विकल मास्टर ढुंगामा पत्रिका बिछ्याएर बसेका छन्। पारि पशुपति मन्दिरका ढोका बन्द भए। भजन गाउनेहरू गाउँदै छन्- 'चलत्कुण्डलम् भ्रू सुनेत्रम् विशालम् प्रसन्नाननम् नीलकण्ठम् दयालम् मृगाधीश चर्म्माम्बरम् मुण्डमालम् प्रियम् शङ्करम् सर्व नाथम भजामी।'
तल विकल मास्टरको अनन्य मित्र अजम्मरको मुर्दा जलिरहेछ। अचानक उसलाई महसुस भयो, लास बलिरहेको मात्र छैन, बोलिरहेको पनि छ। लासबाट अभिव्यक्त ती शब्दहरू धुवाँ बनेर अनन्त आकाशमा विलीन हुँदै गरेको सुनिरहेको छ, देखिरहेको छ ऊ। बोल्दै छ मुर्दा, 'जीवनमा सबै इच्छा पूरा भएनन्, कतिपय अधुरा रहे। केही हाँसियो र धेरै रोइयो, किन्तु हाँसो र आँसु नसकिँदै अज्ञात यात्रामा जाँदैछु साथी!'
मुर्दा बोलिरहेछ, ऊ सुनिरहेछ र धुवाँ उडिरहेछ। फेरि पण्डित बाजेले जल्दो चितामाथि भिजेको पराल राखिदिए। चिसो परालले मुर्दाका शब्दहरू अवरुद्ध भए। फेरि काँचो धुवाँ उड्न थाल्यो विभत्स। तथापि मुस्किलले बोल्दै छ ऊ, 'हे जिउँदो मान्छे! मैले भन्न चाहेका तर भन्न नसकेका र गर्न चाहेका तर गर्न नसकेका धेरै कुराहरू खरानी हुँदै गरेको हेर्। तैंले पनि तेरा बन्धन छिनाल्न सक्ने छैनस्, जसरी मैले सकिनँ। तेरो गन्तव्य पनि यही धुवाँ हो। तेरो नियती र अन्तिम सत्य पनि यही चार मुठी खरानी हो। आधा बाल्टी फोहोर पानीले बढारिने अस्तित्व होस् तँ।'
उता रोइरहेछन् छोरीहरू। मुर्दा भन्दैछ, 'म पनि यसैगरी रोएको थिएँ बारम्बार। यिनीहरू पनि मजस्तै आँसु सकिन नपाउँदै मेरै बाटो समात्नेछन्। आज यिनीहरू मलाई पुकारेर रुँदै छन्, परन्तु मलाई कुनै फिक्री छैन। एकदिन यिनीहरूको नाम पुकारेर कोही रुनेछ, तर यिनीहरू पनि निष्ठुर हुनेछन्।'
मुर्दा सानो-सानो हुँदै गयो। धुवाँरुपी शब्दहरू आउन छाडे। लास शान्त र चहकिलो भएर जल्न थाल्यो। फूलजस्ता रातारात आँगाका डल्लाहरू शनै-शनै खरानीमा परिणत हुँदैछन्। अजम्मरको मलामी बनेर आएको जिउँदो हुँदाको साथी चञ्चल हतार गर्दै थियो।
अर्को एकजना अनुभवी मलामीले भनेको सुनियो, 'यो जलेर सकिन अझै डेढ घण्टा लाग्छ चञ्चल। आजै सोल्टीमा भोजको निम्तो, आजै यो अजम्मर मर्नु। जिउन त जानेन जानेन, मर्न पनि जानेन यो अजम्मरे।'
अर्को बुढो मास्टर भन्दै थियो, 'यही हो जीवन र यही हो मरण। यही संसार हो जो अपार छ। को आफ्नो, को बिरानो? जिउँदो रहुन्जेल संसारी नभई व्यवहार चल्दैन। स्वार्थी प्रेमको दुनियाँ, नत्र त चल्दै चल्दैन। सरुवा भएर सिट खाली गरिदिएजस्तै हो मृत्यु। माला पहिरायो, सँच्चा झुटा जेसुकै भएता पनि बिदाइका दुई शब्द बोलेर पठायो, सकियो।
