बा, ए बा! मलाई चिन्नु भयो?
म तपाईंकै माइलो छोरो गोज्याङ्ग्रे
अंश लिन आयो भनेर रिसाउनु होला
तर बा म तपाईंसँग अंश माग्न आएको होइन
म त आफ्नै वंश चिन्न आएको हुँ
हो, म आफ्नै बासँग वंशको खोजीमा
नस्ल सुधारका लागि तपाईंसँग भएको
आक्रोशको बीउ परीक्षण र अनुसन्धान गर्न
चिसो मन लिएर हावामा पौडी खेल्दै आएको छु।
बा, तपाईंहरू कति दाजुभाइ जानकारी चाहियो
कोही पूर्व, कोही पश्चिम, कोही उत्तर, कोही दक्षिण
एउटै हजुरबाका सन्तानजस्तो लागेन मलाई
तर पनि म सम्मानका साथ बा भन्दै छु
तपाईंका दाजुभाइहरूलाई।
काण्डै काण्डको इतिहासलाई जन्म दिने
जनकांक्षाभित्र कालो बादल जन्माउने
सामन्तवादको खाजा खाऊँ भन्दै हामीलाई
फकाउँदैछन् हाम्रा बज्र स्वाँठ बाहरू।
घरको मूल खाँबो वा दाइँ गर्दाको मियो
मानेर आदेशको पालना गर्दा पनि सबै बाहरूको
तापक्रमको पारोले सीमा नाघेर म छोरो
मोरोमा परिणत हुन्छु, छोरीहरू मोरीमा परिणत हुन्छन्।
बाहरू मध्ये कुन जेठा बा हुन्, कुन माइला
कुन साइँला, काइँला, ठाइँला, राइँला, अन्तरे,
जन्तरे, लखन्तरे, पानी मन्तर, ठूलो कान्छा, कान्छा
हुन् मैले अझै छुट्याउन सकेको छैन र
हाम्रा बा कुन भाइ हुन्, के नाम हो?
अझै पत्तो पाउन सकेको छैन।
हिँड्ने बाटो फरक-फरक भएका
फरक विचारमा सन्तान पालिरहेका
हाम्रा बा कहिले खुसी हुँदैनन्
सधैँ हिंस्रक सिंह झैँ क्रोधित मुद्रामा
आफ्नै दाजुभाइ उपर झम्टा हाल्छन्।
कोही अरिङ्गाल बन्छन् त कोही जालन्धर
कोही धृतराष्ट्र त, कोही शकुनी, कोही भीम त
कोही दुर्योधन यस्तै-यस्तै उपमाभित्र बसेर
हाम्रा बाहरू कागले झैँ आफ्नो नाम आफैँ
काग-काग भन्दै काढिरहेका छन्।
छोराहरुलाई न उचित शिक्षा दिए
न बिरामी हुँदा राम्रो उपचार गरे
साँझ-बिहान भोकै चिसो भुइँमा आकाशको छानोमुनि
क्या आनन्दले निर्विवाद भएर खाए खा, नखाए घिच भन्दै
उही हिंस्रक स्वभावको सिरकले छोपेर
आफ्नै सन्तानलाई लात्तीले हानेर
हाम्रा बाहरू बाँसुरीको धुनमा मादल घन्काउँदै
विश्वलाई चकित पार्दै नाँचिरहेका छन्।