आँगनको डिलमा
बकैनाको कमजोर हाँगामा
असिना पानीसँग
सिपाहीजस्तै भिड्दै
झोकाका लहरसँग झुल्दै
बचेरो च्यापेर बसेकी चरी
चारोको खोजीमा
खुलेको आकाशतिर हेरेर उड्छे
लाछिएका पातहरू
निचोरिएका मुनाहरू
बचेरोले पत्तै नपाई
फेरि पलाउँछन्
उसैका प्वाँखसँगै
थाहा छैन उसलाई
कति कठोर हुन्छन्
व्याधाका जालहरू
कति निठुर हुन्छन्
शिकारीका फित्कौलीहरू
अनि
पंख हुनु र नहुनुको अर्थ।
अनि यता
त्यसैगरी
दह्रिँदैछन् एकथान पाइलाहरू
अनि त्यसैको पछि लाग्दै
दैलामा ठेस लाग्नुभन्दा पहिल्यै
लड्छन् अन्तै मोतीका दानाहरू
अलि बेरमा
छाडिएका ठेला मकै अनि
चौटा छानेको झोलमा तृप्त हुनेछ
त्यो आत्मा
अनि
झारिदिनेछ ममताका पोषिला धाराहरू
देवताहरू झुकेर
सृष्टि लम्पसार परेर
हेर्नेछ त्यही दृष्य
अनि त्यहाँ
एकैपटक
ब्रह्माण्डभरि छरिएका
हार्नेछन् सम्पूर्ण राहुहरू
थाहा छैन होला तिमीलाई
दैवले पनि हार्नुपर्छ उनीसँग
हो, उनै आमा हुन्
जसले हत्केलामा सन्तानको संसार घुमाएर
हरदम त्यसको मियो सुमसुम्याउछिन्
नपत्याए
हेर ऊ त्यहाँ ती तारा
यी तिनै आमाका आँखा हुन्
जुन कुनै दिन आफ्नै सन्तानका लागि
ब्रह्मनालबाट समेत आशिष दिएर नथाकेर
बिदा मागेर गएपछि पनि
अनेक अनेक स्वरुपमा
चिम्लन नसकेर हेर्न आएका हुँदा हुन्
एकटकले हेर्दै
अझै पनि माग्दै
अरु एकथान खुसीहरू
आफ्ना सन्तानका लागि।