मुस्कान लुकाएका ओठहरु
जिम्मेवारीले थिचिएका काँध
जहान पाल्ने उत्तरदायित्वले थिचिएका रहरहरु
तीन दशकदेखि
परिवर्तनको प्रतीक्षामा छन्
दसैँमा बढ्ने मूल्य नियन्त्रणले मात्र पनि
खुसी हुने जीवहरु
ठूला सपना देख्न छोडेका छन् अब
वर्षौं देखिको
विमानस्थलमा हुने पट्यारलाग्दो बसाइले
आक्रान्त भएका यात्रुहरु
आश गर्न छोडेका छन् गणतन्त्रसँग
आँगनमा गाडिएका बिजुलीका पोलले
दियालो बाल्नेको खुसी बढाउन सकेको छैन
बेखर्ची भएका खल्तीहरु
धुलाम्मे सडकको धुलो हेर्न विवश छन्
महलमा बल्ने बत्तीले
झुपडीको अँध्यारो गिज्याइरहँदा
लज्जित भएको छ कल्याणको नारा
आयातीत योजना
फुस्रो बौद्धिकता
वर्ष नकटाउने सत्ता
विभाजन भैइरहने मन्त्रालय
रकमी कर्मचारीतन्त्र
बिकाउ मतदाता
व्यवस्थाका सौन्दर्य भइरहँदा
बन्धक भएको छ परिवर्तन।