भोक थियो
शोक थिएन
रोग थिएन
हामीलाई आज
पिपल गाछी जान
कुनै रोक थिएन।
एकदिन अघि नै धेरै खाइसकिन्थ्यो
केबल पिपल गाछी पुग्न बाँकी रहन्थ्यो
एकले अर्कोलाई हेर्दा-हेर्दै दिन काटिन्थ्यो
खानेकुरा काँचैदेखि पाकुन्जेलसम्म खाइन्थ्यो
काँचा पकाएर खाइन्थ्यो
पाकेका चाखेर खाइन्थ्यो।
चामल, आलु, खोर्सानी र नुन
बज्थे गीतहरु,पुराना ती धून
बोकेर पिठ्यूमा बहिनी र भाइ
सकसै थियो लौ दाजु, दिदीलाई।
पकाउँदा-पकाउँदै भान्से डराउने
कतै भाँडा त कतै दाउरा हराउने
लौ भोक लाग्यो भन्दै भुराभुरी कराउने
यसै बहानामा कसैले पिरती फुलाउने।
कसैले ताली बजाउथे
कसैले सिट्ठी लगाउथे
थाल बटुका बजाउँदै
सबैलाई सुनाउथे
आनन्द नै खुसी रहेछ
खुसी नै जीवन रहेछ
जीवन नै भोगाइ रहेछ
भोगाइ नै समय रहेछ
समय नै बलवान रहेछ
त्यो पिपल गाछीको वनभोज
सबैभन्दा मूल्यवान रहेछ।
त्यो डर हराएको दिन थियो
चोरेर सुर्ती खान्थे कसैले
रुख चढेर ढुङ्गा हान्थे कसैले
शीर उच्च राखेर
निःस्वार्थको झगडा खेलिन्थ्यो
ख्याल-ख्यालको
बेहुला-बेहुली बनिन्थ्यो
चोर बनियो
पुलिस बनियो
राजा-रानी बनियो
त्यो पिपल गाछीको वनभोज
एक कहानी हो
समयको सुन्दर बिहानी हो
सबै पात्रहरुलाई सलाम
ती सखीहरुलाई सलाम
त्यो पिपलको बोटलाई सलाम
त्यो वनभोजलाई सलाम।