आमा!
तिनीहरु फेरि आउन लागेका छन्
फेरि पनि आउने भएका छन् तिनीहरु
यसपालि
म कान ठाडो पारेर बस्नेछु
आँखामा परेका कचेराहरु
निकालेर बस्नेछु
हाम्रा बाजस्तो
म झुक्किनेवाला छैन आमा
हाम्रा बा सोझा भए भनेर
तिम्ले कति धेरै चिमोटेऊ
तर, बा सोझै भएर
यो लामो अनि कष्टकर जीवन काटे
यो कथा
मैले बिर्सेको छैन, आमा!
योपालि तिनीहरुको घटेको उचाइ
म नबिराई नाप्नेछु
योपालि तिनीहरुको मुखुण्डो भित्रको छद्म मुहार
म नजिकबाट झाँक्ने छु
योपालि म तिनको मुखबाट बर्सिने झुट
तिनकै अगाडि न्याक्ने छु
हो आमा, यसपालि
रित्तिएको हाम्रो गाउँको कथा
हरपल याद राख्नेछु
बाकसमा फर्केको
तल्ला घरे दिदीको व्यथा
पलपल बाँच्नेछु
यो गुट-उपगुटको बिल्ला भिरेर हिँडेको झुण्ड
अनि त्यही झुण्डमा मोटाएका तिनीहरुको आडम्बरको तस्बिर
छातीमै टाँस्नेछु
आमा, यसपालि म मेरा बाजस्तो झुक्किने छैन
आफैले थुकेको थुकलाई
आफै चाट्ने तिनीहरुको अधो गति
म सबैलाई बुझाउने छु
हाम्रो खुसीको तिनीहरुले गर्ने गरेको व्यपारको पोस्टर
म जताततै टाँस्नेछु
आफै फोहोर गर्ने अनि
आफ्नै फोहोरमा लुटपुटिनी तिनीहरुको खेलमा
म रंगमगीने छैन अब
यसपालि म बाजस्तै भ्रमित हुने छैन अब
हाम्रा बाले तिनको भाषा बुझेनन् होला
तर मैले तिनीहरुको घिनलाग्दो
आचरणको जोखना गरेको छु
हाम्रा बाको अबुझपनको तिनीहरुले फाइदा उठाए होलान्
तर, मैले तिनीहरुको नाङ्गो नृत्यको प्रदर्शनीमा
पलपल लज्जा बाँचेको छु
त्यसैले आमा
यसपालि म मेरा बाजस्तो झुक्किने छैन
आमा, तिम्रा नाति-नातिनाले फेरि बा र मैलेजस्तै
भाग्यमा दोष लाउन नपरोस्
यो ठूलो आग्रह छ मेरो
त्यसैले म यसपालि तिनीहरुको हर कुरामा
आशंका राख्नेछु
फेरि आउने भएका छन् तिनीहरु
तर, यसपालि
म कान ठाडो पारेर बस्नेछु
आँखामा परेका कचेराहरु
फालेर बस्नेछु
हाम्रा बाजस्तै गरी म
झुक्किनेवाला छैन आमा
किनकि
आगामी सन्ततिले
हामीले जस्तै
भाग्यमा दोष लाउन नपरोस्
भन्ने ठूलो आग्रह छ मेरो।