अँध्यारो गुफाजस्तै
घामको श्राप परेको
उज्यालो हेर्न डराउने
डरका धर्साहरू भित्तामा प्रष्ट देखिने
मेरो एउटा बुढो कोठा छ
जसको एउटा खाइलाग्दो साथी छ।
बिहानै मेरो संसारमा झिसमिस उजयालो हुँदा
बाहिर मध्यान्न हुन्छ
दसैँको पक्कु, तिहारको अनरसा र
माधे संक्रान्तिका चाकु र तरुलहरू
पर भित्ताको डस्टबिनमा निसासिरहेका छन्।
इन्स्टलमेन्टमा चल्ने नेट छ
जसको राउटरको सिङ भाचिएर
आफूलाई अपांग घोषित गर्छ
तर म उसमा ठूलो साहस देख्छु
किनकि उसले विश्राम लिँदै भए पनि
मलाई भिटेनदेखि नारायण गोपाल अनि
बीबीसीदेखि न्युज ट्वान्टीफोरसम्म सुनाउँछ।
पानी टिल्पिल भएको जहाँ भुजाहरू
केही कागजहरू पौडिँदै संघर्ष गरिरहेको एउटा बाटा छ
जो आफूलाई बेसिन भन्न अलि बढी रुचाउँछ
उसले डाबर दन्तमन्जन थुक्नलाई हप्ता प्रतीक्षा गर्नुपर्छ
तर पनि ऊ खुसी छ किनिकि
उसले ब्ल्याक लेवल, रेड लेवल, निगार,
गोल्डेनवक, लोकल आदिको स्वाद
नयाँ पाउना आउँदा वा गुड फ्राइडे हुँदा पाइरहन्छ।
दुई थान भुइँमा तेर्सिएका डस्ना छन् जसले
आफ्नो र तन्नाको मिलन भएको कुरा
सिरानीलाई एकादेशमा भन्दै सुनाउँछन्
सिरक छन् तर नाङ्गा
कतै माथिबाट, कतै तलबाट रुवा जन्माउन ठिक्क परेका।
भित्तामा एउटा मेरा बाको समय देखाउने घडी छ
एकातिर कुम भाचिएको जसले मलाई कहिले बेठिक भन्दैन
ढोकामाथि एउटा लेग्रे चिर्कटो छ
जँहा लेखिएको छ-
भूतलाई हैन भविष्यलाई हेर
जसलाई मैले पहिल्यै पशुपतिमा ब्रह्मनालमा पुर्याएर
दागबत्ती दिएर आएको हु।
एक थान बुख्याचाजस्तै बनेर ह्यांगरमा झुन्डिएका
मेरा कलेजका कपडा छन् जसलाई लगाउन
माकुरालाई जुर्छ, कमल कोठीलाई जुर्छ
तर जुर्दैन मलाई।
मेरो सिरानी छेवैमा एउटा ग्यास चुलो छ
जो हेर्दा आगोभन्दा जेठो छ
तर जेठो हैन पाको हो।
तर
मलाई यही ठिक छ
मलाई थाहा छैन पृथ्वी कस्तो छ
गोलो छ या थेप्चो छ
तर म पृथ्वीजस्तै हुँ
यही कोठा घुमिरहन्छु।
मेरो कोठालाई दियोको उज्यालो हैन
अगरबत्तीको धुवाँ मनपर्छ
त्यही धुवाँले कालो भएको कुकरको पिँध
कहिले माटो अनि कहिले आगो खोज्छ
तर म हत्यारा हैन
मलाई घुनहरूको हत्यारा हुनछैन
त्यसैले सिल्भर फोयलको तातो रापले
परको डस्टबिनका पक्कु, अनरसा, तरुल र चाकु निसासिँदै छन्।