डियर मनिषा,
तिमीलाई म सम्झाउन चाहन्छु फेरि पनि
भोलि हुने हरेक कुरालाई सोच्न चाहन्छु
तिमी आज जे छौ नि
म तिमीलाई अझै अघि बढेको देख्न चाहन्छु
सारा संसारले तिम्रो नाम गुनगुनाएको सुन्न चाहन्छु
आज तिमी धेरै भावनामा डुब्ने बनेकी छौ
भोलि म त्यही भावनाले तिमी हराएको हेर्न चाहन्नँ
म चाहन्छु तिमी खुसी भएको हेर्ने
दुःख, पीडा जति सहे पनि तिमीले आज
भविष्यमा सधैँ तिम्रो ओठमा मुस्कान हेर्न चाहन्छु।
जिन्दगीको गोरेटोमा बाधा-अड्चन आउँदै गर्छन्
सारा बाधासँग जुधी अघि बढेको देख्न चाहन्छु
तिम्रो इच्छा आकांक्षा ठूला छन्
सबै पूरा गरी असल नारी भएको हेर्ने चाहन्छु
बस्, आमाबुबाको सपनामा सफल छोरी देख्न चाहन्छु।
मनिषा,
अहिले नि सानै छौजस्तो लाग्छ तिमी
तर जिम्मेवारीले सबै कुरा सिकाएको हेर्न चाहन्छु
भोलिको लागि सुन्दर सपना बुन्दै गर्दा
पूरा गरी असल गृहिणी भएको देख्न चाहन्छु
दुई परिवारलाई एक बनाई हाँसेको हेर्न चाहन्छु
अरुलाई रुवाएर आफू हाँसेको देख्न नपरोस्
हाँसीखुसीका साथ सबैसँग अघि बढेको हेर्न चाहन्छु
गलत सोच हैन, सही विचार लिएर
झुटा सपनाहरू छाडी बिपनामा बाचेको हेर्न चाहन्छु
कसैसामु शीर नझुकाई जिन्दगी जिएको हेर्न चाहन्छु।