सन्ध्याले छपक्कै दिन छोप्यो
आरती हुँदैछ पशुपतिमा
कालले उसको जीवन छोप्यो
दाह हुँदैछ बागमतीमा।
कहीँ दूर गयो ऊ आज
उडेर धुवाँ भई
कहीँ पर बग्यो ऊ, अब
बस्दैन कुवा भई।
अब चिन्ता हुँदैन उसको
शम्भुको काखामा छ
देख्छ दुनियाँ सारा आज
जे प्रभुको आँखामा छ।
विलीन हुँदा ऊ अग्निमा
जयकार छ घाटमा
बग्नेछ आफै शान्त भएर
बागमतीकै छाँटमा।
वारि आरतीको रौनक छ
पारि शोकमा विलाप
मृत्यु नै सत्य हो जगतको
अक्षय छ रुद्रको राप।
आज जलनमा पीडा छैन
ध्वनि कर्कश लाग्दैन
शंखघोषमै विलीन हुन्छ
अब कहिल्यै जाग्दैन।
हर दिन धुवाँ यसै उडिरहन्छ
मन्दिरका ती शीरमा
लास हुने र सास हुने भेटिरहन्छन्
बागमतीका दुई तीरमा।
बत्ती र फूलमा उज्यालो कति
ध्वनि भजनका मधुर छन्
मन-मन्दिरको दैलो उघारी हेर
लाग्छ आफैभित्र सुर छन्।
ए मानिस! घर तिम्रो कहाँ हो?
साँच्चै के तिमी जान्दछौ?
शरण आखिर माटोकै त हो
कति ठूलो आफूलाई ठान्दछौ?
सत्यसँग साक्षात्कार जब हुन्छ
प्रश्न हैन उत्तर भेटिन्छ
जसरी वृष्टिपछि आकाशमा
मेघको कालो मेटिन्छ।