चौतारोमा एक हुल मानिसबीच
मुखिया बा
एउटा थोत्रो कागज झिक्दै
श्वास-प्रश्वास नरोकी
हतारोमा नाम लिँदै गए
'दलाल' 'व्यापारी' 'नेता' 'म'
सबैको नाम पढियो।
गड्-गड् त्यो आवाज
बादलको थिएन
सबैले ताली पिटे
कोही चमेनादेखि सन्तुष्ट भए
कोही ती असन्तुष्टदेखि रुष्ट भए
जिन्दावाद भनेको मात्र सुनियो।
एक्कासी बत्ती बल्यो
मुखिया बाले
लामो सुस्केरा हाल्दै
त्यो कागज एक टकले पोको पारे
अनि
पहिले आएको बाटोतर्फ लम्किए
हुल त्यतै पछि लाग्यो।
चौतारोको रूखमा एक जोडी चरा आए
चुच्चोमा केही खानेकुरा देखिएन
बचेराहरू आज पनि भोकै हुने भए
त्यतिञ्जेल त्यो हुल विलीन भइसकेको थियो।