हे मानव! तिमीले चाल पाएनौ
तिमी आफैलाई रोगी बनाएर
कर्म गर्न बिर्सिएर
अरुको प्रगती देखेर
डाह गरेर केमा भुलेका छौ?
दिनानुदिन फुलेका छौ
फुलेको बेलुनजस्तो
तिमीमा भरिएको त्यो अहंकार
एकदिन प्याट्ट फुट्नेछ
अरु कसैलाई एक रति नस्विकारेर
ईर्ष्या, जलन र उन्मादले सुन्निएका तिमी
एकदिन सुक्नेछौ सुकेनास लाए झैँ
त्यो पल
दुनियाँले तिमीलाइ काँध थाप्ने छैन
मात्रै भन्नेछ जय राधे, जय श्री राम!
तिमीले सम्झ्यौ
तिमी जहाँ छौ, तिमीसँग जे-जे छन्
ती तिम्रा मात्रै हुन्
क्षणिक संसार मोहले
बिर्स्यौ तिमीले
तिमी नाङ्गै आएका थियौ
भोलि त्यसैगरी नाङ्गै जानेछौ
मात्रै तिम्रो कर्मको फल खानेछौ
पत्तै पाएनौ तिमीले
आफ्नाका लागि थुपार्ने होडमा
आफू नै बाँच्न बिर्स्यौ
एकदिन थला पर्नेछौ तिमी
त्यो क्षण
तिम्रो व्यवहारले अघाएकाहरू
तिम्रा लागि फलफूल र जुस बोकेर आउने छैनन्
तिम्रा लागि धाउने छैनन्
टाढैबाट
मात्रै भन्नेछन् जय राधे, जय श्री राम!
सारा मनुष्यमा तिम्रै रोग सर्ने ठानेर
मैले मेरो अमूल्य समय
तिम्रा लागि खर्चेको छु
शब्द-शब्दका सन्जिवनी लिएर
कलमका नीबलाई सिरिन्ज बनाएर
हे मनुवा!
अझै पनि
समय छ तिमीले चेत्न
म पनि हरपल प्रयासरत छु
सक्छौ भने अझै पनि सुध्र
जीवनलाई रहरलाग्दो र
अर्थपूर्ण बनाउने
एउटा सुवर्ण अवसर
हामी सबैमा छ
ताकि
भेट्नेहरू सबैले टाढैबाट नभनून्
यो धर्तीको बोझ, यसको के काम?
नर्कमा बास होस् यसको
जय राधे, जय श्री राम!