विकल मास्टर अचानक अतीतमा पुग्यो। ४० वर्ष अघिको कुरा हो, ऊ र अजम्मर एउटै स्कुलमा शिक्षक थिए। अजम्मर बडो रमाइलो मान्छे। युवावस्थामा ऊ शारीरिक र मानसिक दुवै सुन्दरतामा विख्यात थियो। नाच्न, गाउन, अभिनय गर्न, बजाउन, पकाउन र फकाउन सबै कुरामा पारङ्गत। ऊ भन्ने गर्थ्यो, मेरो त नामै अजम्मर, म न कहिल्यै बुढो हुनेछु न त मर्नेछु।
त्यही अजम्मर आज गएँ है पनि नभनिकन यो धर्तीबाट टाढा अज्ञात लोकमा गयो। उसको परिहास सुनेर उसै बखत पाको उमेरमा पुगेका वासुदेव गुरु भन्थे, 'अजम्मर बाबुले भनेको ठिक हो। मनुष्यको आत्मा न कहिल्यै मर्छ न त बुढो हुन्छ। मरेर जाने त शरीर मात्र हो, त्यो जहाँबाट आएको हो त्यहीँ गएर मिल्छ।'
विकल जम्मा दुई वर्ष मास्टरी गरेर बसेको थियो त्यहाँ। उसको नाम जस्तै मन पनि सधैँ अशान्त, व्याकुल, भ्रान्त, सन्तप्त र कलाहीन। उसले शिक्षकको पेसा छाडेर निजामतीको नोकरी गरे पनि उसलाई मनपर्ने काम शिक्षण नै हो। भाग्यको प्रवाहमा बग्दै जाँदा उसले धेरै उतार र चढावहरू बेहोरेको छ। परन्तु जीवनले उसलाई शान्तिभन्दा ज्यादा व्याकुलता नै दियो।
उसलाई उसको विश्वास र निष्ठाले धोका दियो। उसले जसलाई माया गर्यो त्यसले उसलाई माया गरेन। मनको व्याकुलताले सधैँ सताइरहेता पनि उसले त्यसलाई सकारात्मक रुपमा लिएको छ। विकल मास्टरलाई थाहा छ, हरेक नकारात्मक घटनाको सकारात्मक पहलु पनि हुन्छ। ऊ मनमनै सोच्दछ, नियतीले उसलाई सजिलो पनि पारिदिएको छ।
कसैबाट हुरुक्क माया नपाएको हुँदा उसले पनि कसैलाई पैंचो तिर्नु परेन। लेनदेनको यस जगतमा केही नपाउनेले केही दिनु पनि परेन। विकलका बा भन्थे, 'धेरै माया पाएको र सम्पत्ति कमाएको मान्छेलाई मर्ने बेलामा गाह्रो हुन्छ।'
विकलका धेरै परिचितहरूलाई ऊ कुनै बेला मास्टर थियो भन्ने थाहा छैन। उसलाई जस-जसले जुन-जुन अवस्थामा चिने, त्यही परिचय कायम गरेका छन्। अझै पनि ऊ कसैका लागि विकल मास्टर, कसैका लागि विकल खरदार र कसैका लागि विकल सर हो। तर उसलाई सबैभन्दा मन पर्ने सम्बोधन मास्टर बाबु हो। अरु सम्बोधन धेरै जनाले गरे, तर मास्टर बाबु भनेर बोलाउने उर्वशी भाउजू मात्र हुन्। वास्तवमा विकलले उर्वशी भाउजूलाई उसै बखतदेखि बिर्सेको हो। तर आज अजम्मरको देहावसानले ४० वर्ष अगाडि तानेर लग्यो।
उर्वशी भाउजू शरीर, सौन्दर्य र सम्पत्तिले भरिपूर्ण थिइन्। विकल मास्टरी गर्न गएको भर्खरको ठिटो। ऊ कतै बस्नुपर्थ्यो, खानुपर्थ्यो। वासुदेव गुरुले विकललाई उर्वशी भाउजूको घरमा बस्ने व्यवस्था मिलाइदिए। हुन त त्यहाँ घरपति दाइ पनि थिए। दाइकै नाताले उसले भाउजूलाई भाउजू भन्ने सम्बोधन गर्न पाएको हो।
पहिलो दिन दाइले नै 'उनी उर्वशी, मेरी आइमाई, तपाईंकी भाउजू' भनेर परिचय गराएका थिए। सानी छोरी काखमा लिएर उभिएकी भाउजूले गुलाबी ब्लाउज र नीलो सारी पहिरेको उसले अझै बिर्सेको छैन। अगाडि आएको कपाल पछाडि पन्छाउँदै भाउजू भुइँतिर हेरेर हाँसेकी थिइन्।
