्तन हो।
एउटा आलोकाँचो मान्छेले आफ्नो नाइकेलाई सोध्यो- अनि रघुलाई मार्न कस्तो हतियारको प्रयोग गर्ने त ?
अर्को बलिष्ठ व्यक्ति बर्बरायो - छुरी, लाठी, खुँडा, बन्चरो घरेलु हतियार।
होइन एकैचोटि खुकुरीले च्वाट्ट पारिदिऊँन।
होइन, तड्पाएर मार्नुपर्छ ,ऐया::! ऐया::को गुन्जन मलाई संगीतझैं लाग्छ। अर्को सदस्य करायो।
नाइकेको मुहारमा कुटिल हाँसो स्पष्ट देखें। ऊ भित्रभित्रै आफ्नो समूहका साथीहरूको बुद्धिको अवस्था देखेर हाँस्दै थियो।
आफ्नो भित्री मनसाय कसैले नबुझ्ने देखेर,जुँगा ताऊ लगायो। यसो मैले उसको मनभित्र पस्ने जमर्को गरें।
‘फलामलाई फलामले काट्छ । खोलाको दुई किनारको मेल कदापि हुँदैन। खोला पारिको विचारभन्दा, खोला वारिको विचार हाम्रो लागि अझ घातक छ। वारि र पारिको विचार यदि एक भैदियो भने कसले रोक्न सक्छ यिनीहरूलाई ? भीडको खाँचो पर्दैन, एक – दुई नै काफी हुन्छन्,समाज परिवर्तनको लागि।
‘समाज र राष्ट्रलाई उन्नत बनाऊँला’ भन्ने नारा भजाएर राजनीति गर्ने मेरो योजना सबै बेकार हुनेछ।
यिनीहरूमा समाज रूपान्तरण गर्नसक्ने ल्याकत छ। जनताको विश्वास जित्न सक्ने क्षमता छ। साँचो अर्थमा देशको लागि केही गर्ने छन्। हिरो हुनेछन्। अनि मेरो राजनीति सुरू नहुँदै खतम हुनेछ। त्यसैले एक विचारलाई मार्न अर्को विचारको प्रयोग गर्नैपर्छ।
खेल खेल्नै पर्छ - कसैले थाहा पाउने छैन। यो व्यवस्थाले पनि मलाई सहयोग गर्नेछ। एउटाको हत्यामा अर्कोलाई फसाउने छु। राज्यले ज्यानको बदला ज्यान लिएर छोड्छ।
एउटाको हत्या गर्न सकियो भने अरूको पत्तासाफ आफैं हुन्छ। राजनीति खेल्न आउनु पर्यो,राजनीति त सबैले गर्छन्। रगतको खोलो नसुक्दै। अरू रगत बग्नुपर्छ। मेरो बाटोका अवरोधहरू सबै हटाउनु पर्छ।
सबैको होस् उडेको हुन्छ, डराएका हुन्छ्न्, त्यो बेला म राजनीति गर्नेछु, आफ्नै कार्यकर्ताहरूमाथि पनि, म ! राजनीति गर्नेछु। म पो हुँ त असल राजनीतिज्ञ। चलाखीपूर्वक उम्कने छु। अरूलाई फसाउने छु।
शंकाका सबै ढोका यसरी लगाउँछु कि कसैले भेऊ नै पाउने छैनन्। सम्भावनाका सम्पूर्ण द्वार लगाएर म नौलो सम्भावनाको ढ्वास दिने छु, लाटा जनता स्याल हुइँयामा लागिहाल्ने छन्।
जीवनभर एक अर्कालाई दोष देखाउने छन्, एक अर्काको शत्रु हुनेछन्। जीवनभर कहिले उनीहरूलाई एक हुन दिने छैन।
योजनाको यो रहस्य कहिले पनि उजागर हुने छैन। यो हत्याको इतिहास कसैले खोल्ने छैन’, उसले दर्यो मुठ्ठी कस्यो।
मलाई भाउन्न होलाझैं भयो। त्यो नाइकेको दिमाग देखेर म छक्क परें। भरौटेहरू लहैलहैमा लागेर सुन्दर परिवारलाई तहसनहस पार्न उद्द्त थिए। एकपछि अर्को परिवारको हत्या निश्चित थियो। अभिभावकविहीन परिवारको संख्या बढ्ने मैले देखिसकेको थिएँ। खोलाको दुई किनारमा आउने प्रलय मैले स्पष्ट देखें। केही गरेर पनि रोक्न सकिनँ यो विनाशलाई।
मासु र रक्सीको नशामा डुबेका थिए, नाइकेका कार्यकर्ता। सबैको विवेक निदाएको थियो।
नाइकेको इसारामा हिँडेका थिए,भेंडाबाख्राझैं। भोलिको लागि आजलाई नष्ट पार्ने तयारीमा थिए।
मानव भित्रको त्यो दानवीय रूप देखेर गर्भमै डराएको थिएँ, म। पृथ्वीमा आएपछि मैले कुन गुण अपनाउने दोधारमा थिएँ।
म मानव समाजमा आउँदै छु वा दानव समाजमा छुट्याउन निकै कठिन भैरहेको थियो, हेर्दा सबै मानवझैं देखिन्थे मानवको मुकुण्डो लगाएका ती हत्याराहरू।
त्यो नाइकेलाई गाला फुट्ने गरी हानौंझैं लागेको थियो।
म शक्तिशाली भएर पनि मूकदर्शक भएँ। तर पनि त्यसको विचार हेरिसकें।
म पछिपछि दगुर्दै गएँ। तिहारको दिन थियो।
सबै आफ्नो आफ्नो काममा व्यस्त थिए। सेलरोटीको बास्नाले गाउँ नै मग्मगाएको थियो। देउसी र भैलोको रोनक छाएको थियो। तास र जुवाको दाउ लगाइँदै थियो। म तुरून्तै योजनाकारहरूलाई छोडेर घरतिर उडें। मेरी आमा ! भोलि भाइहरूलाई टीका लगाउन माला गाँस्दै थिइन्।
मैले बिस्तारै बोलें कानमा सुन्नु हुन्छ कि भनेर -आमा ! बुवालाई आज घरबाट हिँड्न नदिनु ल ! आज, बुवालाई मार्ने भनेका छन्,जुवा खेल्न बोलाएका छन्। उनीहरूको दाउ निकै ठूलो छ, सबैले हतियार जुवा खेल्ने ठाउँमा लुकाएर राखेका छन्। सबै मिलेका छन्,आफ्नो आफ्नो स्वार्थको लागि… ।
आमाले पट्कै सुन्नुभएन मलाई।
बुवाले पो सुन्नु हुन्छ कि भनेर कानमै चिच्याएँ।
हरियो चेक सर्ट,कालो पाइट ,चिर्केबिर्के ढाकाको टोपी, ठूलो गोलो घडी हातमा बाँध्दै ,सर्टको गोजीमा चाइनिज कलम घुसार्नुभयो। खल्तीमा पैसा हालेर ल ! म हिँडें भन्दै भर्याङ झर्नु भयो।
म रोएँ, कराएँ, चिच्याएँ , लुडिबुडी गरें। अहँ कसैले चाल पाएनन्। बुवाका गोडा समाएर रोक्न खोजें। परबाट काली कुकुर्नीले हेरिरहेकी थिई। नराम्रोसँग रूँदै कराई उसलाई पनि पूर्वानुमान रहेछ क्यारे, रिठे गोरु पनि कराउन थाल्यो, गोठमा गाईवस्तु दाम्लो जुडाउँझैं गरेर कराउन लागे।
बुवाले ठूलो स्वरले भन्नुभयो - ए ! कान्छा गाईवस्तुलाई भोक लाग्या जस्तो छ, घाँसपानी हाल्दे । काली पनि निकै कराएकी छ भोक लागेर हो कि कतै पीडा भएर हो।
कालीको टाउको सुम्सुम्याउनु भयो।
कालीले आँखाबाट बरररर आँशु खसाली। गाईवस्तु दानापानी छोडेर, बुवाको अनुहार हेर्न खोज्दै थिए। बुवालाई त्यहाँ जानबाट रोक्दै थिए। मलाई गाईवस्तु भएर जन्म लिन मन लाग्यो।
मानवभन्दा कति संवेदनशील ती जनावर। कुकुर कति बफादार मान्छेसँग तुलना नै गर्न नसकिने।
बुवालाई कत्रो विश्वास त्यो समुदायको।
आफ्नै समाज,आफ्नै साथीभाइ कोसँग डराउनु अदम्य साहसका साथ हिँड्नुभयो।
म सूक्ष्म शरीर भएर बुवाको काँधमा बसें। रमाइलो गरेर जुवा खेलिँदै थियो। जितेको जितौरी बाहिर सबैलाई बाँडिदिनुहुन्थ्यो।
सबैका प्यारा कान्छा बाजे। कान्छा बाजेसँग खेल्न पाउँदा सबै खुसी नै थिए। भित्र रमाइलो हुँदैथियो। म यसो बाहिरको माहोल हेर्न निस्किएँ। सबैको मुखबाट बुवाको प्रशंसा मात्र सुनिरहेको थिएँ। उहाँको उदारता ,सेवा ,सहयोग ,समर्पण ,दया, करूणाको बखान सुनेर एकचोटि त्यो हत्याको योजना भ्रम त होइन भन्ने लागिरहेको थियो।
अचानक भित्र बुवामाथि अन्धाधुन्ध भाला, खुकुरी,बन्चरो ,लाठी बर्सिन लाग्यो।
यो धर्तीमा आउनुभन्दा अगाडि नै त्यस्तो हत्या देख्नु पर्दा मलाई मानव कुलमा जन्म लिएकोमा घिन लागिरहेको थियो। कयौं कोसिस गरे सकिनँ, म हारें।
म लज्जित हुँदै बुवाको शरीरबाट बगेको रगत हेरिरहें।
बुवाका हितैसीहरू पनि आफ्नो ज्यान जोगाउन कुलेलाम ठोके। बुवा मर्ने निश्चित भएपछि अर्धचेत अवस्थामा छोडेर सबै भागे। कान्छा दाइ रूँदै कराउँदै घरतिर लागे। म प्रत्यक्षदर्शी भएर बसिरहें बुवालाई अँगालो मारेर।
बुवाका प्रत्येक सास गनेर। आफ्ना आएर हतारहतार अस्पताल लगे तर अहँ उहाँको प्राण वायुले शरीर छोडेर गैसकेको थियो। म नजन्मँदै गर्भे टुहुरी भैसकेको थिएँ।