जिम्मेवारीलाई बिनाकारण बोध गरेर
अन्तर्मनका चाहनाहरूलाई थन्काएर
चाहनाका बन्धनहरूलाई पर्घेलेर, छलेर
कति पटक मन बाँधेर टेको लाएर अडाएर
कति पटक लुकी-लुकी पोखिएर आँखाबाट
भनेर घर र परिवार, सम्झिएर पुर्खा र
आफन्त अनि साथी र भाइहरू
कहरहरूलाई प्रारब्धको लेखा सम्झी
ठोक्किएर दुःखका पहाडहरूसँग
हाँसेर खिस्याउँदै अभावलाई
जेनतेन जसोतसो खियाएर तनलाई
खोजेको खुसी घर र परिवारको,
सानिध्य साथी र सङ्गीको, आशीर्वाद दैव र पितृको।
पाइँदो रहेनछ सायद यो जिन्दगानीमा
खुसी हुने रहेनछन् सायद कोही घर र आफन्तहरू
दिने रहेनछन् सायद आशीर्वाद दैव र पितृले
मिल्दो रहेनछ सायद सानिध्य साथी र भाइको।
जति आफैलाई सस्तो गराए पनि
जति घोटे पनि तनलाई अरुको खुसीका खातिर
जति ठोक्किए पनि दुःखका पहाडसँग
जति सहे पनि स्वजनका अर्घेल्याइ उनका सम्मानका लागि
जति हाजिर भए पनि साथी र संगीको दुःख र खुसीमा
जति सम्झे पनि दैव र पितृलाई
जति राखे पनि घर परिवार र समाजलाई आफूभन्दा माथि
जति टुक्र्याए पनि मनका चाहना र सपनालाई
जति हाँसे पनि दुखका अगाडि मजाक गरेर
नपुग्ने रैछ वरै धार्नी भ्यागुताको
नमिल्नै रैछ शान्ती मनमा
खुसी हुने रहेनछन् घर-परिवार अनि समाज र आफन्तहरू
बिर्सिँदा रहेछन् साथी र सङ्गीले
दिँदो रहेनछन् आशीर्वाद दैव र पितृले।
विरक्तीलाई मात्र साथी बनाएर बाँच्ने जिन्दगी के जिन्दगी
बेकार जिन्दगी वेफ्वाँक जिन्दगी अनि असफल जिन्दगी
कति पोखिनु आँखाबाट, कति निहुरिनु बिना गल्ती स्वजनकै अघि
कति बन्नु टोल र चौतारामा मजाकको पात्र अनि कति बिताउनु रात अनिदाहरू
पिरोल्लेकै छ पृथक अर्घेल्याइ, अपहेलना र वेतुकको मजाकले
सुकरातले हेमलक पिए झैँ घुटुक्क-घुटुक्क जति चिरिए पनि छाती
यति धेरै हुने हो भने त किन पो बाँचु झै लाग्न थालेको छ आजकाल
जसको खुसीका लागि मेहनत गरिएको छ, उही खुसी छैन भने
बिदा हुन मन लाग्न थालेको छ बोकेर मनुष्यको सांसारिक चोलाको सार
सोचेजस्तो केही हुन्न यार!