हुन त विकलले पकाउने, खाने भाँडा र स्टोभ ल्याएकै थियो, किन्तु दाइ पनि दिलदार थिए। पहिलो दिन, साँझ परिसकेको थियो। दाइले 'यस्तो स्वादे मास्टर आफ्नै गाउँमा आएपछि को खुसी हुँदैन, को सेवा गर्दैन?' भन्दै बिछ्यौना मिलाइदिएका थिए।
'आज पहिलो दिन कहाँ स्टोभ बाल्नुहुन्छ, आज हाम्रै भान्सामा रुखो सुखो जे पाक्छ खानुहोस्,' खानाको सिलसिलामा उनले उर्वशी भाउजूलाई सम्बोधन गर्दै भनेका थिए, 'माड्सापलाई केही दिन यतै खाना खुवाउनु पर्ला।'
खाना खाएपछि दाइ लुगा फेरेर केही पनि नभनिकन निस्के।
विकलले रहँदा बस्दा भाउजूको घरका परिवार र चालचलनबारे थाहा पाउँदै गयो। दाइका बुढा बाबु साँझ-बिहान भात खान भान्सामा जान्थे र अरु समय आँगनमा बिछ्याइएको खाटमा सुतेर छोराको निन्दा गरिरहन्थे। दाइ प्रत्येक दिन साँझ कहिले खाना खाएर र कहिले दिउँसोदेखि नै गायब हुन्थे।
त्यही कारण रहेछ बुढा बाबु कराउने, 'घरमा सुन्दरी र तरुनी स्वास्नी हुँदाहुँदै बाहिर-बाहिर डुल्ने कुलङ्गार! यसको कहिल्यै भलो हुने छैन। यो चरित्रहीन पातरनीको पोइ कीरा परेर मर्छ।'
भाउजूको घरसँगै भित्ता जोडिएको अर्को घर थियो। अर्को घरको घरपति हिन्दुस्तानी फौजमा लाहुरे थियो। लाहुरेको सात वर्षको छोरो र पाँच वर्षकी छोरी छ।
एकदिन उर्वशी भाउजूले सोधिन्, 'मास्टर बाबु! मायालाई अङ्ग्रेजीमा के भन्छन्?'
विकल- लभ भन्छन् भाउजू।
भाउजू- लाउरेनी रम्भाले भनेको नि बाबु, मैले तपाईंलाई मास्टर बाबु भनेको राम्रो सुनिएन रे।
विकल- म त राम्रो सुन्छु भाउजू। हजुरलाई असहज लाग्छ भने मास्टर मात्र भने पनि हुन्छ। अथवा बाबु या भाइ भने पनि हुन्छ।
भाउजू- भाइ त मेरा चार जना छन् मास्टर बाबु। अनि माई भनेको के नि?
विकल- माई भनेको मेरो।
भाउजू (हाँस्दै)- धत्तेरी! यो लाउरेनीको अरु सप्पै कुरा राम्रो छ, तर जिस्क्याउने बानी साह्रै खराब। मलाई त्यसले के सिकाई, थाहा छ मास्टर बाबु? मैले हजुरलाई माई लभ भनेर बोलाउने रे। त्यसको लोग्नेले देहरादुनमा अर्की स्वास्नी राखेर बसेको हुनाले मात्र दया लागेको हो, नत्र त अगुल्टाले झोसेर लघार्नेजस्तो बानी छ।
एकदिन साँझ विकल भात खान मात्र के बसेको थियो, उताबाट लाहुरेनी रम्भाको आवाज आयो, 'मास्टरजी रक्सी खानुहुन्छ? आजै पारेको हो, ताजा।'
विकलले साथीहरूको करबलमा दुई/चार पल्ट थोरै पिएको थियो। उसले यसो आवाज आएतर्फ हेर्यो। लाहुरेनी भाउजूले भित्तोमा प्वाल पारेर दुई घरलाई एक बनाएकी रहिछन्। उसले भनेको थियो, 'आज त खान्न, तर कुनै दिन खानुपर्ला।'
भाउजूले भनिन्, 'ल ल ठिक छ, रक्सी पुरानो राम्रो, मान्छे नयाँ राम्रो भन्छन्।'
दाइका बाबु बिहान आठै बजे भात खान्थे र खाटमा पल्टेर फतफताउन थाल्थे। उनलाई साँझको खाना घाम छँदै खुवाउनु पर्थ्यो। एकदिन साँझको खानाको समयमा भाउजूले भनेकी थिइन्, 'यो लाउरेनी र म भाग्यले ठगेका आइमाई हौं मास्टर बाबु। लाउरेनीको जिन्दगी उसकी आफ्नै बैनीले बर्बाद पारी। के कमी छ र यो रम्भामा? तर छोरी जन्मेको बेलामा सुत्केरी दिदी स्याहार्न आएकी बहिनीले उल्टै लोग्ने खोसी। अहिले देहरादुनमा गएर भिनाजु सोमरेर बसेकी छ।
यी मेरा लोग्ने यही नानी जन्मेको समयमा अर्कीसँग पल्केर गएका, गएको गयै भए। यहाँ म उनैको बाउ स्याहारेर बसेकी छु। अब मैले के गर्ने मास्टर बाबु? म कहाँ गएर कोसँग रुने? मेरो मनको बेथा कसले सुन्ने र कसले बुझ्ने? म राम्री भएर नबसेको हुनाले लोग्नेले वास्ता नगरेको पो हो कि भनेर श्रृंगार पनि गर्न थालेँ। कपालमा मेहेन्दी लगाएँ, आँखामा गाजल, ओठमा लाली, गालामा क्रिम र नङमा पालिस लगाएँ। मेरो श्रृङ्गार दुनियाँले देख्यो र नक्कली भन्न थाल्यो, तर मेरो लोग्नेले देखेन।'
एकदिन भाउजूले सोधिन्, 'मास्टर बाबु, म कस्तो देखिन्छु?' विकलले भाउजूलाई ध्यान दिएर हेर्यो। भाउजूको गालामा सुन्दर र स्निग्ध लालिमा थियो। कालोमा हलुका रातो मेहन्दी लगाएको कपाल, पुष्ट र भरिला पाखुरा, लामो र सुरिलो घाँटी, अग्लो शरीर र कोकिलकण्ठ वाणी। उसले भनेको थियो, 'दाइलाई कुनै अप्ठ्यारो परेर हो कि, कुनै परिबन्दले पो हो कि। भाउजूले खुलस्त कुरा गर्नुपर्यो।'
तर भाउजू गर्नुपर्ने हरेक प्रयास गरेर थाकेकी रहिछन्। भाउजूले भनिन्, 'यी मर्ने बेला भएका सोझा ससुराले मेरो इज्जतको लागि भए पनि चुप लागेर बसिदेऊ है बुहारी। सके यो कुलङ्गारको बुद्धि आउला, त्यो नभए तिम्रो र मेरो सरापले कीरा परेर मर्ला' भनेर फकाइरहन्छन्।'
शुक्रबारको दिन थियो। उर्वशी भाउजूले 'मास्टर बाबु, मास्टर बाबु' भनेर बोलाइन्।
विकल भित्र पस्यो। आज भान्सामा दुई वटा स-साना काठका कुर्सी आमने सामने गरेर राखिएको थियो। बीचमा नानी सुताउने सानो खाटको एक छेउमा लालटिन बलिरहेको थियो। भाउजूले नानीलाई भित्र तिरको सानो कोठामा सुताइन्। भाउजू आएर कुर्सीमा बस्दै लालटिनको बत्ती ठूलो पारिन्। लालटिनको प्रकाशमा भाउजूको एउटा गालो उज्यालो र अर्को अँध्यारोतर्फ थियो।
आज भाउजूमा मुस्कानभन्दा आक्रोशको मात्रा ज्यादा थियो। भाउजू बोल्न थालिन्, 'मास्टर बाबु! मलाई सतीदेवी हुने इच्छा थियो, तर मेरो लोग्ने महादेव हुन सकेन। के आइमाई मात्र सत्यमा बस्नुपर्ने हो? मेरो लोग्नेले यही छोरी जन्माउने बाहेक केही गरेन। बाहिर स्वास्नी राख्ने मेरो लोग्नेलाई यो समाजले मर्द भन्छ। आँखामा गाजल लाएर र कपाल कोरेर घरमै बस्ने मलाई यही समाजले नक्कली भन्छ।'
यत्तिकैमा उताबाट लाहुरेनी रम्भाले भित्ताको प्वालबाट दुई वटा सिसाको गिलासमा रक्सी र एउटा प्लेटमा कुखुराको मासु छिराइदिइन्। उर्वशी भाउजू फेरि नरम भएर आफ्नै रुपमा फर्किन्। उनी मन्द-मन्द मुस्कुराइरहेकी थिइन्। भाउजूले भनिन्, 'मास्टर बाबु, आज त खानुपर्छ। आज म पनि खान्छु। म रक्सी र कुखुराको मासु दुवै खान्छु। आज म बेहोस हुन चाहन्छु, मदहोस।'
विकलको मन भयानक रुपमा उद्वेलित भइरहेको छ। छातीमा तूफान छ, तर मुखमा शब्द छैन। भाउजूले एक गिलास रक्सी एक सासमा निलिन्। उनका गाला राता भए। भाउजूमा सौन्दर्यपूर्ण मादकता छायो, आँखा अर्धमुदित भए। जसरी सुरक्षित छु भनेर ढुक्क भएका नारीहरू निर्भयतापूर्वक व्यवहार गर्दछन्, त्यस्तै आनन्दित देखिइन् भाउजू।
भाउजू बडो गहकिलो तरिकाले उठेर गइन् र रम्भाले राखिदिएका थप दुई गिलास उठाएर ल्याइन्। एक घुड्की निलेर भाउजूले भनिन्, 'यस्तो उन्मत्त बनाउँदोरहेछ त अनि मानिसहरू पिउँदा रहेछन्।'
कुर्सीमा बसेर उनले विकलतर्फ हेर्दै नहेरिकन भनिन्, 'चिसो मान्छे! कति इमान्दार हुनु परेको? तपाईंको छातीभित्र हृदय त छ? कस्तो मानिस हो तपाईं? स्कुलमा त निकै रसिक हुनुहुन्छ भनेर प्रशंसा गर्छन्।'
उनले विस्तारै शीर उठाएर विकलतर्फ हेरिन्। विकल रातोपीरो भएको थियो। मधुरसको मादकताले प्रमुदित भएको विकललाई नियाल्दै उर्वशी उठिन्। उनले 'ए रम्भा! अब केही चाहिन्न है तिमी सुते हुन्छ' भन्दै सानो पर्दाले भित्ते प्वाल बन्द गरिन्।
भाउजू कुर्सीमा बसिन्। उनले भनिन्, 'लोग्ने मन्छेलाई त के छ र? न खतरा मोल्नुपर्ने न कसैको लतरा बन्नुपर्ने।'
भाउजू फेरि उठिन् र ढोकातर्फ जाँदै भनिन्, 'ए ढोका त खुलै पो रहेछ।' उनले ढोकाको एउटा खापा घचेटेर अर्को खापामा हात मात्र के लगेकी थिइन्, बाहिरबाट उनकै जेठाजु अवकाशप्राप्त सुब्बा विघ्नदत्तको आवाज आयो, 'मास्टरसाप कता हो? आज त शुक्रबार, आज रातभरि रमी खेल्नुपर्छ।'
'नमस्कार मास्टरबाबु!' कसैले काँधमा हात राखेर घचघच्याएपछि ऊ झसङ्ग भयो। उसले पारि अजम्मरको जलिरहेको चितातर्फ हेर्यो। अजम्मरको खरानी पखाल्ने बेला भइसकेछ। विकलले शोकमग्न आँखाले मास्टर बाबु भनेर आएको सम्बोधनतर्फ हेर्यो।
'राधे राधे मास्टरबाबु! म उर्वशी भाउजू।' उसले ध्यान दिएर हेर्यो। ओज र तेजले घनिभूत वयोवृद्ध महिला उसको सामुन्नेमै उभिएर दुवै काँधमा हात राखिरहेकी थिइन्। ऊ जुरुक्क उठ्यो, 'नमस्कार! राधे राधे।'
विकलले ठम्याउने कोसिस गर्दै हेरिरह्यो ती भव्य महिलालाई। निधारको बीचको कालो गाजलु कोठी फिक्का रातोमा परिणत भएछ। भाउजूले विकलको हात जोडले समातेर भनिन्, 'आज यो बहत्तर वर्षको उमेरमा तिम्रो हात समाउन कुनै लाज मान्नुपर्ने अवस्था छैन मास्टर। तथापि तिम्रो हात अझै पनि उस्तै चिसो छ। मेरो पहिलो प्रेम मेरो पतिसँग भएको थियो, जो जम्मा तीन वर्ष मात्र टिक्यो। मेरो दोस्रो र अन्तिम प्रेम तिमी हौ, जो अहिलेसम्म कायम छ। धेरै मानिसहरू एक्लो र परित्यक्त जीवन देखेर मेरो नजिक हुने अभिलाषा लिएर आए, तर उनीहरू गर्माएर आउँथे। मलाई तिमीजस्तै शीतल, इमान्दार र निर्दोष मानिसको चाहना थियो।'
भाउजूले एउटा हिन्दी गीत बजाइन् मोबाइलमा, 'ए रो रो के कहता है टूटा हुवा दिल, नही हुँ मै तेरी मुहब्बत के काबिल।'
भाउजू भन्दै गइन्, म त्यसबेला मेरो लोग्नेसँग बदला लिने फिराकमा थिएँ। मेरो इरादा थियो कि म तिम्रो शिशु उसको नामबाट जन्माऊँ। त्यसो भएको भए के हुन्थ्यो? सायद त्यो भयानक गल्ती हुन्थ्यो। परन्तु त्यसको अर्को पाटो पनि छ। सायद त्यो शिशु बुद्ध, गान्धी, तोल्स्तोय, केनेडी या म्याडम क्युरीजस्तै महान मानव पनि हुन सक्थ्यो। यहाँ एक सेकेण्डले जीवनको निर्णय गर्दछ।
उसले भाउजूलाई अविचल हेरिरह्यो। आज भाउजूमा त्यो लज्जा र भङ्गिमा थिएन। ४० वर्षअघिका शीत परेको स्याउजस्ता गाला किन्चित फुस्रा भएछन्। उसले भाउजूलाई यसरी नियालिरह्यो, मानौं ऊ उनको शरीरका विलुप्त वैभवको खोजी गरिरहेछ। तथापि भाउजूमा अझै पनि आभा र आकर्षण छ। अझै पनि भाउजूमा मादक चेष्टा बाँकी छ। भाउजूले विकललाई आँखा तर्दै भनेकी थिइन, 'के हेरेको त्यसरी? चिसो मान्छे।'
भाउजूले एकजना अर्धबैंसे महिलातर्फ देखाउँदै भनिन्, 'यो मेरी छोरी तिलोत्तमा। तिमी मास्टर भएर बस्दा दुई वर्षकी थिई, अहिले ४२ पुगी। यसका दुई वटा छोरा छन्। यो पनि मजस्तै एकल नारी हो। मलाई मेरो लोग्नेले परित्याग गरेको थियो, यसले आफ्नो लोग्नेलाई परित्याग गरेर बसेकी छ।
हेर मास्टर! यो जीवन एक संयोग रहेछ, एक नाटक। यहाँ कसैलाई दोष दिनुको कुनै प्रयोजन छैन। कसैलाई कसैको चाहना भएन त भएन। मलाई तिमीसँग यसरी भेट होला भन्ने आशा थिएन। हामी आमाछोरी अहिले टोरण्टोमा बस्छौं, क्यानडा। अहिले नेपाल घुम्न आएको समयमा अजम्मर मास्टर मरे रे भन्ने सुनेर पार्थिव शरीर भए पनि देख्नुपर्यो भनेर आएको त तिमीसँग भेट हुन जुरेको रहेछ।'
'म अहिले हरिको भक्त भएकी छु। मेरो हृदयमा हरिको बास छ, तर श्रीहरिले एउटा सानो कुनो तिम्रो लागि छाडिदिएका छन्। अब धेरै निराशावादी र व्याकुल भएर बस्नु हुँदैन है मास्टर। कसैले धेरै माया गर्यो भनेर मक्ख नपर, विछोड हुन गाह्रो हुन्छ। कसैले माया गरेन भनेर चिन्ता नगर, विछोड हुँदा सजिलो हुन्छ। तिमी यहाँ यसरी बसेर मृत्यु चिन्ने प्रयत्न गरे जस्तो लाग्यो मलाई। जीवन नै नचिनी कसरी चिन्न सकिन्छ मृत्यु? ल त मास्टर म अब जान्छु। मेरो भोलिको टिकट छ।'
विकलले जिन्दगीभरि सोचिरह्यो कि उसलाई माया गर्ने यो जगतमा कोही छैन। कत्रो भूलमा थियो ऊ। सबै मायाहरू मझेरीभरि पोख्न लायकका नहुँदा रहेछन् भन्ने कुरा जानेर ऊ किन्चित सन्तुष्ट भयो आज। ऊ 'भाउजू-भाउजू' भन्दै उनी गएको बाटोतिर दौड्यो। तर भाउजू गइसकेकी थिइन